सरकारले आंतक फैलाएर देशमा द्वन्द्व फैलाउने काम गर्दैछ :पार्टी प्रवक्ता शर्मा
पाल्पा : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली सरकारले प्रेसको शीरमा तरवार राखेर एकतन्त्रीय शासन सत्ता चलाउन खोजेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको कार्यक्रममा बोल्दै पार्टी प्रवक्ता शर्माले ओली सरकार कम्युनिस्ट मुलुक उत्तर कोरिया, भियतनामजस्तै एकतन्त्रीय निरकुंश शासनको दिवा सपना बोकेर प्रेस स्वतन्त्रता, मानवअधिकार, न्यायलयमाथि नियन्त्रण गर्ने अभियान सुरु गरेको उनको आरोप छ।
उनले भने, 'सरकारले प्रेसको शीरमा तरवार झुण्ड्याएर, मानवअधिकार आयोगलाई सरकारको नियन्त्रणमा राखेर देशमा अधिनायक बाद ल्याउने प्रपञ्च सुरु गरेको छ, यो कांग्रेसलाई सह्यै हुने छैन।'
प्रतिपक्षको भूमिका कमजोर भएको प्रति लक्षित गर्दै पार्टी प्रवक्ता शर्माले सडकमा टायर बालेर, नेपाल बन्द हडताल गरेर चक्काजाम गरेर, सत्तापक्ष प्रतिपक्ष भीडन्त नगरी शान्त तरिकाले लोकतान्त्रिक शैलीमा सरकारको काम / भूमिका बारेमा जागरण कार्यक्रममार्फत जानकारी गराउँदै आएको प्रवक्ता शर्माले बताए।
उनले गणतन्त्र नयाँ संविधान ल्याउन नेत्र विक्रम चन्द 'विप्लव'को पनि महत्वपूर्ण भूमिका रहेको भन्दै पञ्चायती शैलीमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउनु लोकतन्त्र विरोधी भएको बताए। एउटा कम्युनिस्टले सिंहदरबारमा र अर्को कम्युनिस्टले गाउँगाउँमा आंतक फैलाएर देशमा द्वन्द्व फैलाउने काम गरेको भन्दै दुवै पक्ष वार्तामा बसेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए।
वाइड वडी, बालुवाटार जग्गा काण्डमा पार्टीका नेता छानविनबाट दोषी देखिएमा पार्टीले खुट्टा नमाइकन कारवाही गर्ने नेता शर्माले बताए। नेकपाले आफ्ना नेता जोगाउन कांग्रेका नेताको नाम बदनाम गराउन मिडियाबाजी गरेको प्रवक्ता शर्माले बताए।
प्रवक्ता शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभई वितरणमुखी भएको उनले बताए। उनले ७० प्रतिशत बजेट चालु खर्चमा र ३० प्रतिशत मात्र बजेट विकास खर्चमा विनियोजन भएको बताए।
यस्तो बजेटले देशको विकास नहुने पार्टी प्रवक्ता शर्माले बताए। सरकारले जनहितभन्दा पनि आफूहित बजेट ल्याएको आरोप लगाउँदै प्रवक्ता शर्माले अहिले बजेटले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको तलब बढाएर आम्दानी बढाएको बताए।
उनले पार्टी बलियो बनाउन कार्यकर्तामा उत्साह उर्जा थप्न, पाटीको भूमिकाबारे जनतासमक्ष जानकारी गराउन जागरण अभियान संचालन गरिएको बताए। उनले जागरण अभियान सकिएपछि नेपाल विद्यार्थी संघको महाधिवेशन गर्ने तयारी रहेको बताए।