प्रदेश–२ को नीति-कार्यक्रममा सत्तापक्षकै सांसद असन्तुष्ट : शब्दजाल मात्रै भयो
जनकपुरधाम : प्रदेश–२ सरकारले प्रदेशसभा बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा सत्तासिन दलका सांसदहरुले नै असन्तुष्टि जनाएका छन् ।
सरकारले हालै पेश गरेको आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम बिगतकै नीति तथा कार्यक्रमको निरन्तरता मात्रै भएको भन्दै सत्तासिन दलका सांसदहरुले आलोचना गरे ।
सत्ताधारी दल राजपाकी सांसद रानी शर्माले नीति तथा कार्यक्रममा आफ्नो चित्त नबुझेको बताइन् । उनले भनिन्, ‘महिलाहरुको हक हितका लागि छुट्टै महिला बोर्ड गठन गर्नुपर्नेमा त्यस्ता विशेष प्याकेज राखिएको छैन ।’
राजपाका अर्का सांसद मनिष सुमनले नीति तथा कार्यक्रम शब्दजालसँग खेलिएको मात्रै भएको भनी आलोचना गरे । ‘उद्योगपतिहरुलाई आकर्षण र सुरक्षा दिने खालको नीति सरकारले ल्याउन सकेन, बेटी पढाऊ, बेटी बचाऊ, स्वच्छता अभियान, शहिद परिवारलाई रोजगार दिने जस्ता कार्यक्रमम विगतकै निरन्ता देखियो,’ उनले भने, ‘गरिँदैछ, गरिँदै जानेछ जस्ता महत्वकांक्षी भाषणमा नीति ल्याइयो, वितरणमुखी नीति तथा कार्यक्रम आएको छैन ।’ बजेट अपूर्ण भएको उनको तर्क थियो ।
नेकपाका धनुषा जिल्ला प्रदेश सभासदस्य रामचन्द्र मण्डलले पनि नीति तथा कार्यक्रममा शहिदका परिवारलाई सरकारले प्राथमिकता नदिएको भन्दै टिप्पणी गरेका थिए ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले गर्न खोजेका र गर्नसक्ने योजनाको नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताए । साथै आफ्ना योजना वस्तुपरक नै भएको दावी गरे ।