शिक्षकले गर्न सक्ने फरक काम

शिक्षकले गर्न सक्ने फरक काम

शिक्षकहरूका अगाडि यहाँ एउटा सुनौलो अवसर उभिएको छ। यो अवसरको सदुपयोग गर्दा शिक्षा क्षेत्रमा एउटा ‘क्रान्ति’ आउनेछ। यसबाट विद्यार्थीले गाउँ–सहर बुझ्ने र देश चिन्ने अवसर पाउने छन्। एक ठाउँको ज्ञान अर्को ठाउँमा वितरण हुनेछ। विद्यार्थीको प्रतिभा निखारिनेछ र क्रमशः यो उपलब्धिलाई अन्तर्राष्ट्रिय समुदायसम्म जोड्न सकिनेछ। हो, यहाँ चर्चा गर्न थालिएको विषय हरेक विद्यालयले आफ्नो परिवेश चिनाउने र विद्यालयले ओगटेको ठाउँमा भएका कृषि, सामाजिक, सांस्कृतिक, औद्योगिक र वैज्ञानिक उपलब्धिहरूको ‘भिडियो’ निर्माण गर्नेबारे हो।

विद्यार्थीहरू नियमित रूपमा विद्यालय आएकै छन् र अध्ययन गरिरहेकै छन्। उनीहरूले निश्चित तह पार गरेपछि विद्यालय छाड्ने छन्। तर, शिक्षकले चाहेमा विद्यार्थीको कार्यकाललाई अविस्मरणीय बनाउन सक्छन्। भिडियो निर्माणमा शिक्षकले नेतृत्व लिन सक्छन्। १ देखि ३ कक्षासम्म सञ्चालित विद्यालयका शिक्षकले विद्यार्थीलाई सहभागी गराउने तर विभिन्न कार्य आफैं गर्नेछन्। कक्षा ५ सम्मका विद्यालयमा ४ र ५ का विद्यार्थीलाई विशेष रूपमा सहभागी गराउन सकिनेछ। ८ कक्षासम्म सञ्चालित विद्यालयमा ४ देखि ८ कक्षाकै विद्यार्थी सहभागी हुन सक्छन्। यसैगरी १० सम्म र १२ सम्म सञ्चालित विद्यालयमा त्यहीअनुसारको अवस्था सिर्जना गर्न सकिन्छ।

हरेक विद्यालयमा प्रविधिमा विशेष चासो राख्ने शिक्षक हुन्छन्। कक्षा ८, १० वा १२ सम्म सञ्चालित विद्यालयमा त विद्यार्थी नै पनि यस विषयमा केही मेसो पाएका र कतिपय त दक्ष नै हुन्छन्। शिक्षकले प्रतिभा पहिचान गरेर र बाँकीलाई अवसर दिएर सहकार्यको वातावरण बनाउन सक्छन्। सरकारको आर्थिक सर्वेक्षण ०७४÷७५ मा नेपालमा ३५ हजार ६०१ विद्यालय रहेको उल्लेख छ। यसमा सामुदायिक विद्यालय २७ हजार ८८३, संस्थागत ६ हजार ५६६ र धार्मिक १,१५२ छन्। आधारभूत तहमा ५८ लाख ३७ हजार, माध्यमिक तहमा ९ लाख ७१ हजार र विभिन्न विश्वविद्यालय र अन्तर्गतका क्याम्पसमा अध्ययनरत विद्यार्थीको संख्या ४ लाख ५३ हजार छन्। तिनलाई शिक्षण–प्रशिक्षण गर्ने शिक्षकको संख्या नै ३ लाख २२ हजार रहेको तथ्यांक छ।

नेपालमा एक करोड ६५ लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन्। यसमा १५–६५ उमेर समूहका ७२ प्रतिशत नेपाली मोबाइलसँग जोडिएका छन्। यसमध्ये ६० प्रतिशत फोन इन्टरनेट चल्ने स्मार्टफोन छन् र ४६ प्रतिशत उपभोक्ता इन्टरनेटबारे जानकार छन्। यो तथ्यांक एसियाली देशहरू भारत, पाकिस्तान, म्यानमार, बंगलादेश र कम्बोडियाभन्दा उच्च स्थिति हो। जस्तो– एक संस्था वा एक घरमा एक डीएसएलआर क्यामेरा, ल्यापटप वा डेक्सटप पाइने अवस्था छ। अनलाइन डाटा वा वाइफाई सुविधा अब पहुँचबाहिरको विषय बन्न छाडेका छन्। अर्थात्, सहज छ।

हरेक दिन एक विद्यालयमा सानो–ठूलो खुसी प्रकट भइरहेकै हुन्छ। त्यो विद्यार्थीका गतिविधि, कक्षाकोठा र वरिपरिको वातावरणमा सहज भेटिन्छ। कथा, कविता, निबन्ध, खेलकुद, सरसफाइ, वतृmत्वकला, नृत्यकला, अभिनयकला, नक्कल कलादेखि विज्ञान–प्रविधिको विकास र प्रयोग, सामाजिक एवम् मानवीय उत्तरदायित्व बहन, अनुसन्धान तथा अध्ययन भ्रमण आदि यसका विषयगत पाटो हुन सक्छन्।

विद्यार्थीका सफलताका कथा, अभिभावकका प्रेरणादायी भावना, स्थानीय समुदायका सकारात्मक विचार यसको हिस्सा बन्न सक्छन्। यसले एकातर्फ विद्यालयको प्रचार अभियानलाई सघाइरहेको हुन्छ भने अर्कोतर्फ ठूलो खुसीको खोजीमा रुमलिनुभन्दा ससाना खुसीमा रमाउने परिपाटी निर्माण गर्छ।

एक विद्यालयले एक दिनमा एक श्रव्यदृश्य सामग्री सम्प्रेषण गर्ने हो भने २६ दिनमा नौ लाख २५ हजारभन्दा बढी खुसी बाँडिनेछ। यस अनुपातमा वर्षमा १ करोडभन्दा बढी खुसी सार्वजनिक हुनेछन्। यसले नेपालीमा व्याप्त निराशालाई आशावादितामा बदल्न मद्दत गर्छ। नकारात्मक भावनामाथि सकारात्मक दृष्टिकोण दिन भूमिका खेल्छ। विद्यालय र शिक्षकको भूमिकामाथि थप विश्वास र भरोसा बढाउन यो ‘क्रिया’ शक्ति बन्छ। अर्थात् सकारात्मक ऊर्जा, चिन्तन, विश्वास र भरोसाका लागि हामीले समाजको मात्र होइन, देशका प्रत्येक जसो घर र मनसँग जोडिएको तत्वलाई रूपान्तरणको सशक्त माध्यम बनाउने बाटो खुला छ।

क्यामेरा एवम् छायांकन

दृश्यांकनका लागि क्यामेरा अनिवार्य सामग्री हो। क्यामेराले घटना, पात्र, क्रियाकलाप तथा बिम्बलाई दृश्य र ध्वनिमा रूपान्तरण गर्छ। क्यामेराको स्तरसँग श्रव्यदृश्य गुणस्तर सम्बन्धित हुन्छ। सामान्यतया संसारभर १९२० बाई १०८० रेजुलेसनको भिडियो चलनमा छ। यसलाई फूल एचडी पनि भनिन्छ। डीएसएलआर, क्यामकोडर, ह्यान्डीक्यामसँगै अहिले आधुनिक मोडलका मोबाइलमा उक्त रेजुलेसन उपलब्ध छ। विकल्पमा एसडी रेजुलेसनमा छायांकन गर्न पनि सकिन्छ। यी क्यामेरा तपाईंहामी सबैको सहज पहुँचमा छन्।

महत्त्वपूर्ण कुरा, क्यामेरा चलाउने व्यक्तिले विषयको गहिराइ बुझेको हुनुपर्छ भन्ने हो। सुझबुझका आधारमा विषयमाथि न्याय गर्नु छायाकारको कर्तव्य हो। घटना वा गतिविधि भइरहेको स्थान कस्तो छ, पात्र एवम् चरित्र कुन अवस्थामा कहाँ र कसरी रहेका छन्, यसको अध्ययन तत्कालै गर्न सक्ने क्षमताचाहिँ खिच्ने व्यक्तिमा हुनैपर्छ। यसले ध्वनि र प्रकाश व्यवस्थापनमा मद्दत पुर्‍याउँछ। भीडभाडको हल्ला वा वरिपरिको मोटो ध्वनिले मूल विषयलाई कमजोर बनाउँछ। अनावश्यक प्रकाश परावर्तन तथा विपरीत वा नकारात्मक प्रकाश (एन्टीलाइट) ले दृश्यलाई धमिल र अस्पष्ट बनाउँछ। श्रव्यदृश्य कमजोर हुँदा विषयवस्तुको गाम्भीर्य नै कमजोर हुन्छ र दर्शक असन्तुष्ट बन्न सक्छन्।

हल्लाको होइन, विवेक र सीप उपयोग गरेर आफैं र अरूलाई पनि खुसी बनाउन भर्चुअल टुल्स जानेर सकेको प्रयोग गरौं, दुरुपयोग होइन।

पात्रमाथि दबाब बनाइराख्ने, बीचमा रोक्ने अथवा असहज हुने गतिविधि छायांकनको अस्वाभाविक प्रक्रिया हो। पात्रको स्वाभाविक तथा यथार्थपरक क्रियाकलाप श्रव्यदृश्यको सरलता हो। यसर्थ, क्यामेरा चलाउने व्यक्ति अनुसन्धान गर्ने, सामाजिक संरचनाको जानकार, पात्रको मनोविज्ञान पढ्न सक्ने, कथाको गहिराइ बुझ्ने र दृश्य गुणस्तर बनाउने क्षमताको हुनुपर्छ। छायांकन गरिरहँदा अब तत्काल के हुँदै छ वा हुन सक्छ भन्ने अनुमान गर्न सक्ने र त्यहीअनुरूप आफूलाई ढाल्न सक्ने वा तयार गर्न सक्ने क्षमता छायाकारमा हुनु भनेको सोच, विचार र चिन्तनमा रूपान्तरण र जागरणको पनि प्रक्रिया श्रव्यदृष्यमार्फत सुरु हुनु हो भनेर बुझ्नुपर्छ।

क्यामेराको फोकस एरिया ‘विषयकेन्द्रित’ हो। मानौं, एउटा पात्र केही वस्तु देखेर हाँसिरहेको छ, यसबेला विषयको केन्द्र पक्ष पात्रमा झल्केको भाव हो। केन्द्रीय पक्षको छायांकनपछिको चरणमा स्वाभाविक क्रिया वा सृजित प्रतिक्रियामा ध्यान पुर्‍याउन आवश्यक हुन्छ। पात्र कुन वस्तु देखेर हाँसेको रहेछ, यसको खुलासा महत्त्वपूर्ण छ। तत्पश्चात् पात्र, स्थान, सन्दर्भको वास्तविकता उजागर हुनुपर्छ। ऊ कहाँ छ, को हो र के गर्दै छ भन्ने जिज्ञासा मेटिनुपर्छ। प्रविधिगत रूपमा कम्पोजिट सट, मिडियम सट, क्लोज—अप सटजस्ता सट साइजको माध्यमद्वारा कथामा अनुभूति र पात्रप्रतिको भाव जगाउन सकिन्छ।

दृश्य सम्पादन

दृश्य सम्पादनलाई हामी उत्पादनअघिको चरण मान्छौं। अर्थात्, यसलाई पोस्ट प्रोडक्सन पनि भनिन्छ। यहाँ दृश्य, ध्वनि, तस्बिर, चित्र, अक्षरहरू सम्पादन सामग्री हुन्। ल्यापटप वा डेक्सटप कम्युटरबाट श्रव्यदृश्य सम्पादन गर्न सफ्टवेयरको प्रयोग अनिवार्य छ। यो काम मोबाइलबाट पनि गर्न सकिन्छ। एडोभ प्रिमियर, फाइनल—कट प्रो, एबिट सफ्टवेयरहरू व्यावसायिक सम्पादनमा चल्तीमा छन्। यसबाहेक मुभिमेकरबाट पनि सम्पादन गर्न सकिन्छ। तर, यो त्यति प्रभावशालीचाहिँ हुँदैन। यी सफ्टवेयरहरू सर्च इन्जिनबाट पनि उपलब्ध हुन्छन्।

मोबाइलबाट दृश्य सम्पादन असजिलो त छ तर समय र उपलब्धतालाई ध्यानमा राखी ‘आधारभूत सम्पादन’ गर्न भने सकिन्छ। एन्ड्रोएड सिस्टम भए प्ले स्टोर र आईओएस (एप्पल सिस्टम) भए एप्पल स्टोरबाट सफ्टवेयर स्थापित गर्नुपर्छ। धेरैजसो सफ्टवेयर वा एप्लिकेसन निःशुल्क पाइन्छ। एप्पलका लागि आईमुभी र एन्ड्रोएडका लागि एक्सन डाइरेक्टर भिडियो एडिटरजस्ता एप्लिकेसन आजभोलि निकै प्रयोगमा छन्।

अझ गुणस्तरीय र प्रभावकारी बनाउन एडोभ प्रिमियर कामकाजी हुन सक्छ। यो सफ्टवेयरमा अंकित टुल्स र प्रोसेसबाट श्रव्यदृश्य सामग्री तयार पारिन्छ। एक नयाँ प्रोजेक्ट सृजना गरेपश्चात् आफूलाई चाहिएको फाइल इम्पोर्ट (स्टोर गरिएको फाइलबाट आयात) गर्नुपर्छ। अनुक्रम (सिक्वेन्स) बनाएपछि समयरेखा (टाइमलाइन) मा दृश्य लयबद्ध हुन्छ। ध्वनि तथा दृश्य ट्र्याकहरूमा विषयवस्तुअनुरूप टुल्स प्रयोग गर्न सकिन्छ। श्रव्यदृश्य जोड्न, काट्न, बढाउन, घटाउन, तन्काउन, दौडाउन, खुम्च्याउन, हटाउन टुल्सको प्रयोग हुन्छ। दृश्यमाथि इन्सर्ट दृश्य राख्नुपरे वा शब्दमा विवरण दिनुपरे अर्को ट्र्याक प्रयोग गर्ने विकल्प उत्तम हुन्छ।

पाश्र्व संगीत पनि यसैगरी राख्न सकिन्छ। मोबाइल डिभाइसबाट सम्पादन गर्ने शैली झन्झटिलो त हुन्छ तर प्रक्रिया उस्तै हो। एक ढिक्का भिडियो बनाउने कार्य (रेण्डरिङ) सम्पादनको अन्तिम चरण हो। आवश्यकताअनुसारको फाइल फम्र्याटमा वा पूर्वनिर्धारित व्यवस्थाअनुरूपका प्रारूपमा भिडियो मास्टर बनाउनेचाहिँ सम्पादनको पनि अन्तिम चरणको काम हो।

‘दृश्य सम्पादक’ उत्पादन हुने सामग्रीको पहिलो दर्शक मात्र होइन, पहिलो न्यायाधीश वा निर्णायक पनि हो। अतः उत्तम नतिजा प्राप्त गर्न सम्पादकको विवेक, धैर्य र लगनशीलताले अहम् भूमिका खेल्छ। विषयको जीवन्तता र यथार्थ अवलोकन गर्ने दर्शकको अधिकारलाई सधैं अंगीकार गर्नु सम्पादकको मूलभूत दायित्व बन्छ। लेख्ने, खिच्ने र सम्पादन गर्नेको सोच र चिन्तन मिल्यो भने मान्नुहोस् बजारमा केही गुणस्तरीय उत्पादन आउँदै छ।

भिडियो सम्प्रेषण

उत्पादन गरिएका भिडियोहरू सम्प्रेषण गर्ने किफायती माध्यम सामाजिक सञ्जाल हो। भर्चुअल दुनियाँका लागि सामाजिक सञ्जाल औजार मात्र होइनन्, हतियार पनि हुन्। अर्थात्, सामाजिक सञ्जाल व्यक्ति, समूह, समाज, राष्ट्र, विश्वमै सञ्चार र सूचनाको सशक्त माध्यम हुन्। हामीले सुनेको नागरिक पत्रकारिता (सिटिजन जर्नालिजम) को योभन्दा ठूलो मैदान नै अरू छैन। ब्लग र माइक्रो ब्लगको रूपमा ट्विटर, सामग्री समुदायका रूपमा युट्युब, सामाजिक नेटवर्किङ साइटका रूपमा फेसबुक, आभासी सामाजिक दुनियाँका रूपमा सेकेन्ड लाइफलगायत दर्जनौं साइट सक्रिय छन्। यसमा मानिसले आफ्नो विचार विनारोकतोक राख्न सक्नेछन्।

द सोसल मिडिया टुडेका अनुसार नेपालमा एक करोड ८० लाख सामाजिक सञ्जाल प्रयोगकर्ता छन्। फेसबुक प्रयोगकर्ता मात्र ९० लाख छन्। सन् २०१६ मा विश्वभरका विद्यार्थीमाझ गरिएको अध्ययनले फेसबुक चलाउनेको संख्या अरूभन्दा बढी रहेको देखाएको थियो। फेसबुकमा एकअर्कासँग साथी बनाउनेदेखि भिडियो अपलोड गर्नेसम्मका सुविधा उपलब्ध छन्। युट्युब भिडियो राख्न, निकाल्न तथा हेर्न मिल्ने क्षेत्र हो। यहाँ कथानक चलचित्र, चलचित्रका अंश, टेलिभिजन कार्यक्रम, म्युजिक भिडियो, वृत्तचित्र फिल्म, व्यक्तिगत सामग्री भण्डारण सुविधा छ। सूचना तथा भिडियो अपलोड एवम् संग्रहस्थल गुगल पनि हो। ट्विटर, इस्टाग्राम, प्रिन्टरेस्ट आदिको प्रयोग बढ्दो छ। कैयन् वेबसाइटले निश्चित मापदण्डका आधारमा व्यापार प्रवर्धन गर्न र त्यसबाट आम्दानी हुने व्यवस्था पनि गरेको छ। यी माध्यम सृजनात्मक र विध्वंस दुवै कार्यका लागि शक्तिशाली छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सम्प्रेषण एवम् सार्वजनिक गर्नु लाभदायक छ र बहुउपयोगी छ। अन्तर्जाल वा अन्य माध्यमद्वारा निर्मित भर्चुअल दुनियाँको दौडमा तपाईंहामीले कुन विचार दिएर पाइला बढाउने छौं, भावी पुस्ता त्यही विचारको प्रतिनिधि हो। यसर्थ, आभासी समूहलाई उच्च पारस्परिक मञ्च बनाऔं। खुसी बाँडौं।

हल्लाको होइन, विवेक र सीप उपयोग गरेर आफैं र अरूलाई पनि खुसी बनाउन भर्चुअल टुल्स जानेर सकेको प्रयोग गरौं, दुरुपयोग होइन।

–प्याकुरेल वरिष्ठ वृत्तचित्र फिल्म सम्पादक हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.