कपिल देवको उदारताले भारतको हार
सन् १९८७ को विश्वकपमा समूह ‘ए’ को पहिलो खेल भारत र अस्ट्रेलियाबीच मद्रासमा भएको थियो । सो खेलका क्रममा एउटा रोचक घटना भयो । टस हारी अस्ट्रेलियाले ब्याटिङको निम्तो पायो । खेलका क्रममा अस्ट्रेलियाका डिन जोन्सले भारतीय बलर मनिन्दर सिंहको बलमा मिड अफमा बाउन्ड्री प्रहार गरे । बल हावामा उड्दै गएर बाउन्ड्रीका लागि लगाइएको डोरीनजिकै खस्यो । तर, बल छक्का थियो वा चौका भन्नेमा अन्योल सिर्जना भयो ।
त्यतिबेला भारतीय खेलाडी रवि शास्त्री बाउन्ड्रीनजिकै भएकाले उनको भनाइलाई मान्दै अम्पायर डिकी बर्डले चौकाको इशारा गरे । तर, अस्ट्रेलियन ब्याट्सम्यान जोन्सले त्यो बल छक्का भएको अड्डी कसे । त्यसपछि अम्पायरले इनिङ ब्रेकमा यस विषयमा दुवै टोलीका अम्पायरसँग सल्लाह गरेर निर्णय लिइने बताए ।
अस्ट्रेलियाको ब्याटिङ पाली समाप्त भएपछि पनि त्यो बाउन्ड्रीको विषयमा लामो बहस भयो । त्यसपछि भारतका तत्कालीन कप्तान कपिल देव जोन्सको बाउन्ड्रीलाई छक्का मान्न तयार भए । त्यसपछि भारतले जितका लागि हासिल गर्नुपर्ने लक्ष्यमा पनि दुई रन थपेर २७१ पुर्याइयो । अन्ततः कपिल देवको सोही उदारताका कारण उक्त खेलमा भारत एक रनले पराजित हुन पुग्यो । सो विश्वकपको उपाधि पनि अस्ट्रेलियाले नै जित्यो ।