भैरहवा भन्सारमा ट्रक काण्ड : अख्तियारले थाल्यो अनुसन्धान
भैरहवा : भैरहवा भन्सार नाकाबाट प्रज्ञापन पत्र (भन्सार) विना नै छिराइएको मालवाहक गाडी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले अनुसन्धान थालेको छ ।
अख्तियारले सम्बन्धित निकायहरुमा आधिकारिक पत्र पठाएर घटनाको विवरण माग गरेको हो । घटना राजश्व चुहावटको भए पनि घटनामा कर्मचारीको संग्लनताको विषयमा प्राराम्भिक अनुसन्धान थालिएको अख्तियारको बुटवल कार्यालय प्रमुख तारानाथ अधिकारीले बताए ।
‘घटना राजश्व चुहावटसगँ जोडिएको छ उनले भने तर यस घटनामा कर्मचारीको संग्लनता छ कि छैन भन्ने विषयमा हामीले प्रराम्भिक अनुसन्धान थालेका छौँ ।’ अधिकारीले भने ।
उनले अनुसन्धानमा कर्मचारीको संग्लनता देखिए आफूहरुले प्रक्रिया अगाडि बढाउने र राजश्वले अनुसन्धानले आफ्नो कारवाही अगाडि बढाउने बताए । जेठ ६ गते विना भन्सार छिराइएको जिजे ०६ एजेड ६३५९ नम्बरको उक्त मालवाहक गाडी रुपन्देही प्रहरीले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय बुटवललाई बुझाएको थियो ।
जुन गाडी मुख्य बाटो हुदै कर्मचारीकै अगाडीबाट गएको सिसिटिभी फुटेजमा देखिएको छ । प्रहरीका अनुसार उक्त गाडीबाट ३८ लाख मूल्य बराबरको बच्चाको डायपर र सेनेटरी प्याड बरामद भएको थियो ।
घटनाको अनुसन्धान राजश्व अनुसन्धान कार्यालय बुटवलले गरिरहेको छ । राजश्व अनुसन्धानको छानबिन प्रतिवेदन अख्तियारले कुरिरहेको छ । हालसम्मको अनुसन्धानमा घटनामा चालकको लापरवाहीका कारण घटना भएको देखाउन खोजिएको स्रोतको दावी छ ।
अख्तियार प्रमुख अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘राजश्वले गरिरहेको अनुसन्धानको प्रतिवेदन हामीले कुरिरहेका छौँ । राजश्वको अनुसन्धानमा पनि बदमासी हुन सक्ने भएकोले उसले गरिरहेको अनुसन्धान पनि नजिकबाट नियालिरहेको छौँ ।’
यस्तै अन्नपूर्ण पोस्ट्ले अड्डामा अन्नपूर्ण अभियान अन्र्तगत भैरहवा भन्सारमा हुने बेथिती र खुल्लमखुल्ला हुने घुसको कारोबारको विषयमा प्रकाशित समाचारको विषयमा पनि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
समाचार प्रकाशित भएपछि अख्तियार भन्सारमा अनुगमन गरेर स्रोत नखुलेको रकम समेत कर्मचारीबाट बरामद गरेको थियो । भन्सारसँग सम्बन्धित यी दुवै घटनालाई एकीकरण गरेर अनुसन्धान भइरहेको प्रमुख अधिकारीले बताए । भैरहवा भन्सारमा अझै पनि साम्रगीको न्युन मुल्यांकन गर्ने, बढी सामग्रीलाई कम देखाएर प्रज्ञापन पत्र तयार पार्ने जस्ता कामहरु भइरहेको सरोकारावालाहरु बताउँछन् ।