नेकपाका सांसदले भने- चारपटक लडिसके, ज्यान जोगाइ पाऊँ
काठमाडौं : सत्तारुढ दलका सांसद खगराज अधिकारीले आइतबार प्रतिनिधिसभा बैठकमा आफू चार पटक लडेको भन्दै ज्यान जोगाइन दिन सरकारको ध्यानाकर्षण गरेका छन्। बैठकमा उनले आफ्नो भाँचिएको कुर्ची उठाएर सभामुख कृष्णबहादुर महरालाई देखाउँदै पटकपटक लडिसकेको र दुर्घटना चाहिँ नभएको भन्दै बचाइदिन ध्यानकार्षण गराएका हुन्।
सांसद अधिकारीले बिग्रिएको कुर्चीको भाग उठाएर सभामुखलाई देखाउँदै भने, 'कुर्ची मर्मत गर्नुपर्यो भनेर कति दिन भन्ने ? सभामुख महोदय, ज्यान जोगाइ पाउँ।' यसपछि सभामुख महराले आफ्नो ध्यानाकर्षण भएको बताए।
यस्तै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले संवैधानिक परिषद् र न्याय परिषद्ले गर्ने नियुक्ति समानुपातिक र समावेशी नभएको बताए। उनले संविधानको समानुपातिक र समावेशी सिद्धान्त विपरित लोक सेवा आयोगले नौ हजार पदमा विज्ञापन खुला गरेकोमा आपत्ति जनाए। रासस