रसुवामा डेढ क्वीन्टल माछा मर्दा ४ लाखकाे क्षति
नुवाकोट : रसुवाको गोसाइकुण्ड गाउँपालिका–४ धुन्चेस्थित रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रमा पालिएका १ सय ५० केजी माछा एकैचौटी मर्दा लाखौंको क्षति व्यहोर्नुपरेको बताइएको छ ।
पाइपमा काठ पसेर पानी थुनिँदा एकैपटक ठूलो परिमाणमा माछा मरेको बताइएको छ । रेन्बो ट्राउट मत्स्य अनुसन्धान केन्द्रका प्रमुख गोपालप्रसाद लम्सालले १४ वटा पोखरीमा पालेका जापनिज रेन्वो ट्राउट प्रजातिका माछा बिक्री गर्ने समयमै मरेका हुन् ।
०७१ सालदेखि सञ्चालित सो केन्द्रमा रहेको पोखरीमा ठूलो संख्यामा माछा मर्दा चार लाख भन्दा बढीको क्षति परेको सञ्चालक लम्सालले बताए । माउ माछा मरेका कारण आगामी वर्ष भुरा उत्पादनमा ७० प्रतिशत कमी आउने पनि लम्सालको भनाइ छ । माउ माछा मरेको भए पनि भुरा माछा जोगाउन सफल भएको उनले बताए ।
कार्यालयमा साना, ठूला गरी ६२ वटा रेसवे (पोखरी) छन् । जसमा ठूला २१ वटा, साना नर्सरी पोखरी २० वटा, भुरा हुर्काउने पोखरी १५ वटा र ह्याचरीभित्र ६ वटा पोखरी छन् ।
ती पोखरीमा अहिले करिब ३० हजार भुरा छन् । कार्यालयले वार्षिक रूपमा ५० हजार आँखा उम्रेको अण्डा र १ लाख भुरा बिक्री गर्दै आएको उनले जानकारी दिए ।