बदलिँदै ‘बालीघरे प्रथा’

बदलिँदै ‘बालीघरे प्रथा’

बागलुङ : जिल्लाका ग्रामीण क्षेत्रमा विद्यमान बालीघरे प्रथाको स्वरुप बदलिन थालेको छ।

पहिले वर्षभर काम गरेर धान, गहुँ, मकै, कोदो, आलु लगायतका अन्नबाली लिँदै आएकोमा अहिले नगद पैसा बुझ्न थालेका छन्।

४० वर्षदेखि बालीघरे प्रथामा काम गर्दै आएका जैमिनी नगरपालिका–२ दमेकका ६२ वर्षीय लीलबहादुर परियारले बालीघरे प्रथा छाडेर नगदमा काम गर्न थालेको बताए। बालीघरेको रुपमा काम गर्नेमा कपडा सिलाउने, फलामको काम गर्ने र गाउँघरमा सूचना दिने कटुवाल छन्।

‘बालीघरे प्रथामा जीविकाका लागि बाध्यताले अहिलेसम्म काम गरियो,’ परियारले भने, ‘यो छोडेर नगद पैसामै काम गर्दा सम्मान पनि भएको अनुभव हुँदोरहेछ, अहिले दिनभर काम गरे पाँच सय रुपैयाँ लिने गरेको छु।’

परियार अझै पनि गाउँलेको घरघरमा पुगी कपडा सिलाउदैँ आएका छन्। पहिले झण्डै २ सय घरधुरीमा बालीघरे गर्ने विकले अहिले जम्मा १० घरमा मात्रै बालीघरेको काम गर्दै आएको छन्।

‘आर्थिक अवस्था कमजोर भएका कारण बालिघरे प्रथा चटक्क छोड्न सक्ने अवस्था छैन,’ परियार भन्छन्, ‘ बाउबाजेका पालामा खान दिने भाडामा अहिले पनि बाहिरै बसेर खाएर काम गर्नुपर्ने अवस्था छ, विभेदको शैली र स्वरुप फेरिएको छ।’ बालीघरेको रुपमा काम गर्दा बढी हेपिएको महुसुस गरेकाले पछिल्ला दिनमा नगद पैसा नै लिन थालेको उनी बताउँछन्।

कपडा सिलाएर, फलाम पिटेर मात्रै घरपरिवार पाल्नुपर्ने बाध्यता भएकाले बालीघरे प्रथाबाट गुजारा चलाउन कठिन छ। त्यसैले बालीघरे छोडेर सबै काम नगद पैसाबाटै गर्न अधिकाशं आतुर छन्। यद्यपि कतिपय भने परम्परागत रुपमा काम गर्दै आएकाले त्यसलाई नछोड्ने बताउँछन्।

पर्वतको पाङ—७ मा पुर्ख्यौली घर भएका बोमबहादुर विकले फलामको कुटो, कोदालो, फरुवा, हँसिया, बञ्चरो लगायतका घरेलु प्रयोगका सामान बनाएर नगद पैसामै बेच्छन्। ५८ वर्षीय विकले बालीघरे छोडेर काम गर्दा दैनिक दुई हजार देखि पच्चीस सय रुपैयाँसम्म कमाउने गरेको अनुभव सुनाउछन्।

‘घर घडेरी जोड्न नसके पनि परिवारको सबै आवश्कता पूरा गर्न सकेको छु’, उनले थपे, ‘यसमा बालीघरेमा जस्तो अपमानबोध पनि छैन, आत्मसम्मान मिलेको महुसुस भएको छ।

बालीघरे प्रथाका कारण जातीय विभेद संस्थागत भएकाले यसको अन्त्य गर्नुपर्नेमा पनि जिल्लाका कतिपय स्थानीय सरकार र दलित अधिकारकर्मीले जोड दिएका छन्। जिल्लाको काठेखोला गाउँपालिकाले आगामी पुस मसान्त भित्र बालिघरे प्रथा अन्त्य गर्ने घोषणा गरेको छ।

गाउँपालिकाभित्र आरन, सिलाई कटाई पेशा अँगालेर बालीघरेका रुपमा काम गरेका सबैलाई सामूहिक सचेतना, व्यवसायिक तालिम समेत प्रदान गरिएको छ। ‘बालीघरेका रुपमा काम गरेका सबैको भेलाबाट अबको सात महिनामा बालीघरे प्रथा अन्त्य गर्ने हाम्रो प्रयास हो,’ काठेखोला गाउँ कार्यपालिका सदस्य टिकासंगम बिकले भने, ‘पहिलो चरणको सचेतनामूलक कार्यक्रम सकेर अहिले थप नयाँ सीप, पेशालाई व्यवसायिक रुपमा अघि बढाउन व्यवसायिक आरन सुधार सम्बन्धि पाँच दिने तालिम सञ्चालन गरिएको छ।’

बालीघरेका रुपमा काम गर्ने पुरानो पुस्ताका बढी छन्। नयाँ पुस्ता भने सिलाई र फलाम सम्बन्धि दुवै काम गरे पनि बालीघरेका रुपमा काम गर्न इच्छुक देखिदैनन्। गाउँघरमा विद्यमान जातीय विभेद अन्त्यका लागि पनि बालीघरे प्रथा अन्त्य गर्न जरुरी भएको कार्यपालिका सदस्य तथा दलित अधिकारकर्मी विक बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.