जरूर साथी म पागल...

जरूर साथी म पागल...

म मेरा प्रेमिकाहरूलाई भन्ने गर्छु, ‘तिमीहरू सानो हुँदा बाआमा, शिक्षकहरूले खराब मान्छेको उदाहरण दिँदै नानी, त्यस्ता मान्छेको संगत कहिल्यै नगर्नू भन्थे नि, हो त्यही मान्छे हुँ म।’

त्यसो भन्नुको कारण छ।

मैले सधैं जे नगर्नू भनियो, त्यही गरेँ। अहिले भने त्यसैको प्रतापले गरी खाँदै छु। जे भनियो, त्यही गरेको भए जिन्दगीमा यस्तो मजा आउँदैन थियो; जुन अहिले मैले बाँचेको जीवनले दिइरहेको छ। आइरन गेट भनिने एसएलसीको परीक्षा हुँदै गर्दा किताबभित्र उपन्यास लुकाएर पढेँ मैले। कोर्र्सबाहिरका किताब पढ्नु अनुत्पादक मानिने जमाना थियो, त्यो। बाआमा छोरोले कोर्सकै किताब मात्र पढोस् भन्ने चाहन्थे। मलाई भने कोर्सका किताब गनाउँथे। तिनले हजार वर्ष पुराना कुरा पढाउँथे। दिमाग भुत्ते बनाउने एक्सरसाइज हुन् कोर्स बुक जस्तो लाग्थ्यो। कोर्सबाहिरका किताब भने दिनको तीनवटाका दरले पढेँ।

बच्चैदेखिको निकै मिल्ने साथी थियो एउटा। जसलाई हामी ‘नाडु खोटे’ भन्थ्यौं। प्लस टु पढ्ने उमेरमा एउटा दुर्घटनामा परेर ऊ मर्‍यो। मृत्युसँगको पहिलो र नजिकको साक्षात्कार सायद त्यही थियो मेरो। अनि एउटी केटी थिई। जसलाई म निकै मन पराउँथेँ। उनीसँग जीवन बिताउने रुमानी कल्पना गर्थें।

स्कुले जीवनका अन्तिम पाँच वर्ष उसैको अनुहार हेर्न मात्र स्कुल जान्थेँ, म। एसएलसी सकिएको अन्तिम दिन हृदय कमाउँदै उसलाई बाई भन्न गएको थिएँ। उसले मेरो अनुहारै नहेरी ‘ए ल बाई’ भनेकी थिई।

घरमा बाआमा दिनरात झगडा गर्थे। मिलेर बस्नै नसक्ने, एकछिन एकअर्कालाई देखी नसहने। मेरा बाआमा समाजले के भन्ला भन्ने डरले मात्रै सँगै बसेको देख्दा मलाई अचम्म लाग्थ्यो।

एक दिन एउटी मन परेकी केटीको न्यानो हात आफ्ना चिसा हातले समाउँदा बुझ्दै नबुझेको ‘जिरोथ ल’ आफैंले बुझेको हुँ।

यस्ता कुराले म किशोर वयमै जीवनबाट विरक्तिएको थिएँ। एक दिन मर्नु नै छ भने जीवनको, जीवनमा गरिने अनेक दुःखको के अर्थ ? एक दिन छुट्नु नै छ भने भेटको के अर्थ ? दिनरात झगडै गरेर बस्नु छ भने विवाह गर्नुको के अर्थ ?

यी प्रश्नको उत्तर चाहिएको थियो मलाई। आफूभन्दा ठूला भनिएकाको त मलाई रत्ति विश्वास लाग्दैनथ्यो। बच्चा कसरी जन्मिन्छ भनेर प्रश्न सोध्दा अस्पतालमा भेट्टाएर ल्याएको वा धारामा भेटेर ल्याएको जस्तो तोर्पे उत्तर दिन्थे ती।

अनि एउटा यस्तो समय आयो जीवनमा। जब म कुनै किताब पढ्न नसक्ने, कुनै सिनेमा हेर्न नसक्ने भएँ।

किताब पढ्दा, सिनेमा हेर्दा तिनका पात्रसँग प्रेम भइदिने। ती पात्रको साथ किताब पढुन्जेल, सिनेमा हेरुन्जेल मात्र रहने कुराले मलाई तर्साउँथ्यो। म स्थायित्व चाहन्थेँ। त्यसविपरीत जीवनका हरेक कुनामा म क्षणभंगुरता मात्र देख्थेँ।

जीवन असह्य भएको यस्तै एक समयमा म स्थायित्वको खोज गर्न, बुद्धत्वको खोज गर्न घरबाट भागेँ।

त्यो समयमा मेरा सबै सहपाठी आआफ्नो जीवनलाई एउटा निश्चित र समाजले तोकिदिएको दिशा दिन लागिपरेका थिए। म भने दिशा हराएर भौंतारिएको थिएँ। गाँस, बास र कपासको जोहो मात्र गर्नका लागि जीवन हो भने त्यत्ति जाबोका लागि किन मरिमेट्ने ? त्यत्ति त जनावरहरूले, रूखबिरुवाहरूले पनि गरेकै छन् नि जस्तो लाग्थ्यो।

घरबाट भागेर म जोगी बन्न ऋषिकेश गएँ। ईश्वरको खोज र बुद्धत्वको प्राप्ति नशा बनेको थियो। यो क्रममा भारतका गल्ली गल्ली चहारेँ, लोकल ट्रेनमा। अनेक मान्छे भेटेँ, सडकमा सुतेँ। घाटहरूमा तन्त्र साधना गरेँ। मैले अहिले बाँचेको जीवन तिनै दिनहरूको निर्माण हो।

म हुर्किएको बाहुनवादी समाजलाई जीवनरस के हो, थाहै छैन। नयाँ कुरा गर्न, हिम्मत गर्न खुट्टा कमाउँछ त्यो समाज। बेचल्तीको बाटो त्यसलाई स्वीकार्य छैन। भय र लोकलाजले वशीभूत भएर आफ्नो जीवनदिशा तय गर्ने समाजले आफ्नो जीवन आफ्नो सर्तहरूमा बाँच्ने मान्छेलाई सधैं पागल भनेको छ।

हाम्रा अनिँदा रातहरूलाई स्लिपिङ ट्याब्लेट खुवाइदिएको छ। हाम्रा उर्लिएका विचारधारालाई एन्टिडिप्रेसेन्ट खुवाएर बेहोस बनाइदिएको छ। जीवनप्रतिको हाम्रो प्यासनलाई पागलपन भनिदिएको छ। हुन त प्यासन शब्द नै नभएको भाषा बोल्ने समाजले बुझोस् पनि कसरी हाम्रा कुरा !

हाम्रो पागलपन बहुलठ्ठी हैन। पागलपन त जीवनप्रतिको संवेदनशीलताले उत्प्रेरित सुन्दर उपहार हो। यसलाई आफैंले एउटा दिशा दिने हिम्मत गर्ने हो भने जीवन आनन्द र सिर्जनशक्तिको सोपान बन्छ। विक्षिप्ततालाई सिर्जनशीलतामा बदल्न सकिन्छ।

मैले राम्रोसँग चिनेका केही प्रतिभाशाली साथीले आफ्नो मन र त्यसका समस्यालाई राम्रोसँग बुझ्न र निदान गर्न नसकेका कारण आत्महत्याको बाटो रोज्नु परेको थियो। अहिले समय त्यस्तो छैन। आफ्ना हरेक कमीकमजोरी गहिरिएर अध्ययन गर्न सक्ने सुविधा हामीलाई छ।

आफ्नैबारे कतिपय कुरा म भर्खर थाहा पाउँदै छु।

आफ्ना कमजोरीहरूको निदान गर्न सिक्दै छु। आफ्ना कमजोरीलाई शक्तिमा बदल्ने अभ्यास गर्दै छु। कक्षाकोठामा मास्टरहरूले पढाएको कुरामा ध्यान दिन नसकेर मैले अनेक पल्ट लाठी र बेल्टको प्रहार खाएँ।

अहिले आएर मनोविज्ञानको अध्ययन गर्दै गर्दा मैले थाहा पाएँ, मलाई अटेनसन डेफिसिट सिन्ड्रोम रहेछ। बाल्यकालमा घटेको कुनै दुःखद घटनाका कारण मेरो दिमागले एकोहोरिएर एउटा कुरामा फोकस गर्नै नसक्दो रहेछ। अरूले बुझाएका कुरा बुझ्न नसक्दो रहेछ। यसले मलाई बेफाइदाभन्दा फाइदा नै बढी भएको छ।

मैले कक्षाकोठाका किताबी कुरालाई नै सर्वोपरि मानेर बस्नै परेन कहिल्यै। बरु आफैंले स्वअध्ययनबाट आफ्नो ज्ञानको दायरालाई परिष्कृत बनाउने अवसर पाएँ। कक्षाकोठामा मास्टरले आर्किमिडिजको सिद्धान्त पढाइरहेको बेलामा म किताबभित्र वाल्ट ह्विटम्यानको ‘लिभ्स अफ ग्रास’ लुकाएर पढिरहेको हुन्थेँ।

मलाई विज्ञान तिनै कविताले सिकाए। हिट र टेम्प्रेचरका सिद्धान्त मलाई कविताले नै सिकाए भन्दा हुन्छ। भौतिक विज्ञानमा ‘जिरोथ ल’ भन्ने एउटा सिद्धान्त छ। जसका अनुसार फरक तापक्रम भएका वस्तु एकअर्काको सम्पर्कमा आए भने तातो वस्तुबाट ताप चिसो वस्तुतर्फ बहँदै जान्छ। यो प्रक्रिया तबसम्म बहिरहन्छ, जबसम्म दुवै वस्तुको तापक्रम समान हुँदैन।

यो कुरा मलाई कुनै विज्ञान मास्टरको छडीले बुझाउन सकेन। एक दिन एउटी मन परेकी केटीको न्यानो हात आफ्ना चिसा हातले समाउँदा आफैंले बुझेको हुँ, मैले।

यसरी मलाई कक्षाकोठाले सिकाउन नसकेर ठूलो गुन लगाइदियो। मैले जीवनबाट सिक्ने मौका पाएँ।

नेपालमा ‘मेन्टल हेल्थ’को बारेमा चर्चा–परिचर्चा सुरु नहुँदै पश्चिममा यस सम्बन्धमा निकै अध्ययन–अनुसन्धान हुँदै थियो। मैले हुर्किंदै गर्दा धेरै विदेशीको संगत गर्न पाएँ। उनीहरूकै संगतले मलाई मानसिक स्वास्थ्यका सवालप्रति चेतनशील बनायो।

उता हुने गरेका अध्ययनहरू समाविष्ट जर्नलहरू पढेर मैले आफ्नो मनको जटिलता बुझेँ। नत्र म डिप्रेसनको औषधि खाँदै गरेको हुन्थेँ वा आत्महत्या गर्थें।

मलाई हाइपर भिजिलान्स सिन्ड्रोम पनि रहेछ। पीटीएसडी भनिने समस्याको बाइप्रोडक्ट रहेछ यो।

हाइपर भिजिलान्स सिन्ड्रोम भएको मान्छे सबै कुरालाई गहिरिएर हेरिरहेको हुन्छ। अरू मान्छे बोलिरहँदा बोल्ने मान्छेको स्वरमा आउने मसिनोभन्दा मसिनो परिवर्तन थाहा पाएर त्यसैको आधारमा वक्ताको मुडमा आएको परिवर्तन थाहा पाउँछ उसले।

मैले यसैकारण धेरै साथी र प्रेमिका गुमाएँ।

मसँग कुरा गरिरहेका मान्छेको स्वरमा हलुका मात्र दिक्दारी वा मप्रति निरपेक्ष भाव महसुस गर्दैमा मैले धेरै मान्छेको संगत छाडेको छु। यसैको कारण मलाई साथी बनाउन वा आफन्तहरूको प्यारो बन्न समस्या भएको थियो, कुनै समयमा। अहिले भने यो समस्या मलाई वरदान बनेको छ। मान्छेलाई पढ्न सक्नु जस्तो सुपरपावर समस्या कसरी हुन सक्छ ?

गर्लफ्रेन्डसँग ब्रेकअप भएपछि नेपाल घुम्न आएको एउटा स्प्यानिस केटोले बुझाएको हो, मलाई यो कुरा। ऊ भन्थ्यो, केही केटीहरूसँग ब्रेकअप भएपछि मैले आफूलाई जोगाउन केही सुपरपावरहरूको विकास गराएँ आफूमा। बुझ्दै जाँदा मनोविज्ञानले यसलाई अब्यान्डनमेन्ट सिन्ड्रोम भन्दो रहेछ। कसैले आफूलाई छाड्छन् कि भनेर पहिल्यै सतर्क रहन मनले डेभलप गरेको डिफेन्स मेक्यानिजम रहेछ यो।

मलाई मेरा मानसिक समस्याहरूले करुणा पनि सिकाएको छ। फेसबुकमा मसँग निराश टोनमा कुरा गर्न आउने कैयौं मित्रको पीडा मैले शाब्दिक रूपमा मात्र नभएर आत्मिक रूपमै महसुस गर्न पाएको छु।

कसैले आत्महत्या गर्न मन लाग्ने कुरा सुनाउँदा मैले निस्पृह ओठे सल्लाह दिनु परेको छैन। कारण, म आफैंले धेरैपल्ट त्यस्तो महसुस गरेको छु।

एकाबिहानै फोन गर्ने मेरा प्रेमिकाहरूलाई मैले आत्महत्याको इलाबोरेट योजना सुनाएर दिक्दार बनाएको छु।

मैले नम्बरहरू कहिल्यै बुझिनँ। तिथि, मिति, रुपैयाँ, पैसाको लेखाजोखा म राम्रोसँग बुझ्दिनँ। बच्चा बेला गणित पढ्दा रामले पचासवटा खरबुजा किन्यो, त्यसमा दसवटा हरिलाई दियो टाइपका हिसाबले मलाई सधैं तर्साए। बरु म सोच्ने गर्थें, पचासवटा खरबुजा बिचरा राम एक्लैले कसरी बोकेर घर लैजान्छ होला।

हिसाब नबुझेरै त सायद कविता बुझेँ।

एउटी केटीको शिरमा सेतो कपाल देखेर महाकवि देवकोटा तीन दिन रोए। मान्छेहरूले उनलाई पागल ठाने तर उनी भने बुद्धले आत्मा छोएको भएर रोएका थिए रे।

हरेक कुरालाई के कतिमा तौलनेहरूले सायदै बुझ्लान्, देवकोटाको पीडा। सायदै बुझ्लान्, कविता। त्यसैले नम्बरहरू नबुझेकामा मलाई कुनै गुनासो छैन। चालीस वर्षको उमेरमा आएर बल्ल आफूलाई अटिजम छ भन्ने थाहा पाएकी एक अमेरिकी महिलाले बुझाइन् मलाई, यो कुरा। उनले चालीस वर्षसम्म थाहा पाइनन् रे, आफूले हिसाब किताब नबुझ्नुको कारण। अटिजमको कारण त्यस्तो भएको भनेर थाहा पाएपछि बल्ल उनको मन शान्त भएछ।

अर्की एक मित्र छिन्, नेपाली नै हुन्। राम्री लेखक। उनले एकपल्ट मलाई सुनाइन्, कुनै समयमा उनलाई अग्लो रूख देख्नै नहुने। त्यसैमा झुन्डेर मरिदिऊँ जस्तो लाग्ने।

उनले यसलाई क्रिएटिभिटीमा बदलेकी छन्। उनले लेख्नेजस्ता लोभलाग्दा उपन्यास मलाई पनि लेखौं लेखौं लाग्छ। अहिलेसम्म सकेको भने छैन।

कलेजमा पढाउन जाँदा मैले मेन्टल हेल्थबारे धेरै छलफल गरेको छु। त्यसैका आधारमा आजका बीस–बाइसेहरू अनिद्रा, बिनाकारण दुःखी महसुस गर्न मन लाग्ने समस्या, ध्यान दिन नसक्ने समस्या, अरूलाई दुःख दिन पाउँदा मजा आउने समस्या आदि इत्यादिबाट आक्रान्त भएको थाहा पाएको छु।

मानसिक समस्या र तिनका लक्षणलाई राम्रोसँग बुझ्ने हो भने त्यसैलाई शक्तिमा बदल्न सकिन्छ। रात रातभर सुत्न नसकेको बेला मैले दिनको तीनवटाका दरले किताब पढेको छु, सिनेमा हेरेको छु। डिप्रेसन वा अन्य मानसिक समस्या भएका धेरैलाई भेटेको छु, कुरा गरेको छु। मेरा थोरै नजिकका साथी यसैगरी बनेका हुन्।

मलाई कुनै समयमा जे कुराले धेरै दुःख दियो, त्यसैले मलाई अहिले अद्भुत आनन्द दिइरहेको छ। मेरो जीवनलाई दिशा दिइरहेको छ। मैले कमजोरी ठान्ने गरेको मेरो संवेदनशील मन खासमा सुपरपावरहरूले भरिएको रहेछ। मैले नचिनेको मात्र रहेछु। नबुझेको मात्र रहेछु।

केही समयअघि एक गायक बहिनीसँग सम्पर्क भयो मेरो। एन्टी डिप्रेसेन्ट खाएर उनको मस्तिष्क पूरै शून्य भएको रहेछ। शान्ति त उनले पाइछन् तर त्यही क्रममा आफ्नो सिर्जनाशक्ति भने गुमाइछन्। हामीले सँगै केही अभ्यास गर्‍यौं, गहन छलफल गर्‍यौं। धेरैजसो त हामीले यिनै कुराहरूबारे छलफल गर्‍यौं।

अहिले उनी फेरि गाउन थालेकी छन्। जीवनलाई खुलेर जिउन थालेकी छन्। चाहेजस्तो महसुस हुने गरेको किन नहोस्, त्यो अन्त्य हैन।

जर्मन दार्शनिक नित्सेले भन्ने गरेको हेरौं— चम्किला ताराहरू आगोको भट्टीमा जलेर नै बन्ने हुन्।

समय जति अघि बढ्दै जाँदै छ, संसार जति विकसित हुँदै जाँदै छ। हाम्रो मस्तिष्क उति नै संवेदनशील हुँदै जाँदै छ। गाँस, बास, कपासमै मात्र सन्तुष्ट भएर बस्ने मान्छे आजको युगमा विरलै देख्न पाइन्छ। यो दौड, यो हतासाको नतिजा हो अहिले हामीले बाँचेको समय जहाँ मान्छे दुःखी छ। जहाँ सम्बन्ध टिक्दैनन्। जहाँ रातहरू अनिँदा हुन्छन्। जहाँ मान्छेलाई थोरै मात्र आराम पाउन पनि बेहोसीको सहारा लिनुपर्छ। लट्ठिनुपर्छ।

पश्चिममा प्रतिभाशाली भनिएका प्रायः सबै व्यक्ति कुनै न कुनै मानसिक समस्याले सताइएकै थिए। संसारलाई सबैले देख्नेभन्दा भिन्न देख्नु र त्यसैको वर्णन गर्नु नै त सिर्जना हो।

अल्कोहलिजम, डिप्रेसन, अनिद्रा, स्किज्तोफ्रेनिया, एन्जायटी र महानतम् सर्जक मानौं पर्याय नै हुन्। उनीहरूले आफ्नो समस्यालाई नै आफ्नो सामथ्र्य बनाए। लुइस क्यारोलले छारेरोगले देखाएको संसारलाई ‘एलिस इन वन्डरल्यान्ड’मा वर्णन गरे। चाल्र्स बुकोब्स्कीका कथा, कविता, उपन्यास अल्कोहलिजमकै देन हो। सर्जक बन्न मनोरोगी हुनैपर्छ भन्ने हैन, तर त्यसका बीच सफल हुन र आफ्ना कमजोरीलाई नै आफ्नो सामथ्र्यमा रूपान्तरण गर्न भने सकिन्छ।

शान्तिका लागि ध्यानको नाममा झन्नै तीन हजार वर्ष पहिला बुद्धले सिकाएको विपश्यना गर्दै बस्नेहरूलाई म भन्ने गर्छु, बुद्धको समयमा हवाइजहाज थिएन। एक एकछिनमा रिफ्रेस गर्दै हेर्न मन लाग्ने फेसबुक, ट्विटर, इन्स्टा थिएन। समय बिस्तारै चलेको युग थियो, त्यो। त्यसैले मन आफैंमा शान्त थियो।

अहिलेको हाम्रो समयमा बुद्ध आए भने सम्भवतः उनी आफैं डिप्रेसन वा एन्जायटीको सिकार हुनेछन्। अनि हामीले उनलाई हाम्रो समय अनुकूलको ध्यान सिकाउनुपर्ने हुनेछ। मेन्टल हेल्थका बारेमा बुझाउनुपर्ने हुनेछ। अहिलेको समयका हामी जे गरिरहेका छौं, जुन गतिमा दौडेका छौं, बुद्धले त्यस्तो कहिल्यै गर्नु परेन।

हाम्रो समयमा ध्यानका पुरातन तरिकाहरूको अभ्यास गर्नु भनेको जेट प्लेनको जमानामा गोरुगाडा चढेर न्युयोर्कको बाटो लाग्नुजस्तो हो।

मान्छेको मन निकै जटिल संरचना हो र समयक्रमसँगै यो झन् झन् जटिल हुँदै जाँदै छ। मैले सुनेको हुँ कतै, राणाकालीन समयमै मान्छेको चित्त यस्तो सरल थियो। कालभैरवको मूर्तिअघि राखेर किरिया खान लगाएपछि जस्तै अपराधीले पनि आफ्नो अपराध कबुल गथ्र्याे, कमजोर मुटु भएका मान्छे कालभैरवको मूर्ति देखेरै बेहोस हुन्थे।

अहिले हामीले हरर मुभी यति हेरिसकेका छौं, यति डरलाग्दा घटना सुनेका–देखेका छौं। कालभैरवको मूर्ति हाम्रा लागि एउटा कलाकृतिबाहेक अरू केही लाग्दैन। समय दौडिएको युग हो, यो। एकैछिन पछि पर्‍यो वा कतै अल्झियो भने पछि छुटिन्छ, अहिले। त्यसैले मनले दौडनु परेको छ।

वर्षौंको साधनापश्चात् बल्ल बुढेसकालमा ख्याति पाउने जमाना गए। भाइरल भएर रातारात प्रख्यात हुने युग हो यो। हरकोही सेलेब्रिटी बन्न चाहने र बन्न सक्ने युग हो यो। त्यसैले यो दौडमा दौडँदा मन थाकेको घोडा बन्नु स्वाभाविक हो।

डाक्टर बन्न चाहेको व्यक्ति एमबीबीएसमा नाम ननिस्किएर दुःखी छ। चाहेको व्यक्तिलाई प्रेमी वा प्रेमिका बनाउन नपाएर मान्छे दुःखी छ। भइरहेको प्रेमी वा प्रेमिकासँग ब्रेकअप भएर मान्छे दुःखी छ। आफ्नो साथीको इन्स्टाग्राममा हजारौं फलोवर्स हुँदा आफ्नो केही सय मात्र भएर पनि मान्छे दुःखी छ।

हामीले बाँचेको जीवनमा दुःखका हजारौं कारण छन्। स्वाभाविक हो, यो दुःख। यी दुःखहरूका कारण मनमा लाग्ने घाउहरू पनि स्वाभाविक हुन्। त्यसैले डिप्रेसन, एन्जायटी वा अन्य मानसिक समस्या पनि स्वाभाविक हुन् यो समयमा। जसरी शरीर बिरामी हुँदा हामी सजिलै आफ्नो रोगको बारेमा कुरा गर्न सक्छौं, समस्याको निदानका बारेमा छलफल गर्न सक्छौं, त्यसैगरी मस्तिष्क र मन बिरामी हुँदा पनि हामीले सामान्य रूपमा कुरा गर्न सक्ने हुनु जरुरी छ।

हामी मानसिक विचलनका अनेक लक्षणले ग्रस्त हुँदा पनि चुपचाप तिनलाई सहन बाध्य भएका छौं। यसको अन्त्य हुनुपर्छ।

मन र त्यसमा हुन सक्ने समस्याहरूका बारेमा अहिले जति अध्ययन पहिला कहिल्यै भएको थिएन। पहिला मान्छे सबै चुपचाप सहन वा सहनै नसक्ने भएपछि आत्महत्याको बाटो रोज्न बाध्य थियो।

दिमागभित्र राक्षस नाचेजस्तो महसुस हुने, बिहान उठ्नेबित्तिकै झुन्डेर मरौंजस्तो लाग्ने, कोही छौँ भने बुझौं, हामी एक्लै छैनौं। आफ्ना समस्या नलुकाऔं। खुलेर कुरा गरौं। बुझौं र आफ्ना कमजोरीलाई आफ्नो शक्तिमा रूपान्तरित गरौं।

सुरुआत यसरी गर्न सकिन्छ—

खुसी खासमा मस्तिष्कले उत्पादन गर्ने केही न्युरोट्रान्समिटरहरूको नतिजा हो। सामान्यतः यी न्युरोट्रान्समिटरहरू आफैं उत्पादन हुन्छन्। हामीले यसको उत्पादन नियन्त्रण गर्न सक्दैनौं। यद्यपि यी न्युरोट्रान्समिटरहरू के हुन् र कसरी उत्पादन हुन्छन् भनेर बुझ्ने हो भने यिनलाई केही हदसम्म आफ्नो इच्छाअनुसार नियन्त्रण गर्न सकिन्छ।

सोझो अर्थमा भन्ने हो भने खुसी उत्पादन गर्न सकिन्छ, नियन्त्रण गर्न सकिन्छ। यसो गर्ने धेरै तरिका छन्। खुसीका मूलतः चार न्युरो ट्रान्समिटर छन्— डोपमिन, इन्डोरफिन, सेरोटोनिन र अक्सिटोसिन।

मस्तिष्कले यी कसरी र कुन अवस्थामा निष्कासन गर्छ भन्ने बुझ्यौं भने आफूले चाहेको बेला खुसी महसुस गर्न वा खुसी उत्पादन गर्न सकिन्छ। खुसीको परिभाषा व्यक्तिअनुसार भिन्न हुन्छ जस्तो देखिए पनि त्यस्तो हैन। चाहे जोसुकै व्यक्ति जेसुकै कारणले खुसी भएको भए पनि मूलतः यी चारमध्ये कुनै न्युरोट्रान्समिटरकै कारण खुसी भएको हो।

हामीले हाम्रो स्थायित्व निश्चित गर्ने कुनै काम गर्‍यौं भने पुरस्कारका रूपमा मस्तिष्कले यी न्युरोट्रान्समिटर दिने हो जसलाई हामीले खुसी भनेर बुझ्छौं। उदाहरणका लागि इन्डोरफिन भन्ने न्युरोट्रान्समिटर कुनै उत्पादनमूलक शारीरिक श्रमपश्चात् मस्तिष्कले रिलिज गर्छ।

ट्रेक, हाइक, व्यायाम, मर्निङ वाक आदि गर्दा खुसी महसुस हुनुको कारण यही इन्डोरफिन हो। दुःखी भएको अवस्थामा कुनै यस्तै शारीरिक गतिविधि गर्नाले तत्क्षण खुसी महसुस हुन थाल्छ। अर्को एउटा न्युरो ट्रान्समिटर छ, अक्सिटोसिन जो शारीरिक स्पर्शले ट्रिगर गराउँछ।

पश्चिममा मान्छे मान्छेको सम्बन्ध फितलो हुँदै जान थालेपछि उनीहरूले रूखलाई अँगालो मार्ने ‘ट्री हगिङ’ चिकित्साको विकास गराएका छन्। यसमा मान्छे रूखलाई केही बेर अंकमाल गर्छ र खुसी महसुस गर्छ। मन परेको मान्छेको हात समात्दा, उसलाई अंकमाल गर्दा, चुम्बन गर्दा पनि अक्सिटोसिन उत्पादन हुन्छ।

यसरी पनि आफूलाई खुसी राख्न सकिन्छ। नजिकका मित्र, आमा, प्रेमिकाको विशेष माया लाग्नु, उनीहरूको निकटतामा खुसी महसुस हुनु यही अक्सिटोसिनको कारणले गर्दा हो। समयमा खाना खाने, नियमित रूपमा हलुका व्यायाम गर्ने, केही बेर बाहिरफेर घुमफिर गर्नेजस्ता धेरै तरिका छन् जसबारेमा अध्ययन गरेर आफ्नो मानसिक समस्याको निदान र नियन्त्रण गर्न सकिन्छ।

आफ्ना अनिँदा रात र असाधारण रूपमा सक्रिय मनलाई उत्पादक बनाउन सकिन्छ। मनभित्र ताण्डव गर्ने राक्षसहरूलाई पाल्तु कुकुर बनाउन सकिन्छ।

यो युग नै रकेट युग हो। त्यसैले मन रकेटको गतिमा उड्नु स्वाभाविक हो। आफूले चाहेअनुसारका कुरा प्राप्त गर्न सकिनँ भन्ने लाग्नु स्वाभाविक हो। हामी सबै आआफ्ना मनभित्रका राक्षसहरूले आक्रान्त छौं।

बाहिर हँसिलो देखिएका, सामाजिक सञ्जालमा पपुलर मानिएका मान्छे सबै खुसी छैनन्। यो युगले निश्चित रूपमा हामीबाट धेरै कुराको माग र अपेक्षा गरेको छ। एकअर्कासँग खुलेर छलफल गर्ने, आफ्ना समस्या र मनका भावना पोख्न सहज हुने वातावरण निर्माण गर्ने अवस्थाको सिर्जना पनि यो युगको अपेक्षा हो। अब हाम्रो समयमा कुनै सिल्भिया प्लाथले ओभनमा टाउको राखेर आत्महत्या गर्नु नपरोस्। कुनै भ्यान गगले रङका बट्टाबाट रङ पिउनु नपरोस्। आफ्ना मानसिक समस्याका बारेमा खुलेर छलफल गर्न कसैलाई अप्ठ्यारो नपरोस्।

सफलताका साथै यो युग सिर्जना र करुणा, मित्रता र प्रेमको युग पनि बनोस्। @swamianoopamaxl


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.