‘पाँच वर्ष ओली नै प्रधानमन्त्री’

‘पाँच वर्ष ओली नै प्रधानमन्त्री’

धरान : नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीसँग आफ्नो कुनै विवाद नरहेको बताएका छन्। सरकारको ‘आलोपालो सहमति’ का विषयमा दाहालले एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिपछि दुई अध्यक्षको सम्बन्धमा खटपट सुरु भएको आँकलन गरिरहँदा उनले अनावश्यक कुराले पार्टीभित्र फाटो नआउने र आउन पनि नदिने स्पष्ट पारेका हुन्।

किरात राई यायोख्खा सुनसरीको साकेला सिली समापन कार्यक्रममका लागि विराटनगर हुँदै शनिबार धरान आइपुगेका दाहालले भने, ‘उहाँ (प्रधानमन्त्री केपी ओली) नै पाँचै वर्ष प्रधानमन्त्री बन्न सक्नुहुन्छ। कसरी र कसले सरकार एवं पार्टी चलाउने भन्ने कुरा दुई अध्यक्षबीचको सहमतिमा हुन्छ। अनावश्यक कुराले पार्टीभित्र फाटो आउँदैन र आउन दिइने पनि छैन।’

दाहालले प्रधानमन्त्री ओली र आफूबीच कुनै विवाद नभएको दाबी गरे। पार्टी एकताका बेला प्रधानमन्त्री ओलीसँग भएको सहमतिबारे स्वाभाविक प्रतिक्रिया दिँदा सञ्चारमाध्यमले सरकार परिवर्तनसँग जोडेर अतिरन्जित बनाएको गुनासो दाहालको थियो। पार्टी एकता हुँदा भएको सहमतिलाई गलत व्याख्या गरिएको जिकिर गर्र्दै दाहालले पाँच वर्ष नै ओली प्रधानमन्त्री हुन सक्ने र फेरबदल पनि दुवैको सहमतिमा हुने बताए। उनले ओली र आफूबीच फाटो ल्याउन अनेक हथकण्डा अपनाउन थालिएको र त्यस्ता हथकण्डाले पार्टी एवं दुई अध्यक्षबीचको सम्बन्धमा कुनै असर नगर्ने बताए।

प्रधानमन्त्री ओली नयाँदिल्ली जानुअघि गत बिहीबार दाहालले पार्टी एकताका बेला भएको भित्री सहमतिका विषयमा एक टेलिभिजनलाई अन्तर्वार्ता दिएका थिए। त्यसपछि प्रधानमन्त्री ओलीले पनि दाहालको अभिव्यक्तिलाई दिल्लीबाटै व्यंग्यात्मक जबाफ फर्काएका थिए। त्यसयता दुई अध्यक्षबीच भेटघाट भएको छैन। ओली–दाहालको आइतबार भेटवार्ता हुँदैछ। २० गतेको पार्टी सचिवालय बैठकको तयारीका लागि दुई अध्यक्षबीच हुन लागेको भेटघाटमा समेत पछिल्ला अभिव्यक्ति छलफलमा आउने बताइएको छ। त्यसको पूर्वसन्ध्यामा दाहालले पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुवै अध्यक्ष लागिपरेकाले कसैले शंका नगर्न आग्रह गरेका हुन्।

त्यसअघि विराटनगर विमानस्थलमा दाहालले पार्टी एकीकरणका विषयमा भएका सहमति इमानदारीसाथ कार्यान्वयन गरिने बताए। एकीकरणका बेला भएका सहमतिलाई अनावश्यक रूपमा उचाल्न नहुने तर्क गर्दै उनले भने, ‘पार्टीलाई एक ढिक्का र सुदृढ बनाउने कार्यमा दुवै अध्यक्ष लागिरहेका छौं। नेताकार्यकर्ता, शुभेच्छुक र जनतामा अनावश्यक रूपमा विभाजित ल्याउन हुँदैन भन्नेमा सचेत छौं।’

सैद्धान्तिक र व्यावहारिक हिसाबले पार्टी एकता भएको बताउँदै दाहालले यसले पार्टीलाई अझ सुदृढ बनाएर लैजाने विश्वास व्यक्त गरे। अध्यक्ष दाहालले दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन सञ्चारकर्मीसँग पनि आग्रह गरेका थिए।

प्रदेश नामकरणमा पार्टी ह्विप हुन्न

दाहालले प्रदेश नामकरणमा पार्टीले ह्विप नलगाउने पनि बताए। प्रदेश १ ले अझै पनि प्रदेशको नामकरण गर्न सकेको छैन। दाहालले आफू प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने पक्षमा रहे पनि सहमतिकै आधारमा यसको टुंगो लगाउनुपर्ने बताए। ‘म प्रदेश १ को नाम किरात हुनुपर्छ भन्ने पक्षमा छु’ उनले भने, ‘तर सहमतिमै यसको टुंगो लगाइनुपर्छ।’

सुशासन र समृद्धि कायम गर्नु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै दाहालले भने, ‘जनताका गुनासालाई सरकार सम्बोधन गर्छ। पार्टीभित्रको गुट र विवाद दुई अध्यक्षबीचको सहमतिमा अन्त्य हुन्छ।’ दाहालले भारतमा विदेशमन्त्री परिवर्तनले नेपाल–भारत सम्बन्धमा कुनै तात्त्विक असर नपर्ने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.