खानेपानीको संकट देखाउन अतिथिलाई रित्तो कलश उपहार
ओखलढुंगा : मानेभन्ज्याङ गाउँपालिका ५ र ९ वडाको सीमाना बालेथाम गाउँमा खानेपानी योजना उद्घाटनमा सहभागी अतिथिलाई रित्तो कलश उपहार दिइएको छ।
खानेपानीको चरम् संकट देखाउनका लागि स्थानीयले अतितिलाई व्यङयात्मक रुपमा रित्तो कलश थमाएका हुन्। गुराँसका फुल राखिएका कलश प्राप्त भएपछि रित्तो देख्दा अतिथिहरु पनि एकछिन छक्क परे।
गाउँपालिकाका जनप्रतिनिधिहरु अतिथि रहेकोमा मुहान बिनाको आयोजना उद्घाटन भएको भन्दै स्थानीयले रित्तो कलश उपहार दिएका हुन्। शुक्रबार गाउँपालिका र दुईवटै वडाको ९ लाख ८० हजार र जन श्रमदानसहित ११ लाख ४४ हजार दुईसय ७३ रुपैयाँमा निर्मित आयोजनाको उद्घाटनमा यस्तो दृश्य देखिएको हो।
दश हजार लिटरको प्लाष्टिक ट्यांकीमा ट्यांकरबाट बोकेर पानी भर्ने र सो पानी ४३ घरलाई वितरण गर्ने योजना सुरु गरिएको छ। खानेपानीको मुहान कतै नभपछि यस्तो योजना सञ्चालनमा ल्याइएको स्थानीयले बताए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मोतिराज राईले भने, ‘मुहान बिनाको खानेपानी योजनाको उद्घाटनमा रित्तो कलश उपहार पाइयो, यो व्यंग्यको प्रतिक रहेछ।’
आफ्नो कार्यकालमा कतैबाट यहाँ नियमित रुपमा पानीको व्यवस्था गर्न सकेदेखि यही कलशमा पानी भरेर कलश फिर्ता गर्ने उनले बताए। पानीको समस्याकै कारण पदबाटै राजीनामा दिनुपर्ने अवस्था आएको भन्दै उनले गाउँपालिकाभरी खानेपानीको संकट रहेको प्रष्ट पारे।
बालेथामबासीले सदियौंदेखि मुहानकै अभावमा पानी बोकेर पिउँदै आएका थिए। एक गाग्री पानीका लागि दैनिक पाँच घण्टा लगाएर पानी ल्याउनुपथ्र्यो। भएको एउटा मुहान पनि सुकेपछि विकल्पको रुपमा ट्यांकरमार्फत पानी बोकेर वितरणको काम सुरु गरेका हुन्। एक घण्टाको दुरीमा जयरामघाट नजिक पुगेर ट्यांकरमा पानी ल्याउनु पर्ने उपभोक्ता समितिका अध्यक्ष शिवकुमार श्रेष्ठले बताए। उनले भने, ‘महंगो पर्न जान्छ, हामीले प्रत्येक घरको धारा मार्फत मिटर जोडेर त्यहीबाट महशुल संकलन गरि तत्काललाई समस्या टार्न यो योजना सुरुवात गरेका हौँ।’
जिल्लाको आठवटा स्थानीय तहमध्ये सबैभन्दा पानीको चरम अभाव भएको मानेभन्ज्याङ गाउँपालिका पर्छ। गाउँपालिकाले लिफ्टिङ र डिप बोरिङ दुवैका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ। तर त्यो पनि स्थायी समाधान भने हुन नसक्ने जनप्रतिनिधिको भनाइ छ। कतै मुहान पाइहालेपनि सोलुखुम्बु र आसपासबाट ल्याउनुपर्ने हुँदा अर्बौं बजेट आवश्यक पर्ने भएकाले सम्भव नभएको उपप्रमूख सविता राईले बताइन्।
ट्यांकरमा पानी बोकेर भरेपछि वितरणका लागि राखिएको ट्यांकी। तस्बिर : शिवप्रसाद ढुंगाना