नियत राम्रो नहुँदा विभेद उस्तै : मुख्यमन्त्री राउत

नियत राम्रो नहुँदा विभेद उस्तै : मुख्यमन्त्री राउत

जनकपुर : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दलितका पक्षमा नीति बनाउनेको नियत राम्रो नहुँदा विभेद कायमै रहेको बताएका छन्। 

    
छुवाछुत मुक्त राष्ट्र घोषणाको सन्दर्भमा धनुषाको जनकपुरमा मंगलबार आयोजित दुई दिने प्रदेश स्तरीय दलित अगुवाको भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले दलितको पक्षमा नीति बनाउनेको नियत सफा नरहेकाले दलितसहित मुस्लिम, जनजातिमाथिको विभेद र उत्पीडन कायम रहेको बताएका हुन्।

‘परिवर्तनका लागि भएका हरेक आन्दोलनमा दलितको हिस्सेदारी रह्यो’, मुख्यमन्त्री राउतले भने,‘दलितको पक्षमा बनाइएका नीति कार्यान्वयन गर्ने ठाउँमा बसेकाको बद्नियतको कारणले दलितको अवस्थामाथि उठ्न सकेको छैन।’

शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत अधिकारबाट बञ्चित दलितको मत प्रदेश २ मा निर्णायक भए पनि सबैभन्दा अविश्वसनीय र बिकाऊ मतको रुपमा नेताले हेर्ने गरेको उनको कथन थियो। ‘त्यही कारणले राज्यको विभिन्न ठाउँमा दलितको हिस्सेदारी हुन पाएको छैन्। दलित सधैं उपेक्षित हुँदै आएको छ,’ उनले भने, ‘यसको गम्भीर समीक्षा र मूल्याङ्कन नगरे समस्या ज्यूँका त्यूँ रहने छन्।’

प्रदेश सरकारले दलितको समग्र विकासका लागि प्रदेश संसद्मा दलित सशक्तिकरण विधेयक विचाराधीन रहेको चर्चा गर्दै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि दलितको शिक्षा, स्वास्थ्य, रोजगारीसँगै राज्यको हरेक क्षेत्रमा समानुपातिक सहभागिता बढ्ने उल्लेख गरे। 

मुख्यमन्त्री राउतले प्रदेश सरकारले ल्याउन लागेको प्रदेश लोकसेवा आयोग विधेयक पारित भएपछि हरेक ठाउँमा महिलाको ५० प्रतिशत हिस्सेदारी हुने बताए। ‘त्यसपछि हरेक महिला प्रहरी अधिकृत, कार्यालय प्रमुख महिला हुनेछन्,’ उनले भने, ‘त्यसका लागि प्रदेश सरकारले छोरीलाई विशेष प्राथमिकतामा राखेको छ।’

मुख्यमन्त्री राउतले विधेय पारित भएपछि प्रदेश सरकारले सामुदायिक विद्यालयमा पढ्ने हरेक छोरीलाई खाने, बस्नेसहित पूर्ण छात्रवृत्तिमा पढाउने व्यवस्था गर्ने उल्लेख गरे। ‘आगामी बजेटमा कक्षा १ देखि ८ कक्षासम्म पढ्ने दलित र मुस्लिम छोरीलाई मासिक पाँच सय रुपैयाँ दिने व्यवस्था गर्नेछौँ’, उनले भने। 
    
दलितको सवालमा काम गरिरहेका सामाजिक संघ संस्थाको सहकार्यमा भएको प्रदेश स्तरीय दलित अगुवा भेलाले दलित अधिकार प्राप्तिका लागि लड्न प्रदेश स्तरीय दलित सञ्जाल गठन गरिने दलित अगुवा विनोदकुमार विसुन्केले जानकारी दिए। सञ्जाल गठनसँगै भेलाले प्रदेश स्तरीय दलित आन्दोलनको कार्ययोजना निर्माण गरी बुधबार सामापन गरिनेछ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.