कहिले पुग्ला चान्जामा सडक ?

कहिले पुग्ला चान्जामा सडक ?

चान्जा(प्यूठान) : प्यूठान नगपालिका ५ स्थित जुम्रिकाँढाको ठूलोगाउँबाट थोरैमात्र माथि चढेपछि चान्जाको यात्रा सुरु हुन्छ। ठूलोगाउँबाट करिव साढे तीन किलोमिटर यात्रा पार गरेपछि पुग्न सकिने चान्जा गाउँ नगरपालिकाकै सबैभन्दा दुर्गम क्षेत्र हो। 

यहाँ न सडक पुगेको छ, नत बिजुली, पानी। भरपर्दो संचारसमेत छैन्। विकासका सबै सूचकले ओझेलमा परेको यस गाउँका नागरिकले नगरपालिकाले तय गरेको कर बुझाउछन्। नुनतेल र चामल लिनका लागि बजार पुग्ने बाटो छैन्। जताततै हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँले आफँै कस्सिएर जसोतसो पैदल हिँड्ने गोरेटो बाटो बनाए। 

गोरेटो बनाउदा गाउँलेहरु रातभर जंगलमै जाग्राम बस्नुपर्‍यो। उनीहरुले साढे तीन किलोमिटर गोरेटो बाटो कुटो, कोदालो लगाएर बनाए। गाउँसम्म पुग्न पुरै जंगलको बाटो हिड्नुपर्ने उक्त गोरेटोमा यहाँका नागरीक ‘भगवान भरोसा’ मा यात्रा गर्ने गर्छन्।

अप्ठ्यारो भीर। साँघुरो गोरेटो बाटोमा केही यूवा मोटरसाइकलमै यात्रा गर्छन्। वृद्धवृद्धा हिँडेर बजार पुग्न सक्दैनन्। बिरामी हुँदा अस्पताल पुग्ने उपाय छैन्। जीवनलाई जोखिममा राखेर भीरको अप्ठ्यारो बाटोमा ओहोरदोहोर गर्न स्थानीय वर्षौदेखि बाध्य छन्। 

चान्जामा २५ घरधुरी छन्। नुनतेलको जोहो गर्न घन्टौँ जंगलकै बाटो हिड्नुपर्छ। ‘नगरबासी हौँ भन्दा आत्मग्लानी हुन्छ’,स्थानीय सामाजिक अगुवा किमबहादुर जिसीले भने,‘विकासको कुनै पूर्वाधार छैनन्। कष्टकर जीवन बिताउनु परेको छ। तर, नगरपालिकाले तोकेको कर गाउँलेले बुझाइरहेका छन्।’ 

चान्जामा चार कक्षादेखि माथिसम्म पढ्ने विद्यालय छैनन्। कुटानीपिसानीका लागि जुम्रिकाँढा वा छिमेकी रोल्पाको लुंग्रि गाउँपालिका सिमगिठामा पुग्नुपर्छ।  पहिलोपटक चान्जा पुगेका विजुवारका स्थानीय विनोद भण्डारीले आफ्नो जीवनकालकै अनुभवमा पहिलो कठिन यात्रा गरेको सुनाए। ‘विजुवारबाट अग्लो क्षेत्रमा भएकाले घुम्न जान मन लाग्यो’,मोटरसाइकलमा यात्रा गरेका उनले भने,‘बीच बाटोमा पुगेपछि यता न उता भयौँ।’ यस गाउँका स्थानीयको कष्टपूर्ण दैनिकी देखेर भावुक बनाएको उनले सुनाए।

के गर्दैछन् जनप्रतिनिधि ? 
निर्वाचित जनप्रतिनिधि चुनिएपछि नगरपालिकाले पहिलो बैठक यही गाउँमा बस्यो। पहिलो बैठकले सबैका घरमा सोलार बत्ती जडान गर्ने निर्णय गर्यो। गाउँलेले जतसोतसो सौर्य उज्यालो त पाए। तर, सोँचे अनुसार बत्ती उपभोग गर्न पाएनन्। आफ्नै जिल्लामा उत्पादन भएको १२ मेगावट क्षमताको झिमरुक जलविद्युत आयोजनाले उनीहरुको जीवनशैलीमा कुनै अर्थ राखेन्। 

‘वडाबाट बजेट विनियोजन गरेर पुग्ने अवस्था छैन्’,वडा अध्यक्ष लछुमन भण्डारीले भने,‘प्रदेश वा संघीय सरकारले नै प्राथमिकतामा योजना पार्नसके विकास गर्न सकिन्थ्यो।’ नगरक्षेत्रकै सबैभन्दा दुर्गम गाउँ भएकाले न्यूनतम विकासका पूर्वाधार पुर्‍याउन चुनौति थपिएको सुनाए। 

यसवर्ष ट्रयाक खुलेको जानकारी गराउँदै नगरप्रमुख अर्जुनकुमार कक्षपतीले आगामी वर्षदेखि प्राथमिकतामा राखेर योजना संचालन हुने जानकारी दिए। तत्कालका लागि पैदल हिड्न पदमार्ग निर्माण भएको उनले बताए। आगामी नीति तथा कार्यक्रम दुर्गम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बनाउने उनको भनाइ छ।

गाउँ छाड्न मान्दैनन् स्थानीय
सिंगो गाउँलालाई नै बस्ती स्थानान्तरण गर्ने सोच नगरपालिकाले बनायो। २५ घरधुरीलाई एकीकृत वस्ती निर्माण गरेर स्थानान्तरण योजना नगरपालिकाको थियो। तर, आफू जन्मेको थातथलो छाड्न नमानेपछि नगरपालिकाले विस्तृत कार्ययोजना बनाउन पाएन्। गाउँ नछाडी गाउँमै विकास ल्याइदिन स्थानीयले जनप्रतिनिधीसँग माग राखेका छन्।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.