कुपोषण घटाउन गाउँपालिकाको गीत
कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले कुपोषण घटाउन भन्दै चेतनामुलक गीत निकालेको छ । गाउँपालिकामा रहेको कुपोषणको समस्यालाई न्यूनिकरण गर्न जनचेतना जोगाउने उद्देश्यले गीत तयार पारेको गाउँपालिकाले जनाएको छ ।
सब मिली कुपोषण घटाउँ, स्वास्थ्यकर्मी सबै खटौँ, बालमृत्यु दर घटाउँ.... भन्ने बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको हो । पलाँता गाउँपालिकाका स्वस्थ्य सह-संयोजक तथा गायक विनोदकुमार न्यौपानको लय तथा शब्द सिर्जना रहेको उक्त गीतमा विनोदकुमार न्यौपाने र कल्पना बिसीको स्वर रहेको छ । गीतको निर्देशन तथा छायाँकन खकेन्द्र न्यौपाने र लोक गायक छत्र शाहीले गरेका छन् । उक्त म्युजिक भिडियोलाई केपी देवकोटाले सम्पादन गरेका छन् ।
गीतले पलाँताको कुपोषणको समस्यालाई उजागर गरेको छ र यसले कुपोषण हुन नदिनका लागि के गर्ने ? भन्ने विषयमा चेतना दिने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।
गाउँमा हुने सार्वजनिक समारोहमा तथा स्थानीय रेडियोबाट गीत बजाएर प्रचार-प्रसार गरिने अध्यक्ष जानकारी दिए । 'पलाँतामा कुपोषणको समस्या व्यापक छ' बमले भने-'सुनौला हजार दिनका आमाहरूले हरेक बार खाना चार, नियमित स्वास्थ्य परीक्षणजस्ता सवालहरूलाई गीतले उजागर गरिएको छ'
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बमले शीघ्र कुपोषणको समस्या भएका बालबालिकाको परिवारलाई बहुक्षेत्रीय पोषण योजनाबाट विभिन्न सहयोग गर्न सुरु गरिएको जानकारी दिए ।
भिडियो