वार्षिक अंकमा तलमाथि परेको छैन : अर्थमन्त्री डा. खतिवडा
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएको हो, यसलाई सच्याइसकिएको बताए।
अर्थमन्त्री डा. खतिवडाले भने, 'उपकरणले जोड्नुपर्ने अङ्क हातले जोडिएका कारण अनुसूची विवरणमा प्राविधिक त्रुटि देखियो । यसलाई सच्याइएको छ।' अर्थमन्त्री खतिवडाले संघीयता कार्यान्वयन गर्न बजेटले उच्च प्राथमिकता दिएको र आन्तरिक ऋण १७२ अर्बभन्दा माथि नजाने स्पष्ट पारे।
यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद डा. मीनेन्द्र रिजालले अर्थमन्त्रीले आर्थिक वर्ष २०७६/७६ को राजश्व र व्ययको वार्षिक अङ्कको अनुसूचीमा त्रुटि देखिएको भन्दै अर्थमन्त्रीले जवाफ नदिएसम्म सदन अगाडि बढ्न नसक्ने बताएका थिए।उनले भने, 'राजश्वसम्बन्धी बजेटको अनुसूचीको अङ्क कसरी त्रुटिपूर्ण भयो ? यसलाई सच्याइनुपर्छ।'
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद लक्ष्मणलाल कर्णले संवैधानिक परिषद् र न्याय परिषद्ले गर्ने नियुक्ति समानुपातिक र समावेशी नभएको बताए। उनले संविधानको समानुपातिक र समावेशी सिद्धान्त विपरित लोक सेवा आयोगले नौ हजार पदमा विज्ञापन खुला गरेकामा आपत्ति जनाए।
शून्य समय
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद अमरेशकुमार सिंहले किसानले ऊखुको उचित मूल्य नपाउँदा उनीहरुको लगानी जोखिममा परेकोतर्फ सरकारको ध्यानाकर्षण गराएर। सांसद आशाकुमारी विकले लोक सेवा आयोगले खुला गरेको विज्ञापन समावेशी र समानुपातिक नभएको हुँदा सच्याउन माग गरिन्।
सांसद केदार सिग्देलले तनहुँको विकास आयोजना समयमै सम्पन्न गराउनेतर्फ सम्बन्धित मन्त्रालयको ध्यान जाओस् भने। अर्का सांसद खगराज अधिकारीले हालै धनुषा र नवलपरासी जिल्लाका बालकलाई बलि दिएको घटनाप्रति आपत्ति जनाउँदै यस्ता घटना रोक्नेतर्फ सरकार गम्भीर बन्न आग्रह गरे। सांसद गङ्गा चौधरी र घनश्याम खतिवडाले संसद्ले बनाएको ऐन कानून कार्यान्वयन किन भएन ? भनी प्रश्न गरिन्। रासस