दराजको साँचो

दराजको साँचो

वसन्त ऋतु लागिसकेको थियो। रूखहरू नांगा देखिन्थे। नांगा रूखहरू पनि हरिया पालुवा पलाउने आशाले आआफ्नै ठाउँमा उभिइरहेका थिए। रूखबाट पुराना पालुवा झर्ने र नयाँ पालुवा पलाउने क्रम जारी थियो। पुरानो पालुवा झरेर नयाँ पालुवा पलाउँदा रूखलाई अनौठो पीडा हुँदो हो। जताततै प्रकृति उजाड देखिन्थ्यो। मेरो मनमा पनि एक प्रकारको अनौठो पीडा भइरहेको थियो। तर म भित्री मनबाट सिँगारिएकी थिएँ। वसन्त ऋतुमा नयाँ पालुवा पलाएझैं मेरो जीवनमा पनि नयाँ पालुवा पलाएको थियो। मेरो विवाह भर्खर भएको थियो। मेरो       श्रीमान्को नाम राजीव थियो। बिहेपछि म उनकै घरमा थिएँ।

हाम्रो मागी विवाह भएको थियो। म त्यो घरदेखि अनभिज्ञ थिएँ। नयाँ घर, नयाँ परिवार, नयाँ मानिसको भीडमा म आफूलाई सक्दो सामान्य बनाउने प्रयास गर्दै थिएँ। म काठमाडौंमा जागिर गर्थें। मैले सासूलाई सातौं दिन भनेँ, ‘आमा मेरो बिदा सकिइसकेको छ। भोलि काठमाडौं फर्किन्छु।’

उनले मेरो कुरा सुनेर भनिन्,

काम गर्नु पनि जरुरी छ। ठीकै छ नि त। भोलि जा।

म भोलिपल्ट काठमाडौं फर्कें। मेरो दिनचर्या बित्दै थियो। राजीव गाउँमा जगिर गर्थे। उनीसँग दिनदिनै फोनमा कुरा भइरहन्थ्यो। दिन, हप्ता र महिना बित्दै थिए। म पुराना कुराहरू बिर्सिंदै थिएँ। जाडो बिदा दुई हप्ताका लागि भयो। उनलाई फोन गरेर बिदाको खबर दिएँ। उनले मलाई घर आउन जिद्दी गरिरहेका थिए। मलाई पनि काठमाडौंमा एक्लो अनुभव भइरहेको थियो। त्यसमाथि हामी नयाँ जोडी थियौं। एकअर्कासँग छुट्ने मन नहँदानहुँदै पनि जागिर गर्ने सिलसिलामा छुटेर बसिरहेका थियौं। उनले जिद्दी गरेपछि म पनि घर जाने सुरसार गर्न थालेँ। दुईतीन घण्टापछि घर पुगेँ।

म लुगा फेरेर सोफामा बसिरहेकी थिएँ। सासू सोध्न आइन्,

तँ के खान्छेस् ?

म केही खान्नँ, आमा।

किन ?

मलाई सन्चो छैन। मेरो पेट दुःखिरहेको छ। केही खाने मन छैन।

कसरी पेट दुख्यो ?

सासूको कुरा सुनेर म केही बोलिनँ। लजाएजस्तो गरेँ। मेरो अनुहार हेरेर उनले भनिन्,

तँ नछुने भएकी त छैनस् ?

मैले संकोच मान्दै लजाउँदै जवाफ फर्काए,

कसरी थाहा पाउनुभयो ?

कति दिन भयो ?

दुई दिन।

दुई दिन सुन्नेबित्तिकै उनी एकाएक जंगिँदै भन्न थालिन्, किन कोठामा छिरेकी ?       सोफामा नबस्। उठ् त्यहाँबाट। तँलाई थाहा छैन नछुने भएको बेलामा पाँच दिनसम्म बार्नुपर्छ। यस्तो बेलामा बस्ने तल छुट्टै कोठा छ। तल हिँड। तँ यहाँ बस्ने होइन नि। आ मसँग। तल हिँड्।

उनको कुरा सुनेर मैले केही प्रतिक्रिया दिइनँ। अचम्म तरिकाले उनको र राजीवको अनुहारतिर पालैलालो हेरेँ। सोफामा बसिरहेँ। राजीवको अनुहारतिर फेरि हेरेँ, राजीवले आँखाले इशारा गर्दै भने— आमासँग तल जा, नत्र कराउनुहुन्छ। उनको आँखाको इशारा बुझेर म सोफाबाट उठेँ। सासूको पछिपछि लागेँ। भर्‍याङमा जति खुड्किला म उक्लिँदै थिएँ त्यति नै टाढा राजीवबाट हँदै थिएँ जस्तो अनुभव भइरहेको थियो। उनीसँग राम्ररी बोलेको पनि थिइनँ। उनको अँगालोमा बेरिएर रातभरि कुरा गर्ने मेरो मनको इच्छा चकनाचुर हँदै थियो। मानौं म उनीसँग वर्षौंवर्षका लागि छुट्दै थिएँ। मनमा अनौठो पीडा भइरहेको थियो। मुटु चस्स चस्च दुखिरहेको थियो। म आफूलाई नियन्त्रण गर्न सकिरहेकी थिइनँ। राजीवको अनुहार झलझली आँखामा आइरहेको थियो। म उनीसँग एक पलको लागि पनि छुट्न चाहन्नथेँ। मनले मानिरहेको थिएन। तर, पाइला जबरजस्ती अगाडि बढाइरहेकी थिएँ।

उनको कुरा सुनेर मैले हात थापेँ। उनले ढोका छेउबाट फुत्त ब्रेड फालिन्। मैले ब्रेड समातेँ। कुकुरलाई पनि त्यसरी फालेर खाना दिइँदैन। तर, यहाँ कुकुरभन्दा नराम्रो व्यवहार मैले भोगिरहेकी थिएँ।

हामी तल आइपुग्यौं। कोठामा ताल्चा लागेको थियो। सासूले कोठाको ताल्चा खोलिन्। ताल्चा खोलेर मलाई कोठाभित्र पठाइन्। कति दिनदेखि बन्द रहेको त्यो कोठा गुम्म थियो। निस्सासिन्छु जस्तै लाग्यो। एउटा सानो झ्याल थियो। त्यो झ्याल खोलेँ। कोठामा एउटा सानो खाट र सानो टेबल थियो। त्यति हो।

सासू माथि गइन्। नछुने भएको बेलामा       श्रीमान्सँग किन बस्न नपाइने ?       यो कस्तो परम्परा थियो ?       यो सासूको चाला थियो कि अन्धविश्वासी परम्पराको अनुकरण थियो ?       राजीवसँग टाढा भएर मैले आफूलाई नियन्त्रण गर्न सकिनँ। मानौं म कुनै अनभिज्ञ वनमा एक्लै बसिरहेकी बेसहारा मान्छे थिएँ। मैले कुनै गल्ती गरेको मान्छेझैं सजाय पाइरहेकी थिएँ। रुँदा रुँदा मेरा आँखाका आँसुहरू सुके। मेरो कण्ठ र तालु सुकेर नुनिलो लागिरहेको थियो। तिर्खा लागेको अनुभव भइरहेको थियो। रुँदारुँदै निदाएछु।

भर्‍याङमा कोही तल झर्दै गरेको आवाज सुनेर म ब्यूँझेँ। राजीव नै होला भनेर मेरो मनमा ठूलो आशा पलायो। बडो आशाका साथ उठेर बसेँ। हातले कपाल मिलाएँ। म उनको अगाडि राम्री देखिन चाहन्थेँ। ढोकातिर हेरेँ। मेरो आशा निराशामा परिवर्तन भयो। ढोकामा राजीव नभएर थालमा भात र प्लास्टिकको जगमा पानी बोकेर सासू उभिइरहेकी थिइन्। उनले ढोकाबाहिरैबाट खानाको थाल र प्लास्टिकको जगको पानी दम लगाएर कोठाभित्र धकेलेर मतिर हुत्याइन्। मानौं म कुनै अछूत जात थिएँ। छुनै नमिल्ने भएकी थिएँ। उनी कोठाभित्र पनि छिरिनन्। खानाको थाल र पानीको जग बाहिरैबाट धकेलेर, ला भात खा भनेर माथि गइन्। खाना त्यसरी दिएको देखेर म सुँक्क सुँक्क गर्दै फेरि रुन थालेँ। तिर्खा लागेको अनुभव भइरहेको थियो। जगको पानी खाएँ। त्यसपछि खाना खाएँ।

केही बेरपछि राजीव तल आयो। राजीवलाई देखेर म धेरै खुसी भएँ। राजीवलाई देखेर मेरो मनमा आशा पलायो। राजीवले मेरो पक्ष लिन्छन् र मलाई माथि कोठामा लग्छन् भन्ने ठानेकी थिएँ। मलाई लाग्यो उनले सासूसँग कुरा गरेर मलाई लिन आएका छन्। तर, त्यस्तो केही भएन। उनी मेरो मोबाइल दिन आएका रहेछन्। मेरो मोबाइल माथि कोठामा नै छुटेको थियो।

उनी तल आएको सासूले थाहा पाइन् क्यारे। उनले माथिको कोठाबाट राजीवलाई डाक्दै भनिन्, बाबु तँ तल किन गइस् ?       माथि आ। सासूले डाकेको सुनेर उनले मेरो हातमा मोबाइल राख्दै भने, ‘आफ्नो हेरचाह गर्, केही परे फोन गर्। राति हामी च्याट गर्ने छौं। अहिले म जान्छु।’

उनीबाट पनि मैले निराशासिवाय केही पाइनँ। म फेरि सँक्क सँक्क गर्दै रुन थालेँ। राजीवको फोन आयो। मैले फोन रिसिभ गरेँ तर केही बोलिनँ। म मौन थिएँ। मानौं मेरो मनमा हजारौं इच्छा र सपना ज्यूँदै मरिरहेका थिए र मैले ती इच्छा र सपनालाई मूर्त रूप दिन सकिरहेकी थिइनँ। कसैको विरोध पनि गर्न सकिरहेकी थिइनँ। मानौं म ठूलै चक्रव्यूहमा फसेकी थिएँ। मेरा सबै इच्छा आँखामा नाचिरहेका थिए तर मैले ती इच्छालाई राजीवको सामीप्यताको अनुभव गर्न उभ्याउन सकिरहेकी थिइनँ। मेरो मन पीडैपीडाले भरिएको थियो। मेरो मौनता देखेर उनले मलाई बुझे क्यारे। उनले उताबाट फोनमा भने, ‘नरो सरु, नियन्त्रण गर् आफूलाई। तँ बुझ्ने केटी होस्। तँ साहसी छेस्। सहनशील छेस्। बलियो छेस्। तँ जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्न सक्छेस्। एक दुई दिनको कुरो त हो नि, त्यसपछि म तँलाई भेटिहाल्छु नि, लाटी।’ राति उनीसँग च्याट गर्दागर्दै निदाएछु।

बिहान उठेर मोबाइलमा समय हेरेँ। सात बजिसकेको थियो। मेरो लुगा माथिको कोठामा थियो। मलाई कुनै कुराको वास्ता थिएन। म जसरी पनि एक पटक राजीवलाई हेर्न चाहन्थेँ। उनको सामीप्यता अनुभव गर्न चाहन्थेँ। उठेर म सरासर माथि गएँ। उनी सुतिरहेका थिएँ। उनको अनुहारतिर हेरेँ। मनमा एक किसिमको खुसीको अनुभव भयो। दराज खोलेँ। दराज खोलेको आवाज सुनेर सासू आइन्। म दराजबाट लुगा झिक्दै थिएँ। मैले लुगा झिकेको सासू ढोकामा उभिएर हेरिरहेकी थिइन्। लुगा झिकेको देखेर आश्चर्यचकित हुँदै अचम्म मान्दै भनिन्,

‘दराज छोएकी ?       आम्मामा कोठाभित्र पनि छिरेकी ? ’

किन छुनु हुँदैन ?

जति भने नि नहुने रहेछ। नटेर्ने रहिछेस्। अटेरी। नुहाएर तलको कोठामा जा। म खाना त्यहीँ ल्याइदिन्छु।

सासूको आवाज सुनेर उनी ब्यूँझे। ब्यूँझेर खाटमा बसे। उनी केही बोल्लान् भनेर ठूलो आशा थियो। त्यत्तिकैमा नन्द उषा टुप्लुक्क आइपुगी र ढोकामा उभिएर बल लगाएर ठूलो स्वरमा मलाई भन्न थाली, ‘यतिखरे के गर्नुपर्छ हजुरलाई थाहा छैन, भाउजू ?       दाइसँग सुत्नु हुँदैन। दाइलाई छुनु हुँदैन। कोठाभित्र छिर्नु हुँदैन। यस्तो बेलामा मनपरी गर्नुभयो भने मेरा भाइ र बुवा बाहिर छन्। उनीहरूलाई केही भयो भने जिम्मा लिनुपर्छ। हजुरको कारणले हाम्रो परिवारमा अनिष्ट घटना घट्न सक्छ।”

मैले उसको मुख लाग्न उचित ठानिनँ। म नुहाउन बाथरुम गएँ। केही बेरपछि नुहाएर आएँ। राजीव सोफामा बसेर किताब पढ्दै थियो। उनको छेउमा सोफामा बसेँ। उनको छेउमा बसेर बेग्लै प्रकारको सुखको अनुभव भइरहेको थियो। उनीसँग एक मिनेटको लागि पनि म छुट्टिन चाहँदैनथेँ। सासू चिया लिएर आइपुगिन्। म राजीवको छेउमा सोफामा बसेको देखेर उनले भनिन्, ‘आम्मामा, फेरि सोफामा बसेकी ?       बुबुलाई नि छोएकी ?       यस्तो बेलामा यहाँ बस्नु हुँदैन भनेर कति सम्झाउने तँलाई ? ’

सासूको कुरा म त्योभन्दा बढी सुन्न सकिनँ। म फुत्त कोठाबाट निस्केँ। तल कोठामा गएँ। खाटमा थचक्क बसेँ। मानौं, म मानसिक र शारीरिक दुवै रूपले कमजोर भइसकेकी थिएँ। कुनै काम गर्ने सामथ्र्य र साहस ममा थिएन। म कतै हराएजस्तै भएकी थिएँ। कुनै अञ्जान ठाउँमा गुम्सिएकी जस्ती भएकी थिएँ। न केही बोल्न सक्थेँ न त कसैलाई केही भन्न सक्थेँ। एकछिनपछि सासू तल आइन्। मेरो लागि ब्रेड ल्याइदिएकी थिइन्। ढोकामा उभिएर भनिन्, ‘हात थाप्। लौ यो ब्रेड ले। ब्रेड खाएर एकछिनपछि खाना खान माथि आ।’

उनको कुरा सुनेर मैले हात थापेँ। उनले ढोका छेउबाट फुत्त ब्रेड फालिन्। मैले ब्रेड समातेँ। कुकुरलाई पनि त्यसरी फालेर खाना दिइँदैन। तर, यहाँ कुकुरभन्दा नराम्रो व्यवहार मैले भोगिरहेकी थिएँ।

ब्रेड खाएको केही बेरपछि म माथि गएँ खाना खान। म भर्‍याङमा आउँदै गरेको देखेर सासूले भान्साकोठाको ढोकाबाट भनिन्, ‘भान्सा कोठाको बाहिरै बस् है तँ। भित्र नआ। बाहिर बसेर भात खा।’ उनको कुरा सुनेर मन खिन्न भयो। बुवाआमालाई सम्झेँ। मन गह्रौं भयो। माइतीमा बस्दा बुवाआमाले मलाई कहिल्यै यस्तो व्यवहार गरेका थिएनन्। नछुने भएको बेलामा पनि दसैंमा टीका लगाइदिन्थे। सँगै बसेर खाना खुवाउँथे। यस्तो नियममा बस्नु पर्दैन्थ्यो। भोलिपल्ट म चोखो हुने दिन थियो। म चोखो भएको दिन सासूले सबै सामान सुनपानीले चोखो परिन्।

म एक हप्ता बसेँ। त्यसपछि फेरि काठमाडौं फर्कें। दिनहरू बित्दै थिए। छ महिनापछि दसैं आयो। दसैंमा म फेरि घर जानुपर्ने भयो। दुर्भाग्यले मलाई पछ्याउन कहिल्यै छोडेन। यसपल्ट पनि घर पुगेको दुई दिनपछि नछुने भइछु।

यसपल्ट नछुने भएको जानकारी कसैलाई दिइनँ, शिवाय राजीवको। नछुने भएर पनि म सामान्य बनिरहेँ। राजीवको सामीप्यता अनुभव गरिरहेँ। राजीवले मलाई सम्झाए, यस्तो गर्नु हुँदैन। आमाले थाहा पाउनुभयो भने नराम्रो हुन्छ, सरु। मैले उनलाई सम्झाउँदै भने, यस्तो कुरा म मान्दिनँ। यस्तो कुरीति र कुप्रथाको पछि लाग्ने हो र भन्या ?       यस्ता कुरा घाममा सुकाइदिनुस्। कसैलाई केही थाहा हुँदैन।

घरमा खाना मैले नै पकाउनुपथ्र्यो। मैले पकाएको खाना सबैले खान्थे। मैले प्रयोग गरेका प्याडहरू प्लास्टिकको झोलामा बाँधेर दराजको एउटा कुनामा थन्क्याएर राखेकी थिएँ। अरू बेला दराजको साँचो कहाँ छ ?       के छ ?       मलाई कुनै वास्ता हुँदैन्थ्यो तर दराजमा प्याड राखेदेखि म एकछिनका लागि पनि दराजको साँचो कतै छोड्दिनथेँ। सधैं आफूसँगै राख्थेँ। घरको फोहोरमा प्याड मिल्काए सासूले थाहा पाउलिन् भनेर दराजमा थन्कएकी थिएँ। धेरै जतन गरेर दराजको साँचो सधैं आफूसँगै राख्थेँ। दराजको साँचो एकछिनका लागि पनि तकियामुनि छोडेँ भने मेरो सर्वश्व नै सखाप हुन्छ भन्ने खालको डर लागिरहन्थ्यो।

एक दिन बिहानै नुवाइधुवाइ सकेर चिया पकाउन भान्सा कोठा गएँ। चिया पाक्यो। एक कप चिया लिएर सासू राजीवलाई चिया दिन मेरो कोठा गइन्। मैले सबैको भाग चिया कपमा हालेँ। सासू गएको देखेर मैले दराजको साँचो तकियामुनि नै बिर्सेको सम्झेँ। म डराएँ। हतारहतार सासूको भागको चियाको कप उठाउँदै म आफ्नो कोठातिर दौडेँ।

काम परेर उनले दराज खोलिसकेकी थिइन्। दराजभित्र यताउति के के हेर्दै थिइन्। दराजभित्रबाट एउटा पोको बाहिर निकालिन्। पोको खोलिन्। ढोकातिर हेरिन्। म ढोकामा उभिइरहेकी थिएँ। म अलमल्लमा परेँ। सासूको हातमा प्याडको पोको देखेर म डराएँ। ला, अब के हुने हो। दाँतले आफ्नो ओठ टोक्दै मनमनै भनेँ— सबै बर्बाद भयो।

उनले पोको खोलेर नाक थुन्दै मतिर हेर्दै भनिन्, बुहारी के गरेकी तैंले यो ?  यो के हो, हँ ?   फोहोर प्याड दराजभित्र रोखेकी ?  सबै सत्यानाश पारी यसले। किन गरिस् तँंले यस्तो ?       यो के गरेकी तैंले ?

के बोल्ने के नबोल्ने भयो। मेरा गाला र कान राता राता भए। मेरो मनमा अनगिन्ती भय पलायो। मेरो मुटुको कम्पन बढ्यो। उनको कुरा सुनेर चियाको कप मेरो हातबाट छुट्यो। कप टुक्राटुक्रा भयो। भुइँमा काँचका टुक्राहरूसहित चिया छताछुल्ल भएर पोखियो।

चौधरी ‘जयबर्धन सलहेस’ उपन्यासकी लेखक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.