फोहोर व्यवस्थापनमा लापरवाही
स्याङ्जा : जिल्ला अस्पताल स्याङ्जाले फोहोरमैला व्यवस्थापनमा लापरबाही गरेको छ। जसका कारण अस्पताल र त्यस वरपरको वातावरण दुर्गन्धित बन्दै गएको छ। अस्पतालबाट निस्कने फोहोरमैला खुल्ला रुपमा फ्याक्ने गरिएको छ। अस्पतालका फोहोरजन्य पदार्थ र कर्मचारी आवासगृहबाट निस्कने फोहोरमैला अस्पताल नजिकै पाखोमा फालिएको छ।
अस्पतालमा आउने सेवाग्राही, स्वास्थ्यकर्मी, कर्मचारी तथा अस्पतालले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा अस्पताल क्षेत्रका स्थानीयले आक्रोश पोखेका छन्। पुतलीबजार नगरपालिका ३ कुमाल गाउँको केही उचाइ भएको भूभागमा अस्पताल छ। अस्पताल भन्दा तल स्याङ्जाको पुरानो बजार पुतली खेतमा छ। अस्पतालमा जथाभावी फ्याकिएका फोहोर र दुर्घन्ध सोही पुतलीखेतसम्म पुग्ने गर्दछ।
फोहोर जलाउनका लागि प्रयोग गरिँदै आएको इन्सुलेटरको उपयोग भएको देखिँदैन। इन्सुलेटर भरी फोहोरमैला भरिएका छन्। त्यसको सफाइमासमेत अस्पतालले चासो देखाएको छैन। इन्सुलेटर भन्दा करिब २० हात पर अस्पतालबाट निस्कने जति सबै फोहोर खुला रुपमा थुपारिएको छ। फोहोरको दुर्गन्धले अस्पताल लगायत नजिकै रहेको बस्ती, आयुर्वेद अस्पताल र माध्यमिक विद्यालयमासमेत प्रभाव पारेको छ। अस्पतालबाट निस्कने सुइ, शिशा, रगतजन्य बस्तुहरु, प्याड, औषधीका पत्ता, एक्सरे रिपोर्ट, प्लास्टिकका सामग्री, कपास, कपडा, झोल पदार्थ लगायतका सामग्री एकै ठाउँमा थुपारिएका छन्। दैनिक निस्कने फोहोरको व्यवस्थान गर्ने तयारी भइरहेको असप्ताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले जानकारी दिए।
बिरामीका लागि छुट्टै छुट्टै (कुहिने र नकुहिने) फोहोर राख्न डस्टबिन राखिएका छन्। तर अस्पतालले बाहिर ल्याउँदा एकै ठाउँमा फाल्ने गरिएको अस्पताल सहयोगी मंगली कुमालले बताइन्। फोहोरलाई वर्गीकरण गर्ने, पखाल्ने, कुहिने उपयोग गर्ने, नकुहिनेको पनि व्यवस्थापन गर्नुपर्नेमा अस्पतालले झनै फोहोर गरेको आँधीखोला गाउँपालिकाकी संगीता पौडेलले बताइन्।
अस्पतालमा दैनिक औसतमा ३० देखि ५० किलो फोहोर उत्पादन हुन्छ। जसमध्ये एक चौथाइ जति फोहोर मात्र जोखिमयुक्त अर्थात् संक्रमण हुनसक्ने खालका हुन्छन्। अन्य भने अस्पतालले व्यवस्थापन गर्न सक्ने हुन्छ। वातावरण संरक्षण ऐन अनुरुप वातावरणीय मापदण्ड पालना नगर्ने निकायलाई जरिवानासहितको कानुनी कारबाही तोकिएको छ।