अंगदान गरी जीवन बचाऊँ
डा. पुकारचन्द्र श्रेष्ठ । मृत्युपछि शरीर डढेर वा गलेर जान्छ। त्यसैले मरणोपरान्त अंगदान गर्दा अरू कसैको जीवन बच्छ। अंगदान जीवनदान हो, अंगदान गरेर पुण्य आर्जन गर्न सकिन्छ। मरेपछि खरानी हुने, नास भएर जाने अंग दान गरी अरूलाई पुनर्जीवन दिने पवित्र कार्यबारे धेरैलाई जानकारी छैन। मृत्युपछिको अंग दानका लागि नाम दर्ता गराउनुपर्छ।
मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो प्रत्यारोपण गर्न हामी सफल भएका छौं। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला र कलेजो प्रत्यारोपण भइसकेको छ। रोगले मिर्गौला र कलेजोलाई असर पारिरहेको छ। अल्पायुमै ज्यान गुमाउनेहरू बढेका छन्। एक वर्षमा हजार जनाको मस्तिष्क मृत्यु हुने अनुमान छ। ती सबैले अंगदान गरेको भए हजारौं व्यक्तिले पुनर्जीवन पाउँथे। मस्तिष्कपछिको अंग दान कुनै व्यक्तिको अस्पतालमा आईसीयूमा रहेको अवस्थामा मस्तिष्क मृत्यु भई घोषणा भएपछि मात्र सम्भव हुन्छ। घरमा मृत्यु भएका व्यक्तिको निर्धारित समयभित्र आँखा दान मात्र सम्भव हुन्छ।
मस्तिष्क मृत्यु भएका व्यक्तिले सास लिन सक्दैन। सासका लागि भेन्टिलेटरमा निर्भर रहन्छन्। भेन्टिलेटरको सहायताले सास लिए पनि नाडी, रक्तचाप, एवं अन्य लक्षण चिकित्सकले महसुस गर्न सक्छन्। मस्तिष्क मृत्यु भएको व्यक्तिलाई चिकित्सा विज्ञानले पूर्णरूपमा मृत घोषित गर्छ। यस्तो अवस्थामा मृत व्यक्तिको नातेदारको सहमतिमा अंग निकाल्ने काम गर्न सकिन्छ।
अंगदान गर्न व्यक्तिले चाहना राखे पनि कतिपय अवस्थामा परिवारको सदस्य बाधक हुने गरेका छन्। कोमामा रहेको बिरामी कुनै पनि बेला ठीक हुने सम्भावना रहन्छ। कोमाको बिरामीलाई मस्तिष्क मृत्यु भएको घोषणा गर्न सकिँदैन। तोकेको योग्यता पुगेका चिकित्सकमध्ये बिरामीको उपचारमा संलग्न सम्बन्धित विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गर्छ। स्वास्थ्य परीक्षण गर्ने डाक्टर प्रत्यारोपणमा संलग्न हुन पाउँदैनन्। मस्तिष्क मृत्युपछि प्राप्त अंगको सम्भव भएसम्म चाँडो प्रत्यारोपण गर्नुपर्छ।
मृत्युअघि नै अंगदान गर्न चाहेको लिखित मञ्जुरी दिएको हुनुपर्छ। लिखित मञ्जुरी नभएको अवस्थामा मृतकको परिवारको कुनै सदस्यले मृतकको शरीरको अंग दान गर्न लिखित मञ्जुरी दिएको हुनुपर्छ। १८ वर्ष नाघेका व्यक्तिले स्वेच्छाले नजिकको नातेदारलाई अंग दान गर्न सक्छन्।
( डा. श्रेष्ठ सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक हुन्)