वेस्ट इन्डिजका बलर कर्टनी वाल्सले मन जितेको विश्वकप
सन् १९८७ को विश्वकप क्रिकेट भारत र पाकिस्तानले संयुक्त रूपमा आयोजना गरेका थिए । लाहोरमा पाकिस्तान र वेस्ट इन्डिजबीच समूहगत चरणको खेल हुँदै थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४९.३ ओभरमा अलआउट हुनुअघि दुई सय १६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली पाकिस्तानलाई अन्तिम बलमा जितका लागि दुई रन आवश्यक थियो ।
पाकिस्तानले आफ्नो नौ विकेट गुमाइसकेको थियो । वेस्ट इन्डिजका अनुभवी बलर कर्टनी वाल्स अन्तिम ओभर बलिङ गर्दै थिए । पाकिस्तानका ब्याट्सम्यान अब्दुल कादिर ‘स्ट्राइक’ मा थिए भने सलिम जाफर ‘नन स्ट्राइकर’ ब्याट्सम्यान थिए । तर, सलिम जाफर पटकपटक वाल्सले बल फाल्नुअघि नै रन लिन दौडन्थे ।
वाल्सले सलिम जाफरलाई पटकपटक आउट गर्ने चेतावनी दिए पनि आउट भने गरेनन् । सलिम जाफरलाई जीवनदान दिएका कारण नै अन्तत : उक्त खेलमा वेस्ट इन्डिज एक विकेटले पराजित भयो । अब्दुल कादिरले अन्तिम बलमा दुई रन लिँदै पाकिस्तानलाई विजयी बनाएका थिए । उक्त खेलमा वेस्ट इन्डिज पराजित भए पनि वाल्सले क्रिकेटप्रेमीमाझ गतिलै चर्चा बटुलेका थिए ।
सो विश्वकपमा वेस्ट इन्डिज समूहगत चरणबाटै बाहिरिएको थियो । भलादमी क्रिकेटरको छवि बनाएका वाल्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजका लागि दुई सय पाँच खेल खेल्दै कुल दुई सय २७ विकेट लिएका थिए । उनले सन् २००० को जनवरीमा न्युजिल्यान्डविरुद्घ आफ्नो खेल जीवनको अन्तिम एकदिवसीय प्रतियोगिता खेलेका थिए ।