प्रधानमन्त्री झनै निरंकुश भए : शेरबहादुर देउवा
भक्तपुर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली आफूमा सबै शक्ति केन्द्रित गरी झन् झन् निरंकुश बन्दै आएको आरोप लगाएका छन् ।
राष्ट्रिय जनजागरण अभियानअन्तर्गत नेपाली कांग्रेस भक्तपुरले शुक्रबार मध्यपुर थिमी नपा–७ नगदेशमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
न्यायपालिका, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, मानव अधिकार आयोगमा हस्तक्षेप गरेर आफू निरंकुश बन्न खोजेको उनको टिप्पणी छ । ‘प्रजातन्त्रको सौन्दर्य स्वतन्त्र न्यायपालिका हो । जसले सरकारलाई नियमन गर्छ । तर ओली सरकारले न्यायपालिकामाथि हस्तक्षेप गरिरहेको छ । सेना राष्ट्रिय हो तर प्रधानमन्त्री ओलीले आफू मातहत ल्याउनु निन्दनीय छ,’ देउवाले भने ।
मुलुक संघीय भए पनि सरकारले केन्द्रीकृत शासन सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
गुठी विधेयक खारेज गर
देउवाले परम्परागत रुपमा चलेका गुठीलाई खारेज गर्ने उद्देश्यले ल्याइएको प्रस्तावित गुठी विधेयक खारेज गर्न पनि माग गरेका छन् ।
‘परम्परागत रुपमा चलेका गुठी खारेज गर्ने उद्देश्यले गुठी विधेयक ल्याउन खोजिएको छ’, सभापति देउवाले भने, ‘यसले भक्तपुर, काठमाडौं र ललितपुरको कला संस्कृति र नेवारी पर्व–परम्परा मास्न खोजेको छ ।’