देश आर्थिक संकटमा फसेपछि पाकिस्तानी सेनाको खर्च कटौती

देश आर्थिक संकटमा फसेपछि पाकिस्तानी सेनाको खर्च कटौती

इस्लामाबाद : पाकिस्तानको सेनाले बुधबार सैन्य खर्चमा कटौतीको घोषणा गरेको छ।

पाकिस्तान आर्थिक संकटबाट गुज्रिइरहेका बेला सेना आगामी आर्थिक वर्षको रक्षा बजेट कटौती गर्न बाध्य भएको छ। सेनाको निर्णयबारे प्रधानमन्त्री इमरान खानले ट्विट गरेर यसबारे जानकारी दिएका हुन्। उनले सेनाको निर्णयको स्वागत गरेका छन्।

उनले सामाजिक सञ्जालमा ‘कैयौं सुरक्षा चुनौतीबीच पनि आर्थिक संकटमा सेनाले खर्च कटौती गर्ने निर्णयको स्वागत गर्छु। यसबाट बचत हुने रकम बलुचिस्तान र कबिला बस्ने क्षेत्रमा खर्च गरिनेछ’ भन्दै ट्विट गरेका छन्।

प्रधानमन्त्री खानको ट्विटपछि सैनिक प्रवक्ता मेजर जनरल आसिफ गफुरले पनि ‘एक वर्ष सेनाले रक्षा बजेट कटौती गर्दा देशको सुरक्षामा कुनै असर पर्दैन। हामी कुनै पनि खतराको प्रभावकारी जवाफ दिनेछौं। बलुचिस्तान र कबाइली क्षेत्रको विकासका लागि यो कदम आवश्यक थियो’ भन्दै ट्विट गरेका छन्।

पाकिस्तान ट्रिब्युन अखबारले अर्थ मन्त्रालयको सूत्र उद्धृत गर्दै आगामी आर्थिक वर्षको अनुमानित रक्षा बजेट १ खर्ब २७ अर्ब पाकिस्तानी रुपैयाँ भएको उल्लेख गरेको छ। यो रकम चालु वर्षको रक्षा बजेटभन्दा १ सय १० अर्ब रुपैयाँ बढी हो। रक्षा बजेटमा पूर्वसैनिकको पेन्सन, रणनीतिक खर्च र विशेष सैन्य प्याकेजअन्तर्गतका खर्च समावेश छन्।

सेना आफैंले रक्षा बजेट कटौती गरे पनि गत फेब्रुअरीमा पाकिस्तानी सरकारले रक्षा बजेटमा कुनै पनि कटौती नगर्ने निर्णय गरेको थियो। ठीक त्यसैबेला भारतले पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोटमा सर्जिकल स्ट्राइक गरेको दाबी गरेको थियो।

कस्को रक्षा बजेट कति ?

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटको प्रतिवेदनअनुसार सन् २०१८ मा पाकिस्तानको कुल सैनिक खर्च ११ अर्ब ४० करोड अमेरिकी डलर थियो। यो पाकिस्तानको कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४ प्रतिशत हो।

सन् २०१८ मा भारतको सैनिक खर्च करिब साढे ६६ अर्ब अमेरिकी डलर थियो। विश्वमा सबैभन्दा बढी रक्षा बजेट अमेरिकाको थियो। उसको रक्षा बजेट गत वषको रक्षा बजेट ६ सय ४९ अर्ब अमेरिकी डलर थियो।

अमेरिकी आर्थिक टेलिभिजन च्यानल ब्लुमबर्गका अनुसार सन् २०१८ मा पाकिस्तानमाथि ९१ अर्ब ८ करोड अमेरिकी डलरबराबर विदेशी ऋण छ। पाकिस्तानको ऋण र जिडिपीको अनुपात (रेसियो) ७० प्रतिशत पुगेको छ।

पाक अर्थतन्त्र अहिले जटिल मोडमा छ। अहिले त्यहाँ विदेशी लगानी भित्रिइरहेको छैन। गत वर्ष जम्मा २ अर्ब ६७ करोड अमेरिकी डलरबराबर मात्र विदेशी लगानी आएको थियो, जबकि उसको चालु खाताको घाटा नै १६ अर्ब अमेरिकी डलर थियो।

त्यसमाथि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आगामी आर्थिक वर्षमा पाकिस्तानमा महँगीको द्यर १४ प्रतिशत रहने अनुमान गरेको छ।

उता प्रधानमन्त्री इमरानका लागि अर्को समस्या पनि थपिएको छ, त्यो हो निरन्तर घट्दै गएको विदेशी मुद्रा सञ्चिति। चुनावी प्रचारप्रसारमा इमरानले आफू कुनै देशसँग ऋण माग्न नजाने बरु आत्महत्या गर्ने भन्ने गरेका थिए।

तर पहिलो विदेश भ्रमणमा नै उनले साउदी अरेबियासँग आर्थिक सहायता मागे। गत महिना मात्र पाक सरकारले ५ वर्षयता पाकिस्तानको विदेशी ऋण ६० अर्ब अमेरिकी डलरबाट ९५ अर्ब डलर पुगेको बताएको थियो।

चिनियाँ ऋणको पासो

द सेन्टर फर ग्लोबल डेभलपमेन्टको प्रतिवेदनअनुसार पाकिस्तान यतिबेला चिनियाँ ऋणको पासोमा पर्ने जोखिम अत्यधिक छ। पाकिस्तानमा चीनले सञ्चालन गरेका परियोजनामा गरेको खर्च ६२ अर्ब अमेरिकी डलर बराबर छ। यी परियोजनामा चिनियाँ ऋण लगानी ८० प्रतिशत छ।

चीनले उच्च ब्याजदरमा पाकिस्तानलाई ऋण दिएको छ। यसले भविष्यमा पाकिस्तानमाथि चिनियाँ ऋणको भारी अझै बढ्ने संकेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.