गौरीशंकर संरक्षण क्षेत्रमा दुर्लभ हिमचितुवा देखियो
दोलखा : विश्वमै दुर्लभ मानिएको हिमचितुवा दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा फेला परेको पुष्टि भएको छ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले विगु गाउँपालिका-१, लामाबगरको लप्ची उपत्यकामा गरेको क्यामेरा ट्रयापिङ तथा स्थलगत अध्ययनबाट संरक्षण क्षेत्र भित्र हिमचितुवा भएको पुष्टि भएको हो।
बुधवार आयोजनाको मुख्य कार्यालय उत्तरी दोलखाको सिंगटीमा पत्रकार सम्मेलनको गरी गौरीशंकर संरक्षण क्षेत्र भित्र हिमचितुवा भएको जानकारी दिइएको हो। हिउँ चितुवा मध्ये एशिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो।
चीनको तिब्बतसँग सीमा जोडिएको उत्तरी दुर्गम लप्ची उपत्यकाका विभिन्न ११ स्थानमा इन्फ्रारेड सेन्सरयुक्त क्यामेरा जडान गरी ८ महिना अघि थालिएको अनुसन्धानमा हिमचितुवाका तस्बिर खिचिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनारायण शाहले जानकारी दिए।
२०७५ असोजदेखि २०७६ वैशाखसम्म गरिएको अध्ययनले सामुन्द्रिक सतहबाट ४०८७ मिटरमाथि हिमचितुवाका तीनवटा तस्बिर खिचिएको प्रमुख शाहको भनाइ छ। यसअघि रेकर्ड नभएको सुनौलो बिरालोको भिडियो समेत लप्ची उपत्यकामा जडित क्यामेरामा रेकर्ड भएको उनले बताए।
गौरीशंकर संरक्षण क्षेत्रमा हिमचितुवा भए नभएको बारेमा एकिन गर्न विशेष अनुसन्धान भएको हो। अनुसन्धानमा आयोजनाका संरक्षण अधिकृत विष्णुप्रसाद पाण्डे, नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यापक डा. नारायणप्रसाद कोजु, प्राकृतिक स्रोत संरक्षण सहायक शंकरमान थामी र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी विजय बस्यालको समूहले लप्ची उपत्यकामा क्यामेरा ट्रयापिङ तथा स्थलगत अनुसन्धान गरेको थियो।
विश्वप्यापी उष्णताको प्रभाव पनि सो क्षेत्रमा न्यून देखिएकाले वन्यजन्तुका लागि उपयुक्त क्षेत्रको रुपमा लप्ची उपत्यका रहेको उपप्राध्यापक डा. कोजुले बताए। लप्ची उपत्यकामा मासुजन्य पदार्थ पूर्णत बर्जित भएकाले जंगली जनावरको संरक्षणका दृष्टिले उपयुक्त मानिन्छ।
अन्तरराष्ट्रिय संरक्षण संघ (आइयुसीएन)ले दुर्लभ प्रजातिको रुपमा सूचीकृत हिमचितुवाको संख्या विश्वमा १० हजारभन्दा कम भएको अनुमान गरेको थियो।
नेपालमा यसको संख्या तीनसयदेखि पाँचसयसम्म रहेको अनुमान छ। गौरीशंकर संरक्षण क्षेत्र भित्र यसको संख्या ३ देखि ५ सम्म हुन सक्ने अध्ययनमा संलग्नको भनाइ छ। नेपालको कञ्चनजंघा, मकालु वरुण, सगरमाथा, लाङ्टाङ, मनासलु, अन्नपूर्ण, से-फोक्सुन्डो, ढोरपाटन, अपिनाम्पालगायत हिमाली क्षेत्रमा हिमचितुवा भएको रेकर्ड छ।