सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय
ओखलढुंगा : बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकले चन्दा उठाएर ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ८ को चम्पादेवी माद्यमिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गरेका छन् । पुस्तकालय ओखलढुंगा जिल्ला समाज युकेका संयोजक कृष्ण गुरुङ र गैह्र आवासीय नेपाली संघ पब्लिक पुस्तकालयका अन्तर्राष्ट्रिय सदस्य शिवजी श्रेष्ठको समन्वयमा स्थापना गरिएको हो ।
ओखलढुंगा जिल्ला समाज युकेमार्फत ३ लाख रुपैयाँ लागतमा विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याइएको छ । विद्यार्थीहरुलाई खोज तथा अध्ययनमा सहज बनाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा ४ वटा कम्प्युटर र एउटा प्रोजेक्टर मार्फत् विद्यार्थीलाई खोज तथा अध्ययनको व्यवस्था मिलाइएको संयोजक कृष्ण गुरुङले बताए ।
विद्युतीय पुस्तकालयको प्राविधिक व्यवस्थापन नेपाल लाइब्रेरी फाउण्डेशनले गरेको छ । अफलाइन सिस्टमबाट चल्ने पुस्तकालयमा सबै उमेर समूहका ७ हजार विभिन्न विषयका पुस्तक, ५ हजार भिडियो, अडियो, एनिमेशन, पाठ्यपुस्तकका क्रियाकलापलगायतका शैक्षिक सामग्री उपलब्ध रहेको नेपाल लाइब्रेरी फाउण्डेसन ई लाइब्रेरी इकाइ प्रमुख वसन्त श्रेष्ठले जानकारी दिए ।
निजी स्रोतबाट सञ्चालित १९६ विद्यार्थी रहेको सो विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना भएपछि विद्यार्थीहरु खुसी भएका छन् । पुस्तकालयका कारण विद्यालयको शैक्षिक उपलब्धिमा सुधार आउने विद्यालयका प्रधानाध्यापक प्रेमकुमार केसीको भनाइ छ । ओखलढुंगामा यो सहित हालसम्म ३ वटा सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना भएका छन् ।