कोरला सडकलाई गति दिन आग्रह
मुस्ताङ : उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण कम्पनीलाई काम छिटो गर्न आग्रह गरेको छ । करिडोरले मुस्ताङबाट निर्वाचित संघीय सांसद प्रेमप्रसाद तुलाचन, म्याग्दीका प्रमुख जिल्ला अधिकारी स्थानीय जनप्रतिनिधिलगायतलाई साक्षी राखेर बिहीबार निर्माण कम्पनीमाथि दबाब सिर्जना गरेको हो ।
करिडोरले मुस्ताङ र म्याग्दीलाई पायकपर्ने गरी म्याग्दीको तातोपानीमा कार्यक्रम गरेको हो । करिडोरले बेनीदेखि कोरलासम्मको ११ वटा खण्डको सडकको काम र उक्त क्षेत्रमा पर्ने निर्माणाधीन १२ वटा पुलका निर्माण व्यवसायीलाई एकै ठाउँमा भेला गराएर छलफल गरेको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । उनले कोरला सडकमा भइरहेको प्रगति र काममा भइरहेको ढिलाइका सम्बन्धमा बृहत छलफल भएको आयोजना प्रमुख अधिकारीले बताए ।
आयोजना प्रमुख अधिकारीका अनुसार राष्ट्रिय गौरवको आयोजनामा भइरहेको सुस्ततालाई गतिदिन ठेकेदारलाई सुझाइएको हो । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेकाले परिवर्तित नियमानुसार निर्माणकार्य गर्न निर्माण कम्पनीलाई जानकारी गराइएको आयोजना प्रमुख अधिकारीले उल्लेख गरे ।
म्याग्दी र मुस्ताङ प्रशासनको संयुक्त रोहबरमा भएको छलफलमा ११ वटै खण्डका निर्माण कम्पनीका आधिकारिक व्यक्तिले प्रत्येक ठेक्काको प्रगति समीक्षा गर्दै भइरहेको सडक निर्माण कम्पनीलाई निर्धारित समयसीमा तोकी समयमै कार्यसम्पादन गर्न प्रतिबद्धता जनाएका छन् । करिडोर सडकले आयोजना गरेका अहिलेसम्मका ३ वटा बैठकमध्ये यो बैठक बृहत भएको आयोजनाका इन्जिनियर जगत प्रजापतीले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनाको जोमसोम–कोरला सडक २०७३ साल असार पहिलोसाता सम्झौता भएको हो । कुल ७ खण्डमा भइरहेको सडकको उपल्लो मुस्ताङको छोसेर कोरला १८ किमि सडक करिडोरलाई हस्तान्तर भइसकेको छ । २ वर्षभित्र सक्ने सम्झौता भएको जोमसोम–कोरला सडकको समयसीमा दोस्रोपटक म्याद थपिएको हो । थपिएको समय पनि असारमा म्याद सकिँदै छ । यहाँको पूरै काम आगामी दसंैभित्र सम्पन्न हुने जनाइएको छ । यस्तै, करिडोरले बेनी–जोमसोम सडक ४ खण्डमा काम भइरहेको जनाएको छ । २०७४ साल जेठमा सम्झौता भएको उक्त सडकको सम्झौता अवधि साढे २ वर्षको छ । यहाँ आउँदो मंसिरमा पहिलो सम्झौता अवधि सकिँदै छ ।
म्याग्दी तातोपानीमा भएको छलफलमा तामाङ गौरी पार्वती, कोसी एन्ड न्यौपाने जेभीले निर्माणको जिम्मा लिएको उपल्लो मुस्ताङको चराङदेखि छोसेर सम्मको २५ किलोमिटर सडकमा रोकिएको कामलाई पुनः सञ्चालन गर्ने प्रतिबद्धता गरेको आयोजनाले जनाएको छ । राष्ट्रिय गौरवको आयोजना कलिगण्डकी करिडोर सडकमा कुल १ हजार मजदुर कार्यरत छन् भने करिव ७० वटाभन्दा बढी सडक खन्ने मेसिन प्रयोगमा भएको आयोजनाको भनाइ छ ।