उल्टो कविता
कसरी नलेखौँ
इमानदारीको कन्तुरमा बेइमानीको सामल
भरी पठाउने धोकेबाज समयको गतिह्रास
सोझोपनको खुड्किलामा पाउ राखेर
शिर अमेठ्ने आफ्नाहरूको आरिस
कसरी नलेखौँ
चिवर ओढेर चौतारोमा चक्कु चलाउने
तपस्वीविरुद्ध समाचार
निचोरेर आफ्नै छोरीको कलिलो स्तनको निप्पल
धर्मको पाउमा चढाउने
आफ्नै बाबुको कर्तुत
कसरी नलेखौँ
बासनाको लालचमा
पतित देशको राजनेताको
शक्तिको उल्टो घडी
तरुनीको काँधमा हात राखेर
कुल्चिदै देशको नक्सा
सोमरसको गिलासमा
आफ्नै अनुहार खोज्ने युवाको बयान
लेख्दालेख्दै
कसरी नलेखौँ
नदी किनारामा वर्षौँदेखि
आफ्नै जिन्दगी चाल्दै बस्ने
मजदुरको चाल्ना जस्तो जिन्दगीको लय
हातमा हथौडा लिएर हरेक दिन
जिन्दगी कुटी बस्ने मजदुरको
हातमै उठेका फोका जस्तो आयु
हातमा प्लास्टिक
प्लास्टिकमा सुलेसन राखेर
जिन्दगी चुस्ने सडक बालकको
हावाको इसारामा
घरी यता घरी उता उड्ने
फालिएको पोलिथिन जस्तो जिन्दगी
लेख्दै गर्दा
आफ्नै जिन्दगीका लाम्टा चुसाएर
मेरा जिन्दगीका लामा बाटाहरु हिँडाइदिने
आमाको प्रेम कथा
र आफ्नै शरीर भुत्याएर
मेरो जिन्दगी धारिलो बनाइदिने
बुवाको समर्पणको कथा
कसरी नलेखौँ
तर
कुन भूगोलको
कुन कुनामा
अड्किएको छ कुन्नि
शताब्दीको इमानदार पात्र ?