भक्तपुरमा जग्गा कब्जा गरेको विप्लवको दाबी

भक्तपुरमा जग्गा कब्जा गरेको विप्लवको दाबी

भक्तपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा सोमबार कब्जा गरेको छ।

नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नपा ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको उक्त जग्गा कब्जा गरेको हो। चाँगुनारायण नपा २ कित्ता नम्बर १७९८ रहेको उक्त जग्गाको क्षेत्रफल एक रोपनी एक दाम रहेको छ।

परिषद्ले जग्गामा नेकपाको झण्डा गाडेर कब्जा गरेको बताएको हो। नेकपाको झण्डासँगै ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन। अन्यथा जनपरिषद्ले कडा कारबाही गर्नेछ’ लेखिएको ब्यानरसमेत गाडिएको छ। ब्यानरसँगै जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको जेठ २० गतेको प्रेस विज्ञप्तिसमेत टाँसिएको छ।

उक्त प्रेस विज्ञप्तिमा उक्त जग्गा कब्जा गरिएको उल्लेख गरिएको छ। कब्जा गरिएको उक्त जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिने चेतावनी दिइएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छः

यस भक्तपुर जिल्लाअन्तर्गत चाँगुनारायण नपा वडा नं. २ स्थित दुवाकोटमा कथित भूमाफियाहरूले अनपढ एकल महिलालाई अनेक प्रलोभन तथा दबाब दिई आफ्नै छोराहरूलाई सुकुमबासी बनाएपछि छोराहरूले राज्यका विभिन्न निकायमा न्यायको लागि जाँदा कहींकतैबाट पनि न्याय नपाएपछि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी भक्तपुर जिल्ला जनपरिषद्को कार्यालयमा निवेदन पर्न आएकोमा हाम्रो जनपरिषद्बाट सो स्थानमा गई त्यहाँका समाजसेवी, बुद्धिजीवी र भद्रभलादमीहरूसँगको छलफलमा पीडित निवेदकहरू कथित भूमाफियाबाट पीडित भएको प्रमाणित भएको हुँदा आजको मितिबाट यो कित्ता नं. १७९७ को १–०–१–० जग्गा हाम्रो पार्टीको जिल्ला जनपरिषद्को कब्जामा रहेको सम्पूर्ण जनमानसमा सहर्ष जानकारी गराउँदछौं। यदि यो जग्गालाई पैसा र पहुँचको आधारमा चलखेल गरेमा कडाभन्दा कडा कारबाही गरिनेछ।

परिषद्का कार्यकर्ताले जग्गा कब्जा गरेपछि जग्गाधनी चन्द्रमायाको घरसम्म पुगेर पत्र दिएका थिए। जग्गाधनी चन्द्रमायाका श्रीमान् पुण्यराम सुवालले सोमबार दिउँसो दुई जना आएर पत्र दिएको जानकारी दिए। नेकपाले दिएको खामबन्दी पत्रमा जग्गा कब्जा गरिएको प्रेस विज्ञप्ति रहेको थियो।

उक्त पत्र हात लागेको केही घन्टापछि फोन गरेर प्रहरीकहाँ नजान धम्की दिएको पुण्यराम बताए।

‘दुई जना आएर खामबन्दी गरेको पत्र दिएर गएको केही घन्टापछि फोन गरेर ‘प्रहरीकहाँ नजानू, गए राम्रो हुन्न। सजायको हकदार आफैं हुन्छ’ भनेर धम्की दिए’, उनले भने।

उनका अनुसार जग्गासम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्था छ। सोहीअनुसार आफूहरू चुप लागेको बसेको उनले सुनाए।

तर मंगलबार दिउँसो एक्कासी महानगरीय प्रहरी परिसर भक्तपुरले जग्गाधनीहरूलाई बोलाए। उनीहरूले जग्गा कब्जासम्बन्धी सबै केराकार गरे। परिसरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जग्गा कब्जासम्बन्धी सोधपुछ गरेको अर्का जग्गाधनी निर्मलाका श्रीमान सुन्दर पुरीले जानकारी दिए।

उनका अनुसार कानुनी रुपमा मुद्दा विचाराधीन भए पनि जग्गा आफूहरूकै भएकोबारे प्रहरीलाई जानकारी दिइएको थियो।

यसलगत्तै प्रहरीले जग्गा कब्जा भनी राखिएको नेकपाका झण्डा र ब्यानर हटाइएको छ। भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक प्रधानले कसैले भन्दैमा वा लेखेर राख्दैमा व्यक्तिको जग्गा कब्जा नहुने बताए।

‘लेखेर राख्दैमा कसरी कब्जा हुन्छ ?’, उनले भने, ‘जग्गासम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेको छ। अदालतले निर्णय गरेपछि जसको हुन्छ। उसको जग्गामा अरु कसैको हस्तक्षेप हुनबाट प्रहरीले रोक्छ।’

भक्तपुरको चाँगुनारायण नपा २ दुवाकोट स्थित जग्गा नेकपाले कब्जा गरेको भनी निकालिएको प्रेस विज्ञप्ति। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.