मेयर कपको उपाधि वडा नम्बर ५ दशरथचन्दलाई
बैतडी : बैतडीको देहिमाडौंमा सम्पन्न दोश्रो संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका ५ दशरथचन्दले हात पारेको छ।
बुधबार सम्पन्न फाइनलमा दशरथचन्द नगरपालिका २ देहिमाडौंलाई ९ विकेटले पाखा लगाउदै दशरथचन्दले उपाधि रक्षा गरेको हो। उपाधिसँगै दशरथचन्दले ५० हजार पुरस्कार हात पारेको छ भने उपविजेता देहिमाडौंले ३० हजारमा चित्त बुझाएको छ।
निङ्गलाशैनी खेल मैदान देहीमाडौंमा पहिला ब्याटिङ गरेको थियो। देहिमाडौंले रोहित थलालको २६ रनको मद्दतमा ९४ रन बनायो। दशरथचन्दका रविन चन्द र भोज चन्दले दुई–दुई विकेट हात पारे। ९५ रनको सामान्य लक्ष्य दशरथचन्दले ९ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो।
जसमा रविन चन्दले अर्धशतक बनाउदै ५३ रन जोडे। देहिमाडौंका दिपक बोहराले १ विकेट हात पारे। म्यान अफ द म्याच रविन चन्द चुनिए।
प्रतियोगितमा २०१ रन र पाँच विकेट हात पर्ने दिपक बोहरा म्यान अफ द सिरीज भए। उनले ५ हजार नगद र ट्रफी पाए। एक शतकसहित १९९ रन बनाएका दशरथचन्द नगरपालिका १० बाराकोटका डम्बर बुडाल बेस्ट ब्याट्सम्यान भए भने दशरथचन्दका लागि ६ विकेट हात पार्ने भोज चन्द बेस्ट बलर चुनिए। दुवैजनाले दुईदुई हजार नगद हात पारे।
विजेता तथा उपविजेता टोलीलाई नेपाली कांग्रेस बैतडीका पूर्वसभापति शिवराज भट्ट, दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले पुरस्कार वितरण गरे।