कम्युनिस्ट फाल्न अब आन्दोलन हुन्छ : देउवा
भैरहवा : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तानशाही भएको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।उनले सरकारले स्वतन्त्र निकायमाथि हस्तक्षेप बढाएको उल्लेख गर्दै तानशाही सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिए।
सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, स्वतन्त्र न्यायलयमाथिको हस्तक्षेप तानाशाही प्रवृत्ति भएको टिप्पणी गर्दै सभापति देउवाले सरकारले प्रेस र न्यायलयलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजाजस्तै अब कम्युनिस्ट फाल्नका लागि आन्दोलन गर्ने आचेतावनी दिए।
प्रेस, न्यायलय, मानवअधिकार जस्ता स्वतन्त्र निकायमाथि हस्ताक्षेप गरेर वर्तमान सरकारले संविधानको मर्म र भावना विपरित तानशाही प्रवृत्ति देखाएको छ, आइतबार नेपाल प्रेस युनियन रुपन्देहीद्धारा भैरहवा विमानस्थलमा आयोजित पत्रकार भेटघाटमा उनले चेतावनी दिँदै भने,' यी निकायलाई स्वतन्त्र नछोडे राणा, पञ्चायत र राजाजस्तै सदाका लागि कम्युनिस्टलाई फाल्नका लागि आन्दोलन गर्छौँ।'
वर्तमान सरकार पछिल्लो समय तानाशाहशैलीमा अगाडी बढेको बताउँदै नेपालमा तानाशाह सम्भव नभएको जिकिर गर्दै उनले सरकार भ्रष्टचारमा डुबेको आरोप लगाए।
उनले वाइडबढी विमानकाण्ड, बुढिगण्डकी जलविद्युत आयोजना, ललितानिवास प्रकरणमा सरकारले चरम भ्रष्टचार गरेको उल्लेख गर्दै कम्युनिस्ट नेतृत्वको सरकार लामो समय नटिक्ने बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले ल्याएको बजेट वितरणमुखी भएको टिप्पणी गर्दै उनले आफ्ना कार्यकर्ता पाल्न बजेट ल्याएको आरोप समेत लगाए। उनले विदेशीले दिएको सहायताले पार्टीको कार्यकर्ता पाल्न नमिल्ने जिकिर गरे ।
सभापति देउवाले पार्टी भित्रको गुटबन्दीको अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताएका छन्। उनले पार्टीभित्रको असन्तुष्टी समाप्त पार्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने उल्लेख गरे।