पूर्वीय र पाश्चात्य खानपिन
विदेशमा आफू बसेको ठाउँमा ‘यस्तो नराम्रो छ, उस्तो नराम्रो छ’ भन्दै आफ्नै देशको उछितो काटेर नथाक्नेहरूका लागि हाम्रो संस्कार र चालचलन कति वैज्ञानिक छ भन्नेबारेमा यहाँ तुलनात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ।
पंक्तिकार यस सम्बन्धमा कुनै विशेषज्ञ हैन। आफ्नो बाल्यकालमा गाउँमा देखेभोगेको अनुभव र पाश्तात्य देशमा बसिरहँदा देखेभोगेको अनुभवलाई तुलना मात्रै गरेको हुँ। हाम्रो जेनेरेसन जो ७० देखि ९० दशकको बीचमा गाउँमा जन्मियो उनीहरूले एउटै जीवनमा धेरै कुरा देख्न पाए। पूर्णरूपमा प्रविधिविहीन बाल्यकाल हुर्केर, बाल्यकालमा कल्पनै नगरेको प्रविधिसँग वैश्यककाल बिताइरहेको छ यो पुस्ताले।
मेरो ३९ वर्षको जीवनलाई तीन भागमा विभाजन गरिएको छ– एसएलसी दिँदासम्मको गाउँको बसाइ, क्याम्पस पढ्दा र क्याम्पस अध्यापक हुँदा र अहिले बिताइरहेको विदेशको जिन्दगी। मेरो यो लेखाइको लक्ष्य मैले पहिलो चरणमा बिताएको जीवनमा देखेभोगेको चालचलन जुन पूर्णतया पूर्वीय थियो र तेस्रो (अहिले बिताइरहेको) जिन्दगीमा देखेभोगेको चालचलन जुन पूर्णतया पाश्तात्य हो। त्यसको तुलना गर्नु हो। मैले यी जीवनशैलीलाई चार भागमा विभाजन गरेको छु– खानपिन शैली, बिहानको जीवनशैली, दिसापिसाब शैली र मनोरञ्जन शैली।
अहिले चर्चा गरौं– खानपिन शैलीबारेमा। पूर्वीय चलनअनुसार बिहानको ब्रेकफास्ट खाने चलन हुँदैन। बिहानको खाना ओजिलो खाने चलन रहन्छ। किनकि दिनमा काम गर्नुपर्ने हुन्छ। लन्च र डिनर हल्का खाने चलन हुन्छ। मेरी हजुरआमा बेलुकाको खाना थोरै खाए बल धेरै खाए मल भन्नुहुन्थ्यो। किनकि बेलुका खाएपछि काम केही हुँदैन। खासमा बेलुकाको खाना ओजनदार खाइयो भने पाचन प्रक्रियाको शरीर सक्रिय हुन्छ जसले गर्दा सुताइमा असर गर्छ त्यसले तागत सृजना गर्छ तर त्यो प्रयोगमा नआउने भएकाले पनि शरीरलाई हानिकारक हुन्छ।
अझ आयुर्वेदले त रोगी, अशक्त, बालबच्चा र बूढाबूढीबाहेकले दिनमा दुईपटक मात्र खानुलाई स्वस्थकर मान्छ। आयुर्वेदको एउटा भनाइ छ ः स्वस्थ रहन चाहनेले अघिल्लो खाना पचिसकेपछि मात्रै दोस्रो खाना खानुपर्छ।
जोगी एवं सन्न्यासीहरूले दिनको एकपटक मात्रै खाने गर्छन् र उनीहरू बढी स्वस्थ रहन्छन्। हाम्रो खाना दाल, भात, तरकारी र अचार खानाको उत्तम मि श्रण हो। दाल प्रोटिन, भात कार्बोहाइडेट, तरकारी भिटामिन एवं मिनरल र अचार पाचक हो। त्यसमा अझ दूध, दही र मही थपेपछि सबैभन्दा उत्तम खानाको प्याकेज तयार हुन्छ। हाम्रो परम्परागत शैलीमा खाना बनाउनका लागि भान्साघरको अलि भित्री भाग कुनामा अरू भुइँभन्दा अलि उचो बनाउने गरिन्छ।
भान्सा उचो र अलि भित्री भागमा बनाउनुको अर्थ बाहिरका कीटाणु हतपत प्रवेश गर्न नसकून् भनेर हो। भान्सालाई हरेक बिहान खाना बनाउनुभन्दा पहिला र खाइसकेपछि ताजा गोबर माटोले पोत्ने चलन हुन्छ। जसले गर्दा कुनै विषाक्त कीटाणु भान्सामा प्रवेश गर्न पाउँदैन। भान्सामा जुठो रह्यो वा जुठो भाँडा राखियो भने अलच्छिन लाग्छ भन्नुको तात्पर्यन ै जुठो रह्यो भने त्यसले दूषित बनाउँछ भन्नु हो। खाना पकाउने महिलाले पनि खाना पकाउने बेलामा छुट्टै चोखो कपडा लगाएर पकाउने गरेका हुन्छन्। अझै सेतो कपडा नै भान्साका लागि उत्तम मानिन्छ। यहाँ पाश्चात्य देशहरूमा पनि खानेकुरा उत्पादन गर्ने फ्याक्ट्रीहरूमा बाहिरको कपडा लगाएर भित्र जान पाइँदैन।
हाम्रो परम्परामा खाना खाने बेलामा लुगा फेर्ने चलन पनि त्यही नै हो। बाहिर गएर आएको कपडामा कीटाणु हुन सक्छ र खानालाई त्यसले दूषित बनाउन सक्छ भनेरै हो। खाना खाने बेलामा औसेनी गर्ने चलन पनि वैज्ञानिकनै छ। खाना खाने वरिपरि पानी छर्कनु धुलोहरू नउडोस् भनेर हो भने थोरै खानालाई बाहिर राख्नु झिँगा माखा आयो भने पहिला बाहिरको खानामा बसोस् भनेरै हो। खाना खाएको बेलामा नबोल्ने चलन पनि पूर्वीय नै हो।
आधुनिकतासँग घुलमिल भएका पछिल्लो पुस्तामा पूर्वीय संस्कारको ज्ञानसमेत छैन। हामी बाहिर बस्नेले पनि आफ्नो संस्कृति र चालचलन अरूलाई सिकाउन जरुरी छ।
अँगेनामा गाईवस्तुहरूका लागि कुँडो पकाउने भएकाले र बोकेर लगेको खाना चिसो हुने र बाटोमा कीटाणुको संक्रमण हुन भएकाले बाहिर पकाएको खाना खाइँदैन। बूढापाकाहरू जहाँ गयो त्यहीं पकाएर खान्छन् तर अन्यत्रै पकाएर बोकेर लगेको खाना खाँदैनन्। बासी खाना खान हँुदैन भन्ने चलन छ। तर पाश्तात्य संस्कृतिमा एक दिन खाना बनाएर हप्ताभरि खाने चलन हुन्छ। त्यस्तै सुपर मार्केटबाट खाना किनेर खाने गर्छन्।
त्यो फ्याक्ट्रीमा मेसिनद्वारा उत्पादन भएको खाना कसरी स्वस्थकर हुन्छ र ? वासी खानालाई माइक्रोवेभमा तताएर खाने चलन पनि ठीक हैन। माइक्रोवेभमा तताउँदा त्यसले सृजना गर्ने तरंगले सबै पौष्टिकता नष्ट हुन्छ। पाश्तात्य देशमा जंकफुड खाने चलन हुन्छ। हुन त त्यसकै देखासिकी गरेर नेपालमा पनि अनिवार्य खानाजस्तै जंकफुडको प्रयोग हुन थालिसक्यो। त्यसमा न त पानीको मात्रा नै हुन्छ। सबै कृत्रिम रङ मिसाएर आकर्षक मात्र बनाइएको हुन्छ। अझ भन्नुपर्दा जंकफुड एक प्रकारको विष नै हो।
हाम्रो पूर्वीय संस्कारमा मासु पनि एकदमै कम खाने प्रचलन छ। मासुलाई एक अशुद्ध भोजनको रूपमा लिइन्छ। त्यसैले औंसी, पूर्णिमा, एकादशी, श्राद्ध, पूजापाठ लगाउँदा मासुलाई बिटुलो मानिन्छ। गाउँघरतिर शाकाहारीले मान्छे मरे घाट, जन्तु मरे पेट भनेर मासु खानेलाई व्यंग्य गर्थे।
पाश्चात्य खानपिनमा अत्यधिक मात्रामा मासुको प्रयोग हुन्छ। सुपर मार्केटतिर कुनै न कुनै मासु नमिसिएको खान नै हुँदैन। मासुमा अझ धेरै गाईको मासु प्रयोग हुन्छ। यहाँ त मासु भनेकै गाईको भनेर बुझिन्छ। गाईको मासुमा अत्यधिक रातोपना हुन्छ, जुन एकदमै हानिकारक हो।
गाईको मासु हिन्दुहरूले किन खाँदैनन् भन्ने सन्दर्भमा एउटा अनुभव सुनाउन मन लाग्यो। म केही वर्षअघि एउटा फ्रेन्च मल्टिनेसनल कम्पनीमा काम गर्थें। त्यहाँ प्रवेश गर्दा पुराना कामदार मुस्लिम धर्मावलम्बीसँग गाईको मासुको विषयमा विवाद भएको थियो। मानिस सर्व श्रेष्ठ भएकाले एकै ठाउँमा दिसापिसाब गर्ने प्राणीको पूजा किन गर्ने ? अनि मैले उनलाई छुट्टै बोलाएर गाईको महŒवका विषयमा सम्झाएँ। ‘परापूर्वकालमा जतिखेर मान्छेहरू जंगलमा बस्दा जीवजन्तु निकै सीमित पाइन्थे। गर्भवतीले बच्चा जन्माएर आफू मरेको अवस्थामा गाईको दुध बच्चालाई बचाउने एक मात्र उपाय हुन्थ्यो। गाईको दूधले नै बच्चाको जीवन जोगिने हुनाले गाईलाई आमा वा भगवान्का रूपमा पूजा गरिएको हो। बाँधेर राख्ने भएकै कारण गाईले बसैकै ठाउँमा दिसापिसाब गर्छ’ भनेर सम्झाएँ।
हिन्दु धर्मको हरेक चालचलन वैज्ञानिक छन् र सान्दर्भिक पनि। गाउँमा जीवनभर एउटा सिटामोल पनि नखाएर एक सय वर्ष बढी बाँचेका मानिस पनि देखेको छु। उनीहरू सधैं स्वस्थ हृस्टपुस्ट हुनुको कारण नै स्वच्छ खानपिन हो। पश्चिमामा पूर्वीय चलनविपरीत छ। खाना पटक–पटक खाने चलन छ।
हामीकहाँ पवित्र मानिएको भान्सा उनीहरूको शौचालयछेउमै राखिएको हुन्छ। यो एकदमै अवैज्ञानिक हो। यसैले गहिरिएर विश्लेषण गर्ने हो भने हाम्रो हिन्दु परम्परा वा पूर्वीय जीवनशैली हरेक हिसाबले वैज्ञानिक छ। आधुनिकतासँग घुलमिल भएका पछिल्लो पुस्तामा पूर्वीय संस्कारको ज्ञानसमेत छैन। आफ्नो देशभित्र मात्रै होइन, हामी बाहिर बस्नेहरूले पनि आफ्नो संस्कृति र चालचलन अरूलाई सिकाउन जरुरी छ।