प्रदेश नम्बर ३ को नाम 'नेपाल मण्डल' राख्न माग
काठमाडौं : सातजना सांसदको समर्थनमा दुई सांसदले प्रदेश नम्बर ३ को नाम नेपाल मण्डल राख्न प्रस्ताव गरेका छन् । प्रदेश ३ का सांस डा. अजय क्रान्ति शाक्य र वसन्त मानन्धरले प्रदेश सभामुख सानु श्रेष्ठसमक्ष प्रस्ताव पेस गरेका हुन् । यस प्रस्तावमा अन्य सात सांसदले समर्थन गरेका छन् । समर्थन गर्ने अन्य सांसदमा केशव स्थापित, राजेश शाक्य, ज्ञानेन्द्र शाक्य, राजकाजी महर्जन, प्रकाश श्रेष्ठ, उर्मिला श्रेष्ठ र सरस्वती वाटी रहेका छन् ।
सभामुख श्रेष्ठलाई शुक्रबार ज्ञापन पत्र दिँदै उनीहरूले नेपालमण्डल नाम हुँदा यसले १३ जिल्लाका जनताले अपनत्वबोध गर्नसक्ने हुने दाबी गरेका छन् । यस नामले सांस्कृतिक–सामाजिक पहिचान पहिचानकासाथै पौराणिक कालदेखि वर्तमानसमयसम्मको ऐतिहासिक गरिमाको उजागर गर्ने ज्ञापन पत्रमा भनिएको छ ।
डा. शाक्यकाअनुसार स्वयम्भू पुराणका आधारमा राजाधर्माकरले नियमपूर्वक पालेको हुनाले यो देशको नाम नेपालमण्डल रहन गएको हो भनी उल्लेख गरिएको छ । यस्तै नेपाल मण्डल शब्दको ऐतिहासिकता अध्ययन गर्दा इस्वीको तेस्रो शताब्दीदेखि उल्लेख भएको पाइन्छ । त्यतिबेलाको आर्यमहामञ्जुश्रीमूलकल्प भन्ने बौद्धग्रन्थको श्लोक नं. ५०२ र ५०३ मा नेपालमण्डल भन्ने शब्द उल्लेख भएको छ ।
प्रस्तावमा नेपाल मण्डल नाम किन राख्ने ? भनी नौवटा ऐतिहासिक तथा भौगोलिक कारण तथा तर्क दिइएको छ । यसैगरी, बागमती, नारायणी र अन्य नाम किन उपयुक्त छैनन् भन्नेमा सातवटा तर्क राखिएका छन् ।