विद्यार्थीलाई पढाइभन्दा यार्सा प्यारो
जाजरकोट : वीरेन्द्र हिमालय मावि तल्लुमा कक्षा ९ मा अध्यनरत छात्र रामबहादुर बस्नेत जेठको पहिलो साता यार्सागुम्बा खोज्न डोल्पातिर लागे। उनलाई पढाइ भन्दा वर्षभरीको पढाइ र घरखर्च कसरी जुटाउने पीरलो छ। त्यसैले नै उनी विद्यालयको पढाइ छाडेर यार्सा टिप्न पाटनतर्फ लागे। पहिलोपटक ७ कक्षामा पढ्नेबेला यार्सा खोज्न डोल्पा गएका उनी त्यसपछि लगातार यार्सा खोज्न जाने गरेका छन्।
खर्च कटाएर ५० हजारदेखि एक लाख रुपैयाँसम्म बचत गर्न सकिने बताउँछन्। उनी मात्र होईन सोही विद्यालयका ७ कक्षादेखि माथिका धेरैजसो विद्यार्थी यार्सा खोज्न पढाइ छाडेर डोल्पाका पाटनतिर लागेका छन्। विद्यार्थीहरु यार्सागुम्बा खोज्न डोल्पाका पाटनतिर हिँडेपछि पूर्वी जाजरकोटका विद्यालयमा विद्यार्थी संख्या निकै घटेको छ।
वर्षभरीको पढाइ तथा घरखर्च जुटाउन विद्यार्थी यार्सा खोज्न पाटनतिर हिँडेपछि विद्यालयमा पढाइ पनि प्रभावित भएको छ। अहिले तल्लो कक्षाका भन्दा माथिल्लो कक्षाका विद्यार्थी विद्यालयमा भेटाउनै मुस्किल हुने गरेको छ। विद्यार्थी लेकतर्फ लागेपछि शिक्षकहरु पनि विद्यालयमा आएर हाजिर गरेर फर्कने गरेको नलगाड १० रोलीका नरबहादुर ध्यारले बताए।
वर्षेनी यार्सा सिजनमा जिल्लाका पूर्वी र उत्तरी क्षेत्रका विद्यालयको दुई महिना पठनपाठन अवरुद्ध हुने गरेको छ। गरिबीको कारण पढाइ खर्चको जोहो गर्न विद्यार्थीे यार्सा खोज्न जाने गरेको नलगाड नगरपालिका शिक्षा शाखा प्रमुख बलवीर विकले बताए।
यार्सा प्रभावित क्षेत्रका विद्यार्थीलाई यार्सा खोज्न जान नदिई नियमित पठनपाठन गर्न कडा निर्देशन दिँदा पनि विद्यालय नै खाली हुने गरी विद्यार्थी लेकतिर लागेको उनको भनाइ छ। नलगाड नगरपालिकाका ७२ सामुदायिक विद्यालयमध्ये २४ बढी विद्यालय अहिले सुनसान छन्।
जनविकास आधारभुत विद्यालय नलगाड नगरपालिका १० रावतगाउँका प्रधानाध्यापक शेरबहादुर थापा भन्छन्, ‘हामीले यसअघि पटक–पटक बालबालिकालाई पाटन नलैजान अभिभावकलाई आग्रह ग¥यौं, तर कसैले मानेनन्। यसले गर्दा वर्सेनी बालबालिकाको शिक्षामा असर पर्ने गरेको छ।’ बारेकोट गाउँपालिकाको सक्ला, नायकवाडा, रोकायगाउँ, रामीडाडाँ तथा नलगाड नगरपालिकाको लहँ भगवती, रग्दा, खगेनकोट लगायतका विद्यालयका विद्यार्थी यार्सा खोज्न डोल्पातर्फ लागेका छन्।