घेरा

घेरा

पारि सडकमा गाडी बत्तिरहँदा वारि म तारजाली घेराभित्र छु। सडक र तारजालीबीच सानो तलाउ छ। लाम्चो तलाउको किनारछेउ गेटसम्म गस्ती गर्नु मेरो ‘ड्युटी’ हो। गेट खोल्ने साँचो हुनु, अरूलाई आउन–जान सहज पार्नु। तर म आफैं बाहिर जान पाउँदिनँ। साथमा साँचो हुने सबै मालिक नहुँदा रहेछन्। साँचो हुने आदेशपालकहरूको घेरा साँघुरो हुन्छ। घेराभित्र हुनु सुरक्षित रहनु हो। तर म नियन्त्रणमा छु। नियन्त्रणमा हुनु, असुरक्षित महसुस भइरहनु।

अस्तिसम्म यहाँका ताल जमेका थिए। सडक या पैदल बाटोछेउ हिउँका थुप्रा मूर्ति बनिरहन्थे। दिउँसो घाममा पग्लिएको हिउँ बेलुका मैनजस्तो लटक्क जम्थ्यो। यो तालको सतह पनि यसरी नै जमेको थियो। त्यति बेला यी पौडिने हाँसले कसरी धीत मारे होलान् ? क्वाँक्–क्वाँक् कराएको सुन्दा त्यहीँ छन् भन्ने प्रमाण जुट्थ्यो। तिनलाई हेर्न गेट नाघ्नुपर्छ, जुन अनुमति मलाई छैन।अनुमति नहुनु, डर हुनु।

उता पनि, यता पनि, गेटको ढाडैमा टाँसिएको छ, अनुमतिबिना नछिर्नू। वस्तु तथा सेवाको विज्ञापन नगर्नू। साइकल स्टन्ट, स्केटजस्ता साहसिक खेलहरू नखेल्नू। सधैं उही सूचना कति पढ्नु ?        गेटसँग जोडिएको बाटो परपरसम्म पसारिएको छ। जतिखेरै खाली देखिने यो सडक र हाम्रो खोरिया बारी उस्तै लाग्छ। जो बाँझिएको केही वर्ष मात्र भयो।

साँझको क्षितिज हेरिराख्नै पर्दैन। रङहरूले आँखालाई ‘म यहाँ छु’ भन्दै बोलाउँछन्। आकाश चिरेर धर्तीमा पोखिने दुई खाले रङ बेजोड लाग्छ। एउटा बिहानको, अर्को साँझको। बिहानको रङले मान्छेलाई यात्रामा डोहोर्‍याउँछ। काममा लाग् भन्छ। मन नभुला भन्छ। अगाडि जाने बाटो मात्र देखाउँछ। सास फेराइ लामालामा हुन्छन्।

गेट खोल्ने साँचो हुनु, अरूलाई आउन–जान सहज पार्नु। तर म आफैं बाहिर जान पाउँदिनँ। साथमा साँचो हुने सबै मालिक नहुँदा रहेछन्।

साँझको लालीले मान्छेलाई अत्यास जगाउन पनि सक्छ। आफू हिँडेको बाटो हेर्न मुन्टो बटारिदिन्छ। बाटो छिचोलेको खुसीभन्दा यात्रामा छुटेका चिजबिजहरूको माया जगाइदिन्छ। यो कस्तो माया, कस्तो मोह।

यस्तो बेला म सानो बेला मामाघर गएको सम्झन्छु।

जति बेला ममीले मलाई एक्लै छाडेर घर फर्कनुभएको थियो। मामाघरमा चाँडै घाम आइपुग्थ्यो, चाँडै अस्ताउँथ्यो। घर ठ्याक्कै उल्टो।

यहाँ पहाड नभएको होइन। पहाड के, थुम्का भनौं न। खैर जे होस्, नजिकैको पहाडमा घाम अस्ताउँदैन। समथर जमिन र आकाशका हत्केलामुनि सूर्य लुकेर अस्ताएको खबर दिन्छ। यस्तो बेला मामाघरमा रहँदा र यहाँको अत्यास उस्तै लाग्छ।

‘ममी घर आइपुग्नुभयो होला ? ’ मामाघर छँदा सोच्थेँ, ‘आज बाख्रा घर आइपुगे होलान् ?        बाख्रा खोज्न ममी एक्लै जानुभयो ? ’

घर छँदा बाख्रा चराउने म हुन्थेँ। पारि पाखामा बाख्रा चराइरहँदा ममी बोल्नुहुन्थेन। ममीको स्वरमा लट्ठिएका ती बाख्रा नचरी घर फर्कन्थे। बेला भएपछि ममी बोलाउनुहुन्थ्यो, बाख्राहरू आफैं घर लाग्थे। म त गोठालोको नाम मात्र।

निशाना ताक्दै कमिला, अरिंगालको गोलोमा ढुंगा हानिरहँदा बाख्रा हराइदिन्थे। अथवा यसरी भनौं, बाख्राका नजरमा म पो हराइदिन्थेँ। अँध्यारोमा बाबियो बालेर खोज्दा ती त्यस्तो ठाउँमा भेटिन्थे, जहाँ ममीको स्वर पुग्दैनथ्यो।

‘ममी तपाईं अझै गोठालोमै हुनुहुन्छ ? ’

म सहगोठालो जंगल छोडेर सहर पसेँ।

चिच्याएर सोध्न मन लाग्छ, ‘ममी बाख्रा घर आइपुगे ? ’ जसरी गोठालो जाँदा डाँडाबाट चिच्याउँथेँ।

म बाख्राझैं ममी वरिपरि चर्न भनी घरबाट निस्किएको थिएँ। आखिरमा चरा पो भएछु, जो उडेर कोसौं पर आइपुगेको छ। यो कस्तो ‘ट्रान्सफर्मेसन’ !

यहाँ ममीको स्वर त के, घाम पनि एकै बेला अस्ताउँदैन। एकै बेला उदाउँदैन। यता अस्ताइरहेको घामको डल्लो अब केही छिनमै ममीको टाउकोमाथि उदाउँदै छ। चर्न निस्किएका हाँसहरू तालभित्र फर्कंदै छन्। म पनि त डेरा फर्कने बेला भो। उता ममीको दौडधुप सुरु हुने बेला।

घाम अस्ताउँदा ममीलाई कस्तो अत्यासले घेर्दो होला हँ ?        कुन्नि के चिजले घेरेर अत्यास लागेको बेला शरीर सुस्त हुन्छ। थुक निल्दा पनि घाँटी घुटुक्क बज्छ। ममीको थुक घुट्याइ यस्तै हुँदो हो ?       

थुक निलेको घुटुक्क सुनिनु भनेको मनको एक चित्तले अर्को चित्तलाई सान्त्वना दिइरहेको भन्ने बुझ्नुपर्ने रहेछ। परदेसिनु भनेको आफ्नालाई सम्झिँदा अत्यासीले घेरिने बेला पनि फरकफरक हुनु रहेछ। घुटुक्क थुक निल्दाको आवाज सुन्ने बेला एकै नहुनु रहेछ।

हाँस कराइरहेको तलाउ झाडीले छेकेको छ। खुला पोखरी हेर्न घेरा तोड्नुपर्छ।

नदेखिए पनि हाँसहरूसँग बोल्न खोज्छु। यिनीहरूसँग गफिन जिब्रे भाषा चाहिँदैन। हाँसको आवाज सुन्दा मन हरक्किन्छ। पारि गुडिरहेका गाडी। अर्थात् गति। जमेको पानीमा बस्ने हाँसहरू उड्न सक्छन्। तिनीहरूसँग वेग छ। म तारजालीभित्र छु।

हातमा वाकिटकी। खुट्टामा बुट। आफ्नो हुलिया देख्दा सीमा सुरक्षामा तैनाथ सेनासँग मिल्दोजुल्दो चित्र दिमागमा आउँछ। ऊसँग लामो बन्दुक छ, मसँग छैन। म र ऊ दुवै घेराभित्र छौं, अरूको सुरक्षा खातिर। सुरक्षाको जुम्ल्याहा हो, डर। डर ती आकाशमा बाँकटे हान्ने हाँसहरूसँग होइन। अरू जनावरसँग पनि होइन। मनमा धुक–धुक गरिरहने यो डर केको ?        हामी अर्थात् मान्छे। डर र मेरो आप्रवासी परिचयबीच पत्रमित्रता छ ?       

यो बेला रूख, जनावर, झार, मानिस सबै लचिला हुन्छन्।

त्यसैले होला, मौसमको नामै ‘स्प्रिङ’ राखिएको। यहाँ पात पलाउनुपहिले फूल फुल्छन्। हाम्रोमा पहिले पात पलाउँछन्, त्यसपछि मात्र फूल।

कक्रक्किएका हाँगाहरू कोपिला लागिवरी फुलेर झरी पनि सके। अब दाना टुसाउन थालेका छन्। अस्तिसम्मको गह्रुँगो हावाले तौल घटाएको छ। अनुहारका दुई भित्ता छोएर जाँदा अनायासै गीत गुनगुनाउन थाल्दो रहेछु, ‘खुला आकाशमा पन्छीहरू उडेझैं उड्न मन लाग्छ।’

हावाको स्वाद हुने रै’छ। (काठमाडौं हावाको सम्झना आउँछ। प्रदूषण पनि सम्झन्छु भन्दा ‘तुलना गरिहाल्यो’ नभन्नुहोला। भन्नुभयो भने पनि केही छैन। आप्रवासीहरूको कहिल्यै नसकिने ‘होमवर्क’ हो, आफ्नो ठाउँ सम्झनु र तुलना गर्नु।)

‘यहाँको हावा कस्तो सफा हगि ? डराउनु पर्दैन’, मूल फुटेको ठाउँमा पानीका फुल्का उठेजस्तो विचारको एउटा फुल्का उठ्छ मनमा।

फिल्ममा स्वतन्त्र हुन खोजिरहेको पात्रले हावामा हात फिँजाएर उड्न चाहिरहेको देखिन्छ। बिनागन्तव्य उडिरहेको चरा देखाइन्छ। जसलाई कतै पुग्नु छैन, खालि हावासँग उड्नुको मजा लिनु छ। मैले यस्तो दृश्य फिल्ममा कि फोटो खिचुवाहरूले पोज दिँदा मात्र देखेको थिएँ। आकाशतिर मुन्टो बाएर हात फिँजाउँदै उडेको नक्कल गरेँ। हावाहरूको काम मनलाई हुँडलिदिनु हो। मन चञ्चल हुँदा अंगहरूमा हलुका गुदगुदी छाउँछ काउकुतीको।

उहिले मान्छेको पुच्छर थियो रे, काम नपरेपछि हरायो रे। तर पनि उम्रिने भाग हुन्छ भनेर पढेको थिएँ। काउकुती लागेका बेला पखेटा पलाउने भाग पनि हुन्छजस्तो लाग्छ। मान्छेलाई पुच्छर चाहिँदैन, आफ्नै पखेटा चाहिएको छ। भविष्यको मान्छे पखेटासहित जन्मिएला ?        विश्वास राख्नेहरू आउँदो जन्ममा चरा बन्न मन लागेको भन्ने गर्छन्। यो त विज्ञानको युग हो। अबको संसार लोककथाहरूको ‘एडप्टेड भर्सन’ पो बन्लाजस्तो छ। कुनै दिन विज्ञानले उद्घोष गर्ला, जसलाई जे बन्न मन लाग्छ, बने हुन्छ।

त्यो दिन धेरै मान्छेहरू चरा बन्लान्।

तर, के चराहरू स्वतन्त्र छन् ?        बरु चराहरू त परदेशीहरूको विम्बजस्तो लाग्छ। बाँच्ने संघर्षका लागि चराहरू आफ्नै जोडीसँग छुट्टिएर कति कोसौं पर पुग्छन् नि हगि ?        हामी चरा त बनिसकेछौं ! आप्रवासी भनेका चराजस्ता रहेछन्। सुरक्षित जीवनको आशमा बाँकटे हानिरहेका चरा।

फरक के भने चराहरूको सुरक्षित जीवनको मुख्य चुनौती मान्छे नै भइदियो र पो त ! हामीले एक तिहाइ धर्ती कब्जा गर्‍यौं। दुई तिहाइ पानी कब्जा गर्‍यौं। चराहरूको आकाशै कब्जा गरिदियौं।

म काम गर्ने भवनका दुई ठूल्ठूला चिम्नीबाट सातै दिन धुवाँको मुस्लो छुटिरहन्छ। चरालाई भवन काटेर उड्नु छ भने धुवाँ छल्नुपर्छ। निष्फिक्री बाँकटे हान्न पाउँदैनन्। कागहरू चिम्नीछेउ छतको डिलमा लहरै बसेर कराइरहन्छन्। हामी हुर्किएको समाजको लोक–दैवी कथामा काग हुलाकी हुन्। धुवाँ चिम्नीछेउ कंक्रिट पर्खालमा उभिएर ती कराएको सुन्दा मलाई कथा जोड्न मन लाग्छ, तिनले हाम्रो धर्तीको सुसमाचार पक्कै भनिरहेका छैनन्।

ती कागलाई आफूसँग तुलना गर्छु, हामी दुवै अस्तित्वको आवाज बोल्न खोजिरहेका छौं। जहाँ हाम्रो भाषा कसैले बुझ्दैन। तिनीहरू भनिरहेका होलान्, ‘यो धर्ती हाम्रो पनि हो। उड्नु हाम्रो जन्मसिद्ध अधिकार। धर्ती त तिमीहरूले ओगट्यौ, आकाशमा त उड्न देओ !’

तै, यहाँका मान्छेहरूले जंगल कब्जा गरे पनि घरवरिपरि रूखहरू भने जोगाएका छन्। र त हामी घरवरिपरि नै थरीथरीका चरा देख्न पाइएकोमा मक्ख पर्छौं। तर, के उनीहरू त्यसमा रमाउलान् ?        हामीले सफा देख्ने आकाश कति प्रदूषित छ भन्नेबारे चराभन्दा जानकार कोही होला ?        हामीलाई मुलायम लाग्ने हावाभित्र तिनीहरू निस्सासिइरहेको खबर ल्याउने कागको भाषा मैले के जानूँ ?

देख्दा सफा देखिए पनि चौबिसै घन्टा धुवाँ उडिरहेको देख्दा विज्ञान पढाउने सरले पढाएको सम्झन्छु। कथा वाचन गरेझैं उनी भन्थे, ‘केमिकलको अत्यधिक प्रयोगले हामीले सफा देख्ने बादलले पनि कुनै दिन अम्लीय पानी पार्नेछ। कुनै दिन आकाशको पानीबाट पनि जोगिनुपर्ने दिन आउनेछ। हाम्रा छालाहरूलाई आकाशको पानीले समेत छियाछिया पार्न सक्नेछ।’ कति कुराहरू तथ्य नजाँचीकनै पत्याइदिन मन लाग्छ।

परदेशी मनमा डरका चाङहरू नै हुँदा रहेछन्।

रूखका फूलहरूसँग त डर हुने रहेछ भने केमिकलका के कुरा ?

‘स्प्रिङमा पोलन एलर्जी हुन्छ’, घरबेटी दाइ भन्थे, ‘मगमग वासना आयो भनेर धेरै नसुँघ।’

नाकै ठोसेर सुँघ्दा त केही हुँदैनथ्यो। कति फूल त गर्‍यामगर्‍याम चपाउँथ्यौं। परदेश भनेको फूलका परागहरूसँग समेत जोगिनुपर्ने ठाउँ रहेछ। कतै हाम्रो शरीरका ग्रन्थी नै कमजोर भएका त हैनन् ?        कि डरले हाम्रो दिमाग थाकेको ?       

यहाँ आएपछि परदेशी सहरका लागि मात्र हैन; यहाँका हावा, घाम, वर्षात्का लागि समेत म पाहुनाजस्तो भएको छु। हावा, घाम, वर्षात् त सार्वभौम हुनुपर्ने हैन र ?       

घेराभित्र पनि घुमन्ते बन्नुपर्ने रहेछ।

मलाई बाहिरी घटना हेर्ने जिम्मा दिइएको हो खासमा। रोभरको एउटा अर्थ ‘ठग’ हुँदो रहेछ। मैले काम ठग्न थालेँ। मलाई फूलका कोपिला, चरा, मुसा, हाँस, जंगली टर्की, तलाउ हेर्न पठाइएको होइन। म यसैमा भुल्न थालेँ। जाडो याममा पनि हरियै भइराख्ने धुपी र सल्लाका रूखभित्र लुसुक्क छिर्ने, बाहिर निस्कने चराहरू हेर्न थालेँ। कागहरू उडेको फोटो–भिडियो खिच्न थालेँ। साँझ घाम डुबेपछि चर्न निस्कने जंगली बिरालो, फ्याउरो, खरायो हेर्दै तिनीहरूसँग जिस्कन थालेँ। मान्छे गफ गर्नुपर्ने जात हो।

एक्लै हुँदा ढुंगा–माटोसँग पनि बोल्नुपर्ने रहेछ। ढुंगा–माटोभन्दा रूखहरू बढ्ता साथी हुन्। रूखभन्दा बढ्ता साथी जनावर रहेछ मान्छेको।

मैले काम गर्ने ठाउँ अनकन्टार जंगल होइन। सहरको मध्य भागमा यसरी जंगली जनावर देख्न पाउनु रमाइलै कुरा हो। सहरको मध्य भागमा पनि यसरी जंगली जनावर देख्न पाउनुलाई संरक्षण नाम दिनुभन्दा मान्छेले उनीहरूको बासस्थान कब्जा गरेको पो हो त भन्नु न्यायसंगत होला। नत्र मुसालाई दुलो खन्न सिमेन्ट नलगाएको भुइँ कता होला भनेर खोज्नुपर्ने थिएन। नरम माटोमा हिँड्नुपर्ने हाँसका खुरहरूबाट ख्यारख्यार आवाज आउँदैनथ्यो। सिकार गर्ने तिनका नंग्रा सिमेन्टले खियाइरहेका छन्।

सिमसिमे पानीमा अनुहारलाई आकाशतिर पसारो पार्नु ‘थेरापी’ जस्तो हुने रै’छ। पानीका मसिना थोपाहरूबाट छोइँदा दिग्दारीको खडेरीले कटकटिएको बाँझो मन सिञ्चित हुँदो रहेछ।

तलबाट हेर्दा बादलको घेरा हुँदैन। ती निष्फिक्री बत्तिरहन्छन्। साँझपख डढेको बादल, बिहानीको बाफिलो बादल, रिसाएर धुम्मिएको बादल, खुसीले फुर्फुर्रिएको कपासजस्तो बादल।

बादलहरू बेजोडका कलाकार रै’छन्। कति लचिला तिनीहरू। कहिले हात्ती बनेका छन्, कहिले फ्याउरो। कहिले रंग बदलेका छन्, कहिले चड्याङुचडुङ बाझ्छन्। कहिले कलिलो पानी पार्छन्। कहिले हलुका हिउँ। कहिले साह्रो असिना। यतिसम्म कि तिनीहरू मान्छेको क्रियाकलापलाई समेत नियालेर बस्दा रै’छन्। आकाशमा थेग्ला–थेग्ला बादल देख्दा ममी भन्नुहुन्थ्यो, ‘आज कसले मस्यौरा पारेछ, अब पानी आउँछ।’ मान्छेको विश्वाससमेत रहेछ बादल।

‘तिमी दिक्क लागेको बेला बादल हेर, राम्रा चित्र देख्दैनौ’, बादल आफ्नो मुड जाँच्ने ऐना हो रे संगीताको व्याख्यामा, ‘सफा देखिने बादल निरस लाग्छ। दिल खुसी भएका बेला मडारिएको बादलको रङ पनि मीठो लाग्छ, फिटेको कफीजस्तो।’

चित्र मात्र हैन, चित्र कोर्ने क्यानभास पनि रहेछ बादल। मजस्तो चरा मात्र बनाउन जान्नेले समेत बादलमा अनेक चित्र बनाउन सक्छ। आफूले धर्का तानेर जोडे मात्र पुग्छ, बालपत्रिकाको ‘चित्र बनाऊ’ जस्तो।

त्यसो भए बादल आफैंमा कला हो कि कलाकार ?        कि कलाकारहरूको कल्पना ?

बादल शरीरबाहिरको चञ्चल मन पो हो कि ?

बादल हेर्दा आँखा स्थिर हुन्छन्, मन अस्थिर। धुनमा धुनमुनिरहेका बेला अगाडि बिरालो आइपुग्छ। कहिले खरायोले बाटो काटिदिन्छ। मनमा के चिज हुन्छ त्यस्तो, छ्वास्स खसिदिन्छ। छालामा उम्रिएका काँडाले आफैंलाई घोच्न थाल्छन्। निधारमा पसिना पलाउँछ।

यस्तो किसिमको डरले आनन्द दिँदो रहेछ। पसिना ओभाएपछिको शीतल र मध्याह्नको बाफिलो सालघारीको उकालो चढ्दा अलिकति हावाले दिने शीतलता बिल्कुलै फरक हुँदो रहेछ।

म केही बेर तिनलाई पछ्याउँछु। ‘हेई, आइज साथी बनम्।’ माने पो !

अचेल ड्युटीमा छँदा एउटा ठूलो मुसोसँग दिनकै भेट हुन्छ। ऊ मसँग लुकामारी खेल्छ। मैले पछ्याइरहेको छु भन्ने जानेपछि एउटा प्वालबाट छिरेर अर्कोबाट निस्कन्छ। पालैपालो। कहिले एउटै प्वालबाट आँखासम्म चोसो निकालेर हेर्छ। म छेलिएर बस्छु। ऊ अलिअलि गर्दै माथि आउँछ। बच्चाहरूसँग लुकामारी खेलेजस्तो। मलाई देख्यो कि लुक्छ।

अंग्रेजीमा ‘गुस’ भनिने चरालाई मैले आफ्नै भेगको हाँस भनेको हुँ। जोडीसँग चर्न रुचाउने यी, सिसामा देखिने आफ्नो अनुहारलाई ठुङ्दा रहेछन्। कहिले एकअर्कामा चुच्चो जुधाउँछन्।

म त गोठालो पो भएछु कि क्या हो ?

चरेको मात्र कति हेर्नु ?        पौडिएको हेर्ने रहर जागेको थुप्रै समय बितिसको थियो। एक दिन यताउति हेरेँ। गेट खोलेँ र बाहिर निस्किएँ। यिनीहरू तैरिँदा पानीमा एउटा लहरो छुट्छ। मन पनि एउटा तलाउ नै त हो, जहाँ अहिले विचारका लहराहरू छुटिरहेछन्।

लुगा खोलेर यिनीहरूसँगै हेलिऊँ कि क्या हो पोखरीमा ?       

मेरो जागिरको जिम्मेवारनामामा हाँसले हस्ताक्षर गरेको छैन ! आफैंले बाँध बाँधेर पौडी खेलेको छत्रे खोलाको याद आउँछ। पौडी खेल्दा खुबै भोक लाग्थ्यो। यी हाँस पनि भोकाउँदा रहेछन् क्यारे, भुर्र उड्छन्, एकछिन चर्छन्, फेरि फर्कन्छन्। हामीबीच यो कस्तो समानता ?

यो पक्का हो, हाँसहरू मेरो सुपरभाइजरसमक्ष उजुरी गर्न जाँदैनन्। तर, सीसी क्यामेरा ठूलो जासुस हो यो समयको।

मैले कपालको गुजुल्टो हावामा लर्काएर हिँडेको देखे भोलि ऊ आफैंले ‘सरी’ भन्नेछ। बाँकी कारबाही मेरो ‘क्रेडिट हिस्ट्री’बाट गरिदिन्छ। क्रेडिट हिस्ट्री- इतिहास। इतिहासको काम भविष्यमाथि खेलवाड गर्नु हो। इतिहासले मान्छेलाई चैनको निद्रा सुत्न दिएको छैन। मतलब डर। घेराभित्र डर। घेरा तोड्दा पनि डर। यो कस्तो संवेदना ?

गेट बन्द गरेर फर्किंदा एक जोडी वृद्धवृद्धा कारभित्र थिए। उनीहरूले नजिक बोलाएपछि मेरो सात्तो गयो। अघि भर्खर छिरेको ‘प्रोपर्टी’को मालिक तिनीहरू नै पो हुन् ?        हैन रहेछन्। सोधे, ‘यहाँ हामी कसैलाई कुरिरहेका छौं। त्यति बेलासम्म यहाँ बस्न पाइएला ? ’

एकछिन गमेँ। घरमा आएको पाहुनाले अप्ठ्यारो माने हामी सान्त्वना दिन्छौं नि ?        त्यसरी नै भन्न मन थियो, ‘केही छैन ढुक्कले बस्नुस्।’

तर, यो त प्राइभेट प्रोपर्टी पो त। म यसको पहरेदार। ‘माफ गर्नुहोला, म अनुमति छ भन्न सक्दिनँ’, मैले यसो भनेपछि उनीहरूले पनि माफी मागे। धन्यवाद पनि दिए। कति बाक्लो औपचारिकता ?        सोध्नै जरुरी थियो र ?        थपक्क बसिरहेको भए म केही भन्दैनथेँ।

म आफू हुर्किएको संस्कृतिबीच तुलना गर्न थाल्छु। गाउँका दैलामा विरलै ताल्चा लाग्छन्।

यहाँको चलन बेग्लै छ।

यिनीहरूले भौतिक चिजलाई के साह्रो महत्व दिएका हँ ?       

कक्षामा एक दिन अमेरिकी संस्कृतिबारे छलफल चलेको थियो। प्रोफेसरलाई सोधेको थिएँ, ‘कसैको जग्गामा अनुमतिबिना छिर्न नपाउने नियम अमेरिकी संस्कृति हो ? ’ प्रोफेसरले कक्षा सुरु हुँदाकै दिन ह्वाइट बोर्डमा एउटा पिलन्धरे आई र अर्को बडेमानको आई लेखेर अमेरिकी र हाम्रो (दक्षिण एसिया) संस्कृतिबीचको एउटा उदाहरण दिएकी थिइन्। झिँगाको टाउकोजत्रो थोप्लो बोकेर उभिएको मरञ्च्याँसे ‘स्मल आई’। अर्को काठको ठूलो टिम्बा खुट्टामुनि र टाउकोमाथि बोकेर उभिएको अजंगको ‘क्यापिटल आई’। प्रोफेसरले तिनलाई आआफ्नै गच्छेअनुसारको आकार दिएकी थिइन्। तैपनि ती अक्षरै त थिए। उनको भन्ने शैली तिनमा यसरी घुलिदिए कि मैले ती दुई अक्षर हैनन्, चित्र पो देखेँ। चित्र हैन चलचित्र। एउटा फुकी–ढल आई। अर्को छाती फुलाएर उभिएको।

‘तिमीहरू भन्छौ, हाम्री छोरी’, प्रोफेसरको उदाहरण थियो, ‘म भन्छु, मेरी छोरी।’ अमेरिकी संस्कृति अर्थात् ‘म’को बेजोड प्रयोग।

खास कुरा निजी सम्पत्तिमाथिको अधिकारमा थियो। ‘हो, यो अमेरिकी संस्कृतिभित्रकै कुरा हो’, म्यामले मुड्की बटारिएका दुवै हात उचाल्दै भनेकी थिइन्, ‘मेरो सम्पत्ति मेरो अधिकार। कसैले केही बिराम नगरे पनि उसलाई त्यहाँबाट हट् भन्ने अधिकार राख्छु।’

एकपल्ट आफू बसेभन्दा तीन घरपल्तिर सानो चौरीमा उभिएर फोनमा कुरा गर्दै थिएँ। नजिकै एउटा मान्छे आयो र भन्यो, ‘हे म्यान, दिस इज प्राइभेट प्रोपर्टी।’

‘सो ह्वाट ! मेरो हातको मोबाइल बम त होइन नि !’

यो त अहिले लेख्दालेख्दैको कल्पना मात्र हो। ‘प्राइभेट प्रोपर्टी’मा अनुमतिबिना घुस्नेलाई मालिकले गोली ठोके पनि कानुन लाग्दैन’, सुनेको मान्छेले यस्तो त कदापि भन्न सक्दैन।

यो उनीहरूको संस्कृतिको कुरा भयो। संस्कृति बजारभाउ हैन, तुलना गर्न मिल्ने। लौ मिल्ला रे, सस्तो–महँगो, राम्रो–नराम्रो भन्न त मिल्दैन। तर पनि मनमा कुराहरू झन्–झन् तिखारिँदै छन्, यो अभ्यास कसरी संस्कृति बन्यो होला ?

कतिपय कुरालाई मनमै घारघुर पारिरहनै मजा आउने रै’छ। गुगल गरेर झट्टै नौनी निकालेपछि घारघुरको संगीत बाँकी रहँदैन।

सायद अशोकले उनको एउटा निबन्धमा लेखेका छन्, ‘हरेक व्यक्तिको आफ्नो ‘प्राइभेट स्पेस’ हुन्छ भन्ने कुरा सबैले नबुझ्ने रैछन्। हाम्रो सामाजिक संरचनामा ‘प्राइभेट स्पेस’लाई ‘अलग्गै बस्ने’ अथवा ‘कसैसँग सम्बन्धित हुन नखोज्ने’ भन्ने बिल्कुलै फरक सन्दर्भमा लगेर जोडियो।’

‘प्राइभेट प्रोपर्टी’, ‘प्राइभेट स्पेस’ले बोक्ने महत्वबाट सुरु भयो कि ?        हो भने यो पक्कै मीठो कुरा हो।

तर, मलाई लाग्छ- अमेरिकाको अहिलेको संस्कृति भनेको डर हो। डरको व्यापार राम्रै चलेको छ यहाँ। ‘सेक्योर योर होम’ शीर्षकको विज्ञापन मेरो इमेलबक्समा दिनकै त्यसै आएको होइन। जागिर सुरु गर्दाको तालिममा प्रशिक्षकले भनेका थिए, ‘९÷११’ घटनापछि अमेरिकाको भर्भराउँदो करिअर हो सुरक्षासम्बन्धी काम।’

म घेराहरू अझै फराकिलो र खुकुलो होऊन् भन्ने चाहन्छु। यिनीहरू झनै कसिलो बनाउने कुरा गर्दै छन्।

मनोज बोगटीको कविता याद आउँछ, ‘काफरे अमेरिका’ शीर्षकको।

जब अमेरिका डराउँछ

पृथ्वीको छायाँ हराउँछ।

काफरे अमेरिका !

दिमागदेखि डराउँछ

मर्नदेखि डराउँछ

कि बाँच्नदेखि डराउँछ ?

डराउँछ अमेरिका
@Samundraji


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.