गण्डकीमा छुट्टाछुट्टै घटनामा तीनको मृत्यु
पोखरा : कास्की, मनाङ र स्याङ्जामा भएका छुट्टाछुट्टै घटनामा तीनजनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–११ फूलबारीस्थित प्रगति टोलमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार इन्द्रप्रसाद पाठकको निर्माणधीन घरमा पानी तान्ने मोटरको बिजुलीको तार छुटाउने क्रममा पोखरा–१३ भद्रकाली बस्ने १८ वर्षीय प्रवीण नेपालीको मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रहरी कार्यालय पोखराले बताएको छ ।
यस्तै मनाङको नार्फाभूमि गाउँपालिकाको घ्याङसेङ भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर २ बस्ने ३४ वर्षीया ढोल्मा नाङसेङ लामा यार्सा गुम्बा संकलन गर्ने क्रममा भीरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार भीरबाट लडेर उनी करिब ७ सय मिटर तल खसेकी थिइन् ।
शनिबार नै स्याङ्जामा कालीगण्डकी नदीले बगाएर एकजनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका–२ भुरडाँडाकी २५ वर्षीया मीना थापाको नदीले बगाएर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार कालीगण्डकी नदी किनारमा रहेको गुठी मन्दिर घुम्न दिदीसँग गएकी उनले हात खुट्टा धुने क्रममा नदीले बगाएको हो ।