भेडीगोठबाट करोडौं आम्दानी
बेंसीसहर : लमजुङको लेकमा रहेका भेडीगोठबाट किसान करोडौं आम्दानी लिन सफल भएका छन्। ठाउँठाउँ घुमाएर पालिने भेडीगोठबाट उत्पादन हुने ऊन र मासुबाट मात्रै वार्षिक १० करोड रुपैयाँभन्दा बढी आम्दानी हुने भेटेरेनरी अस्पताल तथा पशु विज्ञ सेवा केन्द्र लमजुङले जानकारी दिएको छ।
लमजुङका तत्कालीन २१ वटा गाविसमा ८१ वटा भेडीगोठ छन्। ती गोठमा २० हजार ५ सयभन्दा बढी भेडाबाख्रा पालिएका छन्। घुम्ती गोठमा पालिएका भेडाबाट मात्रै वार्षिक २ सय मेट्रिकटन मासु उत्पादन हुने गरेको छ।
मासु प्रतिकिलो ५ सयमा बिक्री हुन्छ। भेडाको मासुबाट मात्रै १० करोडभन्दा बढी आम्दानी हुने पशु विज्ञ सेवा केन्द्रका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए। भेडीगोठका भेडाबाट वार्षिक ५ हजार किलो ऊन उत्पादन हुने केन्द्रको तथ्यांक छ। उत्पादित ऊन मध्ये आधाजसो मात्रै बिक्री गर्ने गरिएको छ। ऊनबाट वार्षिक २ लाख ५० हजार आम्दानी हुन्छ।
भेडाको ऊनबाट स्थानीयले राडीपाखी र कपडा बनाएर बिक्री गर्दछन्। यसैगरी भेडीगोठमा मिसाएर पालिएका बाख्राबाट पनि करोडौं आम्दानी हुने गरेको छ। भेडीगोठमा ८ हजारभन्दा बढी बाख्रा भएको केन्द्रले जनाएको छ। कार्यालयका अनुसार घुम्ती भेडीगोठबाट वार्षिक १ सय २० मेट्रिक टन मासु उत्पादन हुने गर्दछ। खसीबोकाको मासुबाट मात्रै ६ करोडभन्दा बढी आम्दानी हुने घिमिरेले बताए। भेडीगोठका किसानले वार्षिक १ करोड ४० लाख नाफा गर्ने गरेका छन्।
फरक–फरक स्थानमा भएका भेडीगोठको गाउँपालिका स्तरमा तथ्यांक राख्न थालिएको छ। जिल्लामा ८ सय ५८ घरले घुम्ती भेडीगोठमा भेडापालन गरेका छन्। यसरी पालिएका भेडा अधिकांश पोखरा, काठमाडांैलगायत क्षेत्रमा बिक्री हुने गरेका छन्। मासुजन्य उपभोगका लागि भेडा र बाख्रा सहरी क्षेत्रमा खपत हुन्छन्।
भेडापालनमा ठूलो सम्भावना भएर पनि अपेक्षाकृत आम्दानी हुन नसकेको केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा.रुपेश श्रेष्ठ बताउँछन्। भौगोलिक विकटता, राज्यको न्यून पहँुच र कमजोर व्यवस्थापनका कारण अपेक्षित आम्दानी हुन नसकेको उनको भनाइ छ।