अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा ट्रम्प प्रशासनको प्रतिबन्ध
वासिङटन : ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युबा भ्रमणमा मंगलवार प्रतिबन्ध लगाएको छ।
अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुंगाबाट हुने क्युबा भ्रमण रोक्का गरिएको जनाएको छ। अमेरिकी यस प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ।
सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबा भ्रमण गरेका थिए। अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो। अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई मद्दत गर्ने गरी खर्च गरिएको जनाएको छ।
क्युबाको सहयोगमा भेनेजुएलाका राष्ट्रपतिले दक्षिण अमेरिकी क्षेत्रलाई अस्थिर बनाउने र मानवीय संकट निम्त्याएको अमेरिकी दाबी छ। क्युबाली सत्तालाई अमेरिकी डलर प्राप्त हुने स्थितिबाट अमेरिकाले रोक्ने हरसम्भव प्रयास गर्ने अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले बताए।
क्युबा सरकारले अमेरिकी कदमको निन्दा गरेको छ। क्युबाका विदेशमन्त्री ब्रुनो रोद्रिगेसले ट्विट गर्दै अमेरिकी कदम पुनः असफल हुने दाबी गरे।
तत्कालीन राष्ट्रपति बाराक ओबामाको शासनकालमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो।
सन् २०१४ मा गरिएको यस व्यवस्थाबाट आधा शताब्दीदेखि जारी अमेरिकी व्यापार नाकाबन्दी केही खुकुलो भएको थियो। यद्यपि अमेरिकी सरकारले लगाउँदैआएका कतिपय प्रतिबन्धले व्यापार सहजीकरण हुन सकेको थिएन।