हुरीको वितण्डा
टीकापुर : टीकापुर–२ राजीपुरका ५१ वर्षीय लहानु चौधरीले ६ वर्षदेखि कुखुरापालन गर्दै आएका थिए। ब्रोइलरबाट सुरु गरेको व्यवसाय यात्रा लेयर्स हुँदै हरि पोल्ट्री फार्मबाट अण्डा उत्पादनसम्म पुग्यो। उनले यही वर्ष ४ हजार ५ सय चल्ला हाले। परिवारका सदस्यलाई यसकै हेरचाहमा खटाए। तर, व्यवसाय विस्तार गर्ने लहानुको सपना बिहीबार राति हुरीले क्षणभरमै उडायो। पर्खाल भत्किएर किच्दा उनको ज्यानसमेत गयो।
भीषण हुरी आउन थालेपछि उनी चल्ला जोगाउन खोरतर्फ गएका थिए। खोरको पर्खाल भत्किँदा उनी त्यही ढले। लहानुका छोरा हरिनारायण चौधरीका अनुसार चल्ला सार्न गएका लहानुलाई पर्खालले किचेर घाइते बनाएको थियो। छाती र टाउकोमा चोट लागेको थियो। उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा लहानुको मृत्यु भएको हो।
हरिनारायणले ६ महिनाअघि रेडिमेड कपडा पसल खोलेका थिए। अण्डा उत्पादन गर्ने बुवाको सपना पूरा गर्न उनले पसल बिक्री गरे। ‘बुवाको सपना थियो, कुखुरापालन र अण्डा उत्पादनमा जोड दिने’, उनले भने, ‘बुवाको सपना हुरीले उडायो।’
खोरमा बाबुछोरा सँगै थिए। हावाले खोरको छाना उडाउन थालेपछि लहानुले डोरीले टिन कसे। खोरका चल्ला पानी नपर्ने ठाउँमा सार्दै गरेका लहानुलाई पर्खाल ढलेर किचेको थियो। हरिनारायणको हात, पाखुरा र खुट्टामा चोट लागेको छ।
लहानुकी श्रीमती पितरानी थारूले कुखुरापालनबाट भएको आम्दानीले दुई छोराका लागि बनाउँदै गरेको घर अधुरो रहने चिन्ता व्यक्त गरिन्। ‘छोराका लागि घर बनाउन लागेका थियौं, उहाँ रहनुभएन’, पितरानीले भनिन्, ‘पक्की घर बनाउने हाम्रो सपनासमेत अधुरै छ।’
२०५४ को स्थानीय निर्वाचनमा लहानु कांग्रेसबाट वडासदस्य निर्वाचित भएका थिए। उनी राजीपुर गाउँका ‘बडघर’ थिए। गाउँलेका लागि सहयोगी भावना भएका लहानुको मृत्युले गाउँ शोकमग्न बनेको छ। थारू समुदायको अभिभावक गुमाएको महसुस भइरहेको छिमेकी खडकबहादुर चौधरीले बताए। ‘उहाँ मिलनसार हुनुहुन्थ्यो। हामीले अभिभावक गुमाएका छौं’, उनले भने, ‘लामो समय बडघरसमेत रहेर उहाँले गाउँलेलाई परिचालन गर्नुभएको थियो।’
केरामा क्षति
हुरीका कारण कैलालीका टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिकालगायत क्षेत्रमा सयौं बिघाको केरा बालीमा क्षति पुगेको छ। किसान टेकेन्द्र धामीका अनुसार केराका बोट ढलेका छन्। पटक–पटकको ेहुरीका कारण केरा उत्पादनमा कमी आउने उनले बताए। ‘हुरीका कारण थुप्र्रै किसानका केराका बोट ढलेका छन्। घारी भाँचिएका छन्’, उनले भने, ‘जसका कारण यो वर्ष टीकापुर क्षेत्रमा केरा उत्पादनमा कमी आउने देखिएको छ।’
टीकापुरका टेकेन्द्र धामी, देवीराम कोइराला, मोहन जैशी, विनोद साह र जोशीपुरका रामबहादुर कुँवर, नेपबहादुर चौधरीलगायत किसानका बारीमा बढी क्षति पुगेको छ। किसान विनोदले पनि केराका बोट भाँचिएर क्षति पुगेको सुनाउ। टीकापुर क्षेत्रमा झन्डै ६ सय हेक्टरमा केरा खेती हुँदै आएको छ।