दुर्गममा सुत्केरी पीडा : ब्यथा लागेकाे दुई दिनपछि बल्ल उद्धार
बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका–१ राउतबाडास्थित एक सुत्केरीको साल अड्कीएपछि हेलिकप्टरबाट उद्धार गर्नुपरेको छ । २२ वर्षीया सुत्केरी रमिला रोकायाको साल अड्कीएर दुई दिनदेखि रक्तस्राब हुँदा हेलिकप्टरबाट उद्धार गरिएको हो ।
शनिबार हेलिकप्टर मार्फत उनलाई कोहलपुर मेडिकल कलेज लगिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्री कृष्ण सुवेदीको पहलमा रोकायालाई सेनाको हेलीकप्टर मार्फत कोहलपुर लगिएको मन्त्रालयले जनाएको छ ।
सुत्केरी हुन नसकेको खबर पाएपछि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीको पहलमा हेलिकप्टर मार्फत कोहोलपुर मेडिकल कलेज लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । जिल्लामा उपचार गर्न सम्भव नभएकाले नेपालगञ्ज पठाइएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुंवरले बताएका छन् ।
रमिलाका एक अफन्तका अनुसार सुत्केरीको रगत धेरै बगेको छ । दुई दिनदेखि बोल्न समेत सकेकी छैनन् । सामाजिक विकास मन्त्रालयको पहलमा यसअघि ३ जना सुत्केरीको हेलिकप्टरमार्फत बाजुराबाटै उद्धार गरिएको छ । पछिल्लो समयमा सुदूरपश्चिम प्रदेश सरकारले विकटबाट बिरामी र सुत्केरीको हवाइ उद्धार गरिरहेको बताइएको छ । स्वास्थ्य सेवाबाट टाढा रहेरका र आपतकालिन सेवा दिन हवाइ उद्धार गर्ने गरेको छ ।