प्रसारण लाइन परीक्षण गर्न त्रिशूली थ्रीएको उत्पादन बन्द

प्रसारण लाइन परीक्षण गर्न त्रिशूली थ्रीएको उत्पादन बन्द

मैलुङ, नुवाकोट : माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाले दुई सातामै विद्युत उत्पादन बन्द गरेको छ। पहिलो चरणमा कुल जडित क्षमताको आधा अर्थात् ३० मेगावाट विद्युत उत्पादन सुरु गरेकोमा दुई सातामै बन्द गरिएको हो।

उपकरण तथा प्रसारण लाइन परीक्षणका लागि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ए’ को परीक्षण उत्पादन एक सातादेखि बन्द गरेको आयोजनाले जनाएको छ।

परीक्षणपछि केही दिनमा उत्पादन सुचारु गर्ने आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिए। आयोजनाको दोस्रो युनिट (३० मेगावाट) आगामी असारको दोस्रो सातासम्म सञ्चालनमा ल्याउने तयारी छ।

आचार्यका अनुसार आयोजनाको सुरुङ, प्रसारण लाइन तथा मेसिन उपकरण ठीक हालतमा भए नभएको परीक्षण गर्न लागिएको हो। आयोजनाको दोस्रो युनिट बनाउन पहिलो युनिटको परीक्षण उत्पादन एक सातादेखि बन्द गरिएको उनले बताए।

बन्द भएको अवस्थामा उपकरण, सुरुङ, बाँधस्थलमा रहेका बालुवा थिग्राउने पोखरीका संरचनाहरूको परीक्षण लगायतका काम हुनेछन्।  

जेठ २ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको उत्तरपश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका ५ सिम्लेस्थित आयोजनाको नियन्त्रण कक्षमा रहेको स्विच दबाएर आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरेका थिए।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युतगृहबाट २२० केभीए डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थमा रहेको सबस्टेसनमा जोडिएको छ।

आयोजनाले पहिलो युनिटबाट परीक्षणका रूपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिसकेको छ।

नुवाकोटको किस्पाङ र रसुवाको दक्षिणी भेग (सदरमुकाम विदुरदेखि २५ किलोमिटर उत्तरपश्चिम) मा निर्मित आयोजनाको निर्माण सुरु भएको आठ वर्षमा विद्युत उत्पादन गरिएको हो।

२०६८ फागुन १४ देखि निर्माण सुरू भएको आयोजनाको निर्माण गत वैशाख १५ मा सम्पन्न भएको थियो।

नेपाल सरकार र चिनियाँ एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण हुन लागेको आयोजनाको लागत १२ करोड ५८ लाख अमेरिकी डलर छ।

चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) ले निर्माण गरिरहेको आयोजनाको सिभिलतर्फ ९९ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत तथा प्रशारण लाइन विस्तारको कार्य सम्पन्न भइसकेको आयोजना प्रमुख फणिन्द्र जोशीले जानकारी दिए।

निर्माण सम्झौता अनुसार गत सन् २०१४ को अप्रिलमा सक्नुपर्ने आयोजना ६० मेगावाटबाट ९० मेगावाट बनाउने कि नबनाउने भन्ने विवादमा परेर लम्बिएको थियो। आयोजनामा हाल दैनिक १५० चिनिया र १५० नेपाली कामदार कार्यरत छन्। प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ।

काठमाडौंको मातातीर्थदेखि केन्द्रीय प्रसारण लाइनको स्टेशनस्थलसम्म एक किमी दूरीमा विद्युतीय तार विस्तारको कार्य भूमिगत (अन्डरग्राउण्ड) गरिएको छ।

उक्त प्रसारण लाइनमार्फत् नुवाकोट र रसुवाका दुई जिल्लामा निर्माणाधीन रसुवागढी, साञ्जेन, तल्लो साञ्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’मध्ये त्रिशूली–गङ्गासहित तादी र त्रिशूली करिडोरका सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणको योजना छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.