सेनाको कल्याणकारी योजना

सेनाको कल्याणकारी योजना

सैनिकहरूको रगत–पसिनाबाट आर्जित कल्याणकारी योजनाबाट सबै दर्जाका हिताधिकारी लाभान्वित हुनुपर्छ।


‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने आदर्शको जगमा हुर्केबढेको नेपाली सेना राष्ट्रिय एकताको मूल स्तम्भ हो। तसर्थ सेनाको गौरवमय इतिहासको संरक्षण र संवर्द्धन गर्नुपर्छ भन्ने मान्यता राख्ने नेपाली मन र चाहना छ। यदाकदा अर्काेतर्फ सचेत नेपालीबाटै पनि विशेषतः २०६२/६३ को राजनीतिक परिवर्तनपछि संवैधानिक र कानुनी रूपमा नेपाली सेनाले प्राप्त गरेका जिम्मेवारी, सेनाका नियमित क्रियाकलाप, सैनिक कल्याणकारी योजना आदि विषयलाई आवश्यकताभन्दा बढी उचाल्दै विवाद उत्पन्न हुने गरी टीकाटिप्पणी पनि हुने गरेको देखिन्छ।

लोकतन्त्रका सौन्दर्यमध्ये वाक् स्वतन्त्रता महत्त्वपूर्ण पक्ष हो तर आफ्नो वाक् स्वतन्त्रताको प्रयोग गर्दा अन्यको स्वतन्त्रतामा पर्ने असरप्रति पनि हेक्का राख्नु मानव धर्म र कर्तव्यबोधको विषय हो। तसर्थ, राष्ट्रिय सुरक्षा र स्वार्थ संरक्षणको पहरेदारको जिम्मेवारी पाएको नेपाली सेनाको संवेदनशीलताको मूल्यांकन नगरी सत्यतथ्य, सन्दर्भ–प्रसंग तथा उद्देश्य र लक्ष्यको पहिचान नगरी आफ्नै वा अरू कसैको स्वार्थबाट अभिप्रेरित भई चर्चा र टिप्पणी गर्ने प्रचलनलाई ठोकुवाका साथ भन्न सकिन्छ– यो संस्कार राष्ट्र र राष्ट्रवासीको हितविपरीत ठहर्छ।

हामीले बुझ्न जरुरी छ– सेनाको व्यावसायिक दक्षता र भूमिकाबाट सिर्जित प्रतिष्ठाले त्यो संगठनको मात्र नभई समग्र राष्ट्र र नागरिककै साख र सबलता उजागर गर्न टेवा दिन्छ। त्यसैले सेना राष्ट्रको प्रमुख सुरक्षा निकाय भएकाले यसको ऐतिहासिक पृष्ठभूमि तथा संविधान निर्दिष्ट जिम्मेवारीका कारण केही विशिष्ट पहिचान र साखलाई निरन्तर रूपमा जारी राख्नु अपरिहार्य हुन्छ। लामो समय राजनीतिक संक्रमण भोगेको देशले सेनाको गैरराजनीतिक भूमिका, पेसागत व्यावसायिक कौशलता तथा उच्च मनोबल तथा नैतिकता र अन्य सबल पक्षलाई बिर्सिहाल्न पनि हुँदैन।

सेनाबारे जसले जहाँ पनि, जतिबेला अनि जुनसुकै विषयमा पनि लेख्ने, बोल्ने तथा सार्वजनिक चर्चा गर्ने गर्दा यो प्रस्ट बुझ्न सकिन्छ– राष्ट्र केही दुर्वल अवस्थामा छ। सरकार र सेना, सेना र जनता तथा नागरिक समाज, सेना र सञ्चार जगत् अनि सेना र अन्य सुरक्षा निकायबीचका कार्यगत सम्बन्ध, समन्वय तथा सहकार्यलाई संविधान, कानुन र केही परम्परागत मान्यता तथा मुलुकमा आइपरेका वा आइपर्न सक्ने चुनौतीले समेत निर्देशित गरिरहेको हुन्छ र यसका निश्चित सीमा पनि हुन्छन्।

सेनाले आफ्नो गैरराजनीतिक चरित्र, मौलिक मूल्यमान्यता र संस्कार कायम गर्दै पेसेबर, अनुशासित र मर्यादित संगठनका रूपमा जीवित रहनका लागि सक्षम र स्वाभाविक प्रक्रियाबाट नेतृत्व हस्तान्तरण, उच्चस्तरीय संरक्षकत्व र सैनिकहरूको कल्याणकारी कार्यहरूको निरन्तरताजस्ता पक्ष महत्त्वपूर्ण रूपमा रहेको हुन्छ। नेपाल राष्ट्रको निर्माणकै क्रममा नेपाली सेना संगठित भई राष्ट्र निर्माणमा निर्वाह गरेको भूमिकाले यो संगठन गौरव गर्नलायक छ र यो संगठन नेपालकै जेठो संस्था पनि हो। आधुनिक परिवेशमा संगठनमा वा मुलुकमा चुनौती उत्पन्न हुनुले खासै अर्थ राख्दैन। तर त्यस्ता चुनौतीको समयमै पहिचान गरी समाधान गर्न सामथ्र्य हुनुले विशेष अर्थ राख्छ। यसले मुकाबिला गरी चुनौती नियन्त्रण गर्छ। त्यो नै दिगो रहिरहन्छ।

नेपाली सेनाको सांगठनिक दिगोपनमा संगठन बाहिर र भित्र दुवैतर्फबाट चुनौती रहेको इतिहास देखिन्छ। तथापि, यो संगठनले धेरै प्रकारका आरोह र अवरोह पनि पार गरेको छ। यो आधार तथा पृष्ठभूमिमा हुर्केको सेनाले आफ्नो पहिचान कायम गर्दै संवैधानिक जिम्मेवारी बोध र हेक्का रहेसम्म स्वयं सेना संगठन र राष्ट्रको अस्तित्व र स्थायित्वमा गम्भीर धावा बोल्ने हिम्मत कसैले राख्न सक्दैन र हिम्मत गरिहाले पनि विफल हुन्छ। नेपाली सेनाको मौलिक चरित्र भनेको पार्टीगत राजनीतिक प्रभाव र यसको छायाबाट मुक्त, चेन अफ कमान्डको सबल अनुशासनमा आबद्ध, संविधान तथा कानुनको दृढ परिपालक र राष्ट्रिय महत्त्व तथा गौरवका धरोहरको रक्षक भएर रहनु नै हो।

अब नेपाली सेनाको कल्याणकारी कार्यबारे केही चर्चा र दृष्टि राखौं। एउटा पूर्ण व्यावसायिक र कठोर अनुशासनको सीमामा आबद्ध संगठन भएकाले बृहत् रूपमा कार्य क्षेत्रको सम्पादन गर्न कल्याणकारी कार्यहरूको पनि उपयुक्त तवरमा विस्तार हुनु स्वाभाविक हो। यसबारे विश्वव्यापी रूपमा मापदण्ड र मान्यता पनि छन्। सार्क मुलुकलगायत छिमेकी मित्रराष्ट्रका सेनाका मापदण्डलाई पनि हेर्न सकिन्छ। साधन स्रोतको उपलब्धता र आवश्यकताबीच समन्वयको जरुरी पनि छ। सैनिकहरूले पारिवारिक समस्या, झमेला र कमजोरी मनमा बोकेर ब्यारेकमा दत्तचित्त भई राष्ट्र सेवा गर्ने मानसिकता र शारीरिक अवस्था कायम गर्न कठिन हुन्छ। त्यसैले कल्याणकारी योजना र कार्यहरू सञ्चालन गर्नु स्वाभाविक हो। यसबाट सैनिकहरूलाई दत्तचित्त भई पेसेवर हुन टेवा पुग्छ।

यही मान्यतालाई मूर्त रूप दिन नेपाली सेनाले भविष्यका चुनौतीहरूको मूल्यांकन गरी २०३२ सालमा १ करोड २४ लाख १ हजार रुपैयाँबाट सैनिक कल्याणकारी कोषको स्थापना गरी कोषको आकार र सेवा सुविधाका कार्य क्षेत्र बढाउँदै हाल यो रकम झन्डै ४४ अर्ब ५५ करोडभन्दा बढी नै पुगिसकेको बुझिन्छ। कल्याणकारी कोषको मुख्य स्रोतका रूपमा नेपाली सेना शान्ति सेनामा सहभागी हुँदा प्रयोग हुने हातहतियारको मर्मत खर्चवापत प्राप्त हुने रकम र सहभागीको पारिश्रमिकको केही हिस्साबाट सञ्चित हुने रकम र भएको रकमको निक्षेपको ब्याज र केही लाभदायक लगानीबाट आर्जित रकमबाट कोष सञ्चालन र वृद्धिसमेत भइरहेको बुझिन्छ। यो कोषको हिताधिकारी पनि सेनाका सकल दर्जा र तिनका आश्रित परिवार हुनु स्वाभाविक र अपरिहार्य पनि छ। विगतमा निक्षेप राख्ने बैंकको छनोटमा त्रुटि देखिएको र हाल आएर प्रतिस्पर्धाका आधारमा मात्र बैंकहरूलाई निक्षेप राख्न दिने व्यवस्थाका कारण पुराना कमजोरी सच्चिएको र कोषको निक्षेप सुरक्षित रहेको सकारात्मक पक्ष रहेको बुझ्न सकिन्छ।

नेपाली सेना र सैनिकका आश्रित परिवारलाई समेत अवसर र सेवासुविधा प्रदान गर्ने औचित्य र उद्देश्यले आफ्नै योगदानबाट कोषको स्थापना र वृद्धि हुनु प्रशंसनीय त छ नै र राज्यले गरिदिनुपर्ने कार्य सेना आपैmंले व्यवस्था तथा व्यवस्थापन गर्नु उदाहरणीय योगदान पनि छ। यसलाई उच्च मूल्यांकन गर्दै प्रोत्साहित गर्नुपर्ने हुन्छ। यो कोष बृहत् आकारको र बहुउद्देश्यमूलक हुँदै गएकाले यसको व्यवस्थापन पक्ष चुस्त हुनु, कोषको आयव्यय पारदर्शी हुनु, खर्च तथा लगानी उद्देश्यमूलक र मितव्ययी हुनु र हिताधिकारीहरूलाई अधिकतम सेवा र सुविधा उपलब्ध गराउन सक्षम हुनु महत्त्वपूर्ण र आवश्यक विषय छ।

पार्टीगत राजनीतिक प्रभाव र यसको छायाबाट मुक्त, चेन अफ कमान्डको सबल अनुशासनमा आबद्ध, संविधान तथा कानुनको दृढ परिपालक र राष्ट्रिय महत्त्व तथा गौरवका धरोहरको रक्षक भएर रहनु नै नेपाली सेनाको मौलिकता हो।

यदाकदा कल्याणकारी कार्य र योजनाहरूको नकारात्मक टिप्पणी र चर्चा हुनु तथा विषय–प्रसंगलाई बख्य्राएर अर्थ लगाउँदा भ्रम सिर्जना हुने र संगठनको छविमा नकारात्मक सोच उत्पन्न गराउने कसरत हुनु दुःखलाग्दो विषय पनि हो। यसमा दुवै पक्षको मूल्यांकन गर्दा सकारात्मक चर्चा र टिप्पणीहरूले कमजोरी सच्चाउन मद्दत पुग्छ र अर्काे पक्ष भनेको सेनाको सम्बन्धित निर्देशनालय र नेतृत्वले आफैं गम्भीर विचार र होस पु¥याउँदै कार्ययोजना अघि बढाउनु सान्दर्भिक र आवश्यक हुन्छ। त्यसैले कपोलकल्पित भ्रम पैदा गर्ने र कमजोरीलाई आँखा चिम्लिने दुवै प्रवृत्तिबाट कोषलाई घात हुन जान्छ, यसबाट जोगिनुपर्छ।

सैनिक कल्याणकारीको रकम मुख्य रूपमा हिताधिकारीहरूको स्वास्थ्य, शिक्षा, स्वरोजगार, आर्थिक राहतलगायत आवास तथा बिमा व्यवस्थाजस्ता कल्याणकारी कार्यमा खर्च गरिने व्यवस्था देखिएकाले यी मानवीय आवश्यकताका विषय हुन् र यसबाट झन्डै ८ लाख हिताधिकारीलाई फाइदा पुग्नु आफैंमा व्यक्तिगत, पारिवारिक, सामाजिक र राष्ट्रिय दृष्टिकोणबाट समेत उल्लेख्य योगदानका रूपमा रहेको विषय भुल्नु हुँदैन। निक्षेप मौज्दात बैंकमा राख्दा झन्डै वार्षिक ५० करोडको हाराहारीमा ब्याजदर प्राप्त हुने गरेको बुझिएकाले यसबाट राष्ट्रिय राजस्वमा समेत योगदान पुगेको देखिन्छ। निक्षेप रकमलाई बैंकहरूले लगानी गर्ने हुँदा यसबाट राष्ट्रको उद्योग व्यापारमा विस्तार भई रोजगार सिर्जना र पुँजी निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुगिरहेको छ। बैंकहरूको नाफा वृद्धिमा समेत कोषको रकमले योगदान पु¥याएको देखिन्छ। यसैले कल्याणकारी कोषको योगदानलाई कम आकलन गर्न मिल्दैन।

कोषको व्यवस्थापन, सञ्चालन र प्रभावकारितामा भएका र देखिएका कमीकमजोरी हटाउन सेनाको कल्याणकारी निर्देशनालय, सैनिक नेतृत्व र व्यवस्थापन समितिले ध्यान पु¥याउन आवश्यक हुन जान्छ। किनकि, यो रकम सैनिकहरूको रगत–पसिनाबाट आर्जित गरिएको हो र यसको पूर्ण सदुपयोग हुनुपर्छ। सबै दर्जाका हिताधिकारी लाभान्वित हुनुपर्छ। बाहिरी रूपमा हुने चर्चा र हल्ला प्रचारको विषय होइन र बनाउनु हँुदैन। कोषको विद्यमान कानुनी संरचना हेर्दा सैनिक ऐन र नियमावलीअन्तर्गत सञ्चालन भएको र प्रधानमन्त्री स्वयं संरक्षक, रक्षामन्त्री सहसंरक्षक तथा प्रधानसेनापति सञ्चालक एवं व्यवस्थापन समितिको अध्यक्ष रहने व्यवस्थाले यो अति उच्चस्तरबाट संरक्षित र व्यवस्थित भएको पनि देखिन्छ र यो संरचना ओजपूर्ण छ।

कल्याणकारीका कार्यहरू सेना संगठनभित्रको छुट्टै र महत्त्वपूर्ण सैनिक कल्याणकारी निर्देशनालयबाट व्यवस्थापन हुने भएकाले निश्चित प्रणाली, कानुनी आधार, मापदण्ड र मान्यतालाई नजरअन्दाज गर्न नहुने अवस्थाबाट सञ्चालित छ। कोषको अन्तिम लेखा परीक्षण महालेखा परीक्षकबाटै हुने हुँदा नीतिगत स्पष्टता, प्रक्रियागत निरन्तरता, पारदर्शिता र मितव्ययिता उल्लंघन नहुनेतर्पm केन्द्रित रहेको देखिन्छ। यति हुँदाहुँदै पनि कोषको खर्च व्यवस्थापन तथा पारदर्शिता र एकरूपतामा प्रश्न उठ्ने र चर्चा हुने विषयलाई सम्बन्धित निर्देशनालय र स्वयं सैनिक नेतृत्वले गम्भीरतापूर्वक लिई सत्यतथ्य हेर्नु सान्दर्भिक हुन्छ र यसतर्फ सजग भइरहनु पनि जरुरी छ।
सेनाजस्तो संवेदनशील र महत्त्वपूर्ण संगठनको सकल दर्जा र तिनका आश्रित परिवारलाई समेत सेवा–टेवा पुग्ने गरी सञ्चालित कल्याणकारी कोषको बहुआयामिक महत्त्व र आवश्यकता बोध गरी यो कोषलाई अझ प्रभावकारी बनाउन सम्बन्धित सबैको योगदान सही कार्यान्वयन र दृष्टि रहनु जरुरी छ। यो कोषको प्रभावकारी सञ्चालन तथा व्यवस्थापनमा नेपाल सरकारको तर्पmबाट थप योगदानको अपेक्षा हुनु पनि औचित्यपूर्ण विषय छ। कल्याणकारी योजनाको प्रभावकारिताले सेनाको व्यावसायिकता बढाउन र संगठन स्वस्थ राख्न मद्दत पुग्नेमा दुईमत छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.