पशुपतिमा गुठीको जग्गा ११ हजार रोपनी
काठमाडौं : पशुपतिनाथ मन्दिरको नाममा गुठी संस्थानअन्तर्गत ११ हजार रोपनी जग्गा रहेको तथ्य फेला परेको छ। पाशुपत क्षेत्रभित्र एक सय ९५ गुठी रहेको र सो मातहतमा ११ हजार दुई सय ६१ रोपनी तीन पैसा एक दाम जग्गा रहेको भेटिएको हो।
पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष एवं श्रीपशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन तथा छानविन समितिका संयोजक डा. मिलनकुमार थापाले बुधबार प्रतिवेदन सार्वजनिक गर्दै उक्त तथ्य सार्वजनिक गरेका हुन्। यसअघि पाशुपत क्षेत्रमा गुठीको जग्गा कति थियो भन्ने यकिन कोषलाई नै थिएन।
थापाका अनुसार, गुठी संस्थानले असुलउपर गरी पशुपति क्षेत्रभित्र चलाउनु पर्ने महास्नान लगायतका विभिन्न १९५ वटा गुठीको जग्गा ११ हजार दुई सय ६१ रोपनी तीन पैसा एक दाम जग्गा रहेको भेटिएको हो। पशुपति क्षेत्रभित्र एक सय १९ वटा पाटी, पौवा र सत्तल छन्।
समितिको खोजले कोषमातहतका तीन कार्यालयमा रहेको जग्गाबारे अन्नपूर्ण पोष्टले यसअघि नै समाचार सार्वजनिक गरिसकेको छ। तीन कार्यालय र गुठीको यो गरी कोषको जग्गा १८ हजार तीन सय ४२ रोपनी दुई आना दुई दाम रहेको छ।
कोषले अधिग्रहणबाट एक हजार पाँच सय पाँच रोपनी दुई आना दुई पैसा जग्गा प्राप्त गरेको छ।