पेन्टिङमा महिला हिंसा

पेन्टिङमा महिला हिंसा

कलाकारहरू महिला हिंसाका विभिन्न स्वरूपलाई क्यानभासमा उतार्न सक्रिय छन्। साथै फोटोग्राफरको संख्या पनि बढेको छ। कलाकार तथा फोटोग्राफरको बाक्लो सहभागिता आर्ट काउन्सिलमा चलिरहेको नवौं राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रस्टै देख्न सकिन्छ। प्रदर्शनीमा महिला हिंसा, दुर्व्यवहार, अधिकार, समानता र पहिचानको मुद्दालाई विशेष प्राथमिकतामा दिइएको छ।

प्रदर्शनी कक्षको पहिलो तलामा परम्परागत चित्रकला, मूर्तिकला, लोक र हस्तकलाका रोचक कलाकृति राखिएको छ भने दोस्रो तलामा आधुनिक चित्रकला, मूर्तिकला, भिडियो कला समावेश छन्। तेस्रो र चौथो तलामा कार्टुन, डिजिटल कला आदि समेटिएको छ। फरक फरक विषयवस्तुमा बनाइएका ती सबै कलाकृतिमा आधुनिक र फोटोग्राफी कलामा पहिचान, अधिकार, न्याय र महिला हिंसाका विषयलाई बढी ‘हाइलाइट’ गरिएको छ।

कतिपय कलाकारले महिलाका नग्न चित्र र तस्बिर देखाएर महिला हिंसाको आवाज उठाएका छन्। कलाकारले ती पेन्टिङमार्फत आफ्नो कला प्रदर्शन गरे पनि अवलोकनकर्तालाई ती चित्रले अप्ठ्यारो महसुस गराउँछ। केही हदसम्म त्रासदीको महसुस गराउँछ। वरिष्ठ चित्रकार उमाशंकर शाह भन्छन्, ‘मठमन्दिरका टुँडालमा पनि अश्लील कलाकृति छन्। त्यसको दर्शनलाई हामीले बुझ्नुपर्ने हुन्छ।’ कलाकारितालाई संकुचित ढंगले हेर्न नहुने उनी बताउँछन्।

फोटोग्राफर रमेश दुवालको ‘स्टप आई एम नट बोर्न टु बी रेप’ र ‘नो म्यान क्यान अन्डरस्ट्यान्ड’ शीर्षकको तस्बिरमा महिलालाई निकै बीभत्स अवस्थामा देखाइएको छ। यौन हिंसाको सिकार भएकी ती महिला पूरै नग्न अवस्थामा छिन्। उनका वरिपरि रगतका बाछिटा प्रस्ट देखिन्छ। दुवाल भन्छन्, ‘मैले तस्बिरबाट न्युडिटी होइन, यौन उत्पीडनमा परेका महिलाको भित्री पीडा देखाउन खोजेको हुँ।’

चित्रकार संगी श्रेष्ठ भन्छिन्, ‘एक पोख्त आर्टिस्टको पेन्टिङमा ‘सिम्बोल’ले प्राथमिकता पाउनुपर्छ।’ महिला हिंसामा परेको देखाउन उनलाई नग्न देखाउनु कत्ति पनि उचित नहुने उनको भनाइ छ। अहिलेका आधुनिक पेन्टिङलाई उदारवादी विचारधारा मानिए पनि त्यसमा कलाकारको अपरिपक्वता झल्कने गरेको उनी बताउँछिन्।

चित्रकला स्वतन्त्र विधा हो। यसको औपचारिक पढाइमै न्युड बडीलाई अगाडि राखेर चित्र कोर्न सिकाइन्छ। तर त्यही न्युडिटी महिला हिंसालाई दर्शाउन प्रयोग हुन्छ भने त्यसलाई कसरी बुझ्ने ? युवा चित्रकार केशवराज खनाल भन्छन्, ‘कला स्वतन्त्र विधा हो। यद्यपि चित्रकला र तस्बिरले पहिचानका नाउँमा प्रोपोगान्डा फैलाउन मिल्दैन।’

जम्माजम्मी पाँच सय नब्बे कलाकारका छ सय छयान्नब्बे कलाकृति प्रदर्शनीले समेटेको छ। तिनमा आधुनिकतर्फ दुई सय उनान्नब्बे कलाकारका तीन सय चवालीस कलाकृति समावेश छन्। फोटोग्राफीतर्फ २० कलाकारका तीस तस्बिर सामेल छन्।

चित्रकार अमृत सुनारीमगरका दुई चित्र पनि महिला हिंसासँग सम्बन्धित छन्। ‘भोइस अगेन्स्ट उमन भोइलेन्स’ शीर्षकको उक्त चित्रमा कलाकारले रातो र कालो रङलाई यौन हिंसाको विम्बका रूपमा प्रयोग गरेका छन्। चित्रमा नारीको आकृतिले चरम पीडाको सामना गरिरहेको छ।

चित्रकार भावना गोल्डी भन्छिन्, ‘एक सर्जकले आफ्नो भावनालाई मात्र प्राथमिकता दिनु हुँदैन।’ कुनै पनि सिर्जना समाजमा गइसकेपछि त्यसले निम्त्याउने समस्यामा ध्यान दिन आवश्यक रहेको उनी बताउँछिन्। भावनाको ‘उमन फ्रिडम’ शीर्षकको पेन्टिङ पनि प्रदर्शनीमा छ। उनले नारी मेसिनका रूपमा प्रयोग भइरहेको विषय उठान गरेकी छन्।

अर्का कलाकार पकबहादुर थापाले आफ्नो चित्रमा एक भालेले महिलालाई बलात्कार गरेको देखाएका छन्। यस पेन्टिङमा पुरुष निकै शक्तिशाली र महिलालाई कारुणिक देखाइएको छ।

केही कलाकारले महिलाका नग्न पेन्टिङ पनि बनाएका छन्। चित्रलाई महिलाका संवेदनशील मुद्दासँग जोडेका छन्। प्राज्ञ रमेश खनाल भन्छन्, ‘हामीले नयाँ विचार र संस्कृतिलाई प्रश्रय दिन खोजेका हौं।’ महिला मुद्दा आफैंमा संवेदनशील विषय हो। त्यसमाथि महिला हिंसाको विषय अझै जटिल छ। तर अधिकार र पहिचानको मुद्दा उठाइरहँदा त्यसबाट पीडितले अझै पीडा पाउने र पीडक हिंसाका लागि अझै हौसिन सक्नेप्रति सजग हुुनुपर्ने प्रिन्ट मेकर सौरगंगा दर्शनधारी बताउँछिन्। भन्छिन्, ‘महिलाका कारुणिक पेन्टिङले पीडित महिलालाई अझै पीडा दिन सक्छ।’

प्रदर्शनीमा महिला सशक्तीकरणका मुद्दा पनि समेटिएको छ। तिनले महिलालाई ‘पावरफुल’ देखाएको छ। विशेषगरी मिथिला आर्टले महिलाको शिक्षा, स्वास्थ्य, जागरुकताका विषय अघि सारेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.