गुँड बनाउने तोप चराको गज्जब कला (फोटो फिचर)
काठमाडौँ : कीर्तिपुरको भत्केपाटीमा रहेका यी गुँड निकै आकर्षक छन्। कला र मेहनत मिलाएर बनाइएका यी गुँडहरु तोप चराका हुन्। गुँड बनाउने आकर्षक कलाले गर्दा तोप चरालाई इन्जिनियर चरा पनि भनिन्छ।
रुखमा झुन्डिएर हावाका झोक्कासँगै हल्लिरहेका यी गुँड तोप चराका भालेले बनाएका हुन्। उनीहरुले पोथीलाई लोभ्याउन घाँसपात जम्मा गरेर सकेजति राम्रा गुँड बनाउँछन्।
प्रजननको समयमा तोप चरा विभिन्न ठाउँबाट काठमाडौँ आउँछन्। भालेले पोथी फकाउन निकै मेहनतले गुँड बनाउँछन्। पोथी आफूलाई मन परेको गुँड छानेर बस्छन्। त्यही गुँडमा फूल पार्छन्।
पोथीले गुँड मन नपराए तोप चराका भालेले पुन: नयाँ गुँड बनाउँछ। फेरि पोथी फकाउने प्रयास गर्छ। आफ्नो प्रजनन अवधि सकिएपछि यिनीहरु काठमाडौँबाट फर्कन्छन्।