बालकथा : शोभा र बुधनीको मित्रता
बुधनीको गलामा चाँदीको सिक्री छ अनि खुट्टामा कल्ली। ऊ सन्थाल परिवारकी छोरी। उसको आफ्नै संस्कार छ।
‘म जान्नँ मेला घुम्न, तिमी नै जाऊ’, शोभाले बुधनीलाई भनी। शोभा उमेरमा १२ वर्षकी छ। गोरो वर्ण भएकी ऊ पढाइमा पनि अब्बल नै छे। बुधनीका बाबा छैनन्। परार साल नै रूखबाट खसेर उसको बाबाको मृत्यु भएको थियो। आमाको लालनपालनमा ऊ हुर्कंदै थिई। १२ वर्षकी बुधनी शोभासँग खुब मिल्छे। उनीहरू गाउँका छिमेकी भएकाले ५ र ७ कक्षामा पढ्ने भए पनि घर आउँदा, जाँदा सँगै हिँड्छन्।
एक पटक तराईतिर जताततै मेला लागेको थियो। मानिस नयाँनयाँ लुगा लगाई हाँसेर हिँडिरहेका थिए। सबैजना हाँसेर हिँड्दा कति सुहाएको थियो। बुधनीको गलामा चाँदीको सिक्री छ अनि खुट्टामा कल्ली। ऊ सन्थाल परिवारकी छोरी। उसको आफ्नै संस्कार छ। उक्त मेलामा प्रत्येक वर्ष धेरै मानिस झुम्मिन्छन्। मिठाई र अन्य परिकारले बजार भरिएको हुन्छ।
शोभाले बुधनीलाई भनी, ‘आज मेरो घरमा कोही छैनन्। आमा बिरामी हुनुहुन्छ। तिमी एक्लै जाऊ न है।’ बुधनीको अनुहार अँध्यारो भयो। उसले केही भन्न सकिन। आफ्ना मानिसले देखाउने नाचगान हेर्न उसलाई रमाइलो लाग्थ्यो। आज सन्थाल जातिको आफ्नो परम्परा र संस्कृति देखाउने दिन हो। प्रत्येक वर्ष साथीहरूसँग हातेमालो गरी रमाउने बुधनी यसपालि चाहिँ रमाउन सकेकी छैन।
बुधनीले शोभालाई अझ एक पटक अनुरोध गर्दै भनी, ‘तिमी नगएपछि त मलाई मजा नै आउँदैन। आफ्नै मिल्ने साथी हौ नि तिमी त।’
शोभाले केही निर्णय नै गर्न सकिन। उसले यति मात्र भनी, ‘म आमासँग एक पटक सोध्छु नि त।’
बुधनीको अनुहारमा थोरै चमक देखियो। साथीसँगै मेला घुम्न जाने आशा जाग्यो।
शोभाले आमासँग सोधी, ‘म आज मेला घुम्न जान्छु नि। अनि... चाँडै फर्किहाल्छु। पैसा त मसँग छँदै छ। अस्ति भर्खरै मामाले दिनुभएको।’
आमा ओछ्यानबाट उठ्न सकिनन्। उनी सुतीसुती गहभरि आँसु पार्दै भनिन्, ‘हुन्छ, जाऊ तर चाँडै फर्किहाल है नानी।’
यसपालि निकै लामो समयदेखि शोभाकी आमालाई रोगले थला पारेको छ। उनले औषधि खाइरहे पनि निकै सुक्दै गएकी छन्।
शोभा रमाउँदै बुधनीको घर पुगी। उसले बुधनीलाई भनी, ‘लुगा लगाएर तयार होऊ, म पनि आउँछु।’
बुधनीलाई संसारको सबै खुसी एकै पटक प्राप्त भएजस्तो भयो। उसले टिसर्ट र पेन्ट लगाई। अनि फटाफट चप्पल लगाई, कपालमा रिबन बाँधी।
शोभाले पनि दसैंमा किनेको टिसर्ट र पेन्ट लगाई। खुट्टामा चप्पल लगाई र कपाल कोरी। दुई चुल्ठी बाट्दा ऊ निकै राम्री देखिई। घरबाट मेला पुग्न २० मिनेट समय लाग्थ्यो। आज उनीहरू १५ मिनेटमै मेला लाग्ने ठाउँमा पुगे। मानिसको भीडमा उनीहरू हात समाएर हिँड्दै थिए।
आजको दिन अलि धुम्म परेको थियो। कहिले घाम देखिने र कहिले बादलभित्र लुक्ने गथ्र्याे। बादल र घाम लुकामारी खेलेझैं लाग्थ्यो। शोभा र बुधनीले सन्थाल जातिको गीतसहितको नृत्य हेरे। बाजागाजा, सांस्कृतिक पोसाकले सजिएका उनीहरूले आफ्नै भाषामा गीत गाउँथे। बुधनी यो देखेर निकै रमाउँथी। शोभालाई पनि यो नाच निकै राम्रो लाग्थ्यो। दुवै जना हातेमालो गर्दै मेला घुमे। त्यहाँ उनीहरूले थोरै जेरी, आलुचप र प्याज किने। शोभा घर फर्कन हतार गर्दै थिई। उनीहरूले मेलामा दुई घण्टा बिताए। दिउँसोको ३ः०० बजिसकेको थियो। उनीहरू ३ः३० मा घर फर्किसकेका थिए। बुधनी पनि सँगै शोभाको घर गई।
शोभा सरासर आमा सुतेको ठाउँमा गई। उसले ‘आमा आमा !’ भनेर कराई। तर, आमा बोल्नुभएन। उसले आमालाई हातले छामी। शरीर चिसो भइसकेको थियो। ऊ हातमा बोकेको खानेकुरा फ्याँकेर चिच्याई। बुधनी पनि रुन थाली।
गाउँका मानिस जम्मा भए। शोभाकी आमा बितिसक्नुभएको रहेछ। गाउँलेले शोभा र बुधनी दुवैलाई सम्झाए। बुधनीलाई निकै पछुतो भयो। उसले सोची, ‘मैले शोभालाई मेला लिएर गएकैले उसकी आमाको मृत्यु भएको हो।’