चारदिने अछूत पीडा
सधैं झैं आज पनि बिहानै भान्सामा गएर चिया पकाउन सकिनँ। भान्साको ढोकानजिकै गएँ र एक मनले सोधें, ‘भान्साका सामान, फिल्टरहरू छोइदिन्छु।’ तर मनले मानेन। चोटामा ठूलीआमा पूजा गर्दै हुनुहुन्थ्यो। ठूलीआमा सोच्दै हुनुहुन्थ्यो– छोरीले चिया ल्याउँछे।
म निराश मुद्रामा आफ्नो कोठामा पुगेर ओछ्यानमा पल्टिएँ। ठूलीआमाले आएर कराउनुभयो, ‘किन आज तँ नउठेकी ? ’ मैले विस्तारै भनें, ‘म आज भान्सामा जान्न।’ किनकि समाजले त्यही सिकाएको थियो मलाई। ‘त्यसो भए अब आँगन बढार्, गाईलाई घाँस काट्’, ठूलीआमाले अह्राएअनुसार काम गर्न म आँगनतिर ओर्लिएँ, तर रजस्वला हुँुदाको मभित्रको पीडा कसैले बुझ्दैनथ्यो। महिनावारी आफैंमा संवेदनशील अवस्था हो। यस्तो बेला महिलाले यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। किनकि महिनावारी भएको बेला पाठेघरको भित्री तह टुक्रिएर रगतसँगै योनि मार्गबाट बाहिर निष्कासन हुन्छ। त्यो रगत लुगा र खुट्टामा लाग्न नदिन प्याड वा कपडा प्रयोग गर्ने गरिन्छ। यस्तो अवस्थामा पाठेघरको मुख अलिकति खुकुलो हुने भएकाले सरसफाइमा ध्यान पुर्याउनुपर्छ। प्रयोग गरेका प्याड वा कपडा सफा भएन भने त्यसबाटै संक्रमण हुन सक्छ।
चिकित्सकले महिलालाई यस्तो सल्लाह दिइरहँदा के हाम्रो समाजले त्यसलाई मान्यता देला ? ग्रामीण परिवेशमा प्याड प्रयोगबारे खुलेर कुरा नगर्ने र सही तरिका नअपनाउने गरेको देख्न सकिन्छ। प्याड वैज्ञानिक तरिकाले उत्पादन गरिएकाले स्वास्थ्यको दृष्टिले उपयुक्त हुन्छन्। तर सधैं व्यावहारिक र सबैको पहुँचमा नहुन पनि सक्छ। खासगरी ग्रामीण भेगमा प्याड कहाँ पाइन्छ भन्नेसम्म थाहा हुँदैन कतिपय महिलालाई। धेरै महिलाले पुराना कपडाका टाला प्रयोग गर्छन्। कतिपय महिला भन्छन्, ‘प्याड किन्न भन्दा पनि राख्न र फाल्न गाह्रो हुन्छ।’
एक्काइसौं शताब्दीमा पनि हाम्रो समाजमा महिनावारीबारे अनेक भ्रम र अन्धविश्वास छन्, ‘महिनावारी भएको बेला नुहाउन हुँदैन। गाईलाई छुनु हुँदैन, ऐना हेर्नु हुँदैन। रुख, बिरुवा छुनु हुँदैन। भान्सामा जानु हुँदैन र पूजा गर्न मिल्दैन। जनाई लगाएको मान्छे छुनु हुँदैन।’ तर महिनावारीबारेमा समाजले सिकाउन सकेको छैन, ‘महिलाको शरीर निकै कमजोर हुन्छ। यस बेला प्रशस्त ताजा र पौष्टिक खाना खानुपर्छ।’ यस्ता गलत मान्यता समाजमा जीवितै छ।
आधुनिक समयमा पनि ‘महिनावारी एक प्राकृतिक नियम हो’ भन्ने सत्य बुझाउने कि त्यही अन्धविश्वासलाई काँध हालेर हिँडिरहने ?
मैले सामाजिक क्षेत्रमा खानेपानी र सरसफाइ जनचेतना अभिवृद्धि गर्दै आएको नाताले मेरो जिम्मेवारी दक्षिण ललितपुरको टाढा ठाउँमा तोकियो। म त्यही गाउँको एक घरमा गएर बसेको बेलामा महिनावारी भयो। मैले यो कुरा घरबेटी आमालाई सुनाएँ, उनले मलाई भनिन्, ‘लौ ऊ त्यहाँ गएर बस्नुस्। यहाँ नजानु त्यहाँ नजानु। हाम्रो त यहाँ त्यस्तो बार्नुपर्छ।’ मैले केही प्रतिक्रिया जनाइनँ। उनले जे भनिन्, त्यसैलाई हस् भनें। बेलुका खाना खाने समय भयो। पर लगेर खाना दिइयो। खाना खाएको ठाउँ पानीले पुच्छ्नु रे। भाडा छुट्टै पर राख्नु रे। चार दिनसम्म खाएको भाँडा बाहिरै राख्नु रे। बसेको ठाउँमा कोही पुरुष आयो उठेर बस्नु रे। भुईंमा सुत्नु रे। लुगा घाम आउने ठाउँमा नसुकाउनु रे।हामी साथीबीच अबदेखि महिनावारी भएको कुरा घरबेटीलाई नभनौं। के हुँदो रहेछ समाजसँग लडौं भन्ने सल्लाह गर्यौं। अर्को महिनावारीमा केही भनिएन। तर पूजाकोठा, हजुरबुवा र हजुरआमाले खाने ठाउँमा गएनौं। अन्यत्र खासै चासो दिएनौं। एक दिन घरबेटी आमाले सोधिन्, ‘अचेल त केही भन्नु हुन्न त मिसहरू।’ हामीले आमालाई काठमाडौं गएका बेला महिनावारी भएका बतायौं।’ तर त्यस्तो कुनै अफसोच भएन।
यो चुनौतीपूर्ण छ– पुरानो संस्कारबाट हुर्किएका आमा दिदीबहिनीबाट यो संस्कार समाप्त पार्ने आवाज निस्कने सम्भावना छैन। हिन्दु र जैन धर्मशास्त्रका कुरा उस्तै रैछन्। उसले महिनावारी भएका महिलाका लागि घरको काम गर्न, सीपको काम गर्न, हाँस्न, नाच्न, शृंगार गर्न दिउँसो सुत्न, धर्मका कुरा गर्न रोक लगाएको रहेछ। महिनावारी भएको पहिलो पहिलो दिन चण्डाल्नी, दोस्रो दिन पद्मिनी, तेस्रो दिन धोबिनी।
धर्मशास्त्र र समाजले ठूलो पाप लाग्छ भन्ने संस्कार हुर्काइदियो। आज समाजका प्रत्येकको मानसपटलमा त्यसले जरा गाड्यो। हामी पनि त्यसकै पछि लाग्यौं। आधुनिक समयमा पनि हामी त्यही अन्धविश्वासलाई काँध हालेर हिँडिरहने कि परिवर्तनका लागि एकजुट हुने ? महिनावारी एक प्राकृतिक नियम हो भन्ने सत्यलाई कहिले मनन गर्ने ?