अशोकको ‘रातो टीका निधारमा’

अशोकको ‘रातो टीका निधारमा’

बिर्तामोड : ‘बाबु नआत्तिनु है, फेसमा स्माइल ल्याएर बोल्नू’, चलचित्र निर्देशक अशोक शर्मा ‘रातो टीका निधारमा’ चलचित्रको टेक लिँदै भन्दै थिए। चलचित्र सुटिङका क्रममा कलाकार टिमसहित शर्मा झापामा छन्। शर्माको झापामै सुटिङ हुन लागेको यो दोस्रो चलचित्र हो।

‘झापा मेरो घर पनि हो’, शर्मा भन्छन्, ‘पछिल्लो समय प्रायः पोखरा, बुटवल, चितवन जस्ता ठाउँमा गाउँ नै हराइसके, सबै सहरीकरण भइसक्यो। गाउँ र गाउँले परिवेशमा आधारित फिल्म भएकाले पनि झापा आइपुगेँ।’

झापासँग अहिलेको जिन्दगी पनि सँगै जोडिएको छ। शर्माको कलाकारितामा प्रवेश पनि झापाको भद्रपुर हाइस्कुलको वार्षिकोत्सवमा खेलेको नाटकबाट भएको हो। २०३४ सालमा उक्त नाटक खेलिनसक्दै नाटक हेर्न बसेका सबै दर्शकले दिएको तालीको गडगडाहट नै कलाकारिता क्षेत्रमा लाग्ने एउटा मुख्य प्रेरणास्रोत भएको शर्मा बताउँछन्। ‘त्यति बेला नाटकमा खेल्न जोकोहीले पाउँदैनथे, नाटकमा खेल्नेको सानै अर्कै हुन्थ्यो’, उनी भन्छन्।

२०३४ सालदेखि आजसम्म आइपुग्दा डेढ सयजति फिल्म, पाँच सय टेलीशृंखला र दुई सयवटा नाटक खेल्न भ्याएको शर्मा सुनाउँछन्। शर्माको होम प्रोडक्सनबाट भने अहिलेसम्म १० वटा फिल्म निर्माण भइसकेका छन्। ‘आजभन्दा २० वर्षअघि र अहिलेको तुलना गर्दा परिवर्तन भएको प्रविधि मात्र हो’, उनको बुझाइ छ, ‘कथा त २० वर्षअघिका पनि सामाजिक परिवेशभित्रकै थिए, अहिले पनि तिनै हुन्। प्रविधिका कारण दर्शकलाई नयाँ स्वाद पस्किन पाइएको छ।’

शर्मा भन्छन्, ‘अहिले फिल्म बन्ने क्रम अत्यधिक छ तर गुणस्तर कम छ। फिल्म हेर्ने भनेको एकछिन भए पनि दैनिक तनावबाट मुक्त भएर परिवार, साथीभाइसँगै बसेर हेर्ने हो। तर अहिले बग्रेल्ती बनेका फिल्म यस्ता छन्, जुुन परिवारसँग जाँदा आँखा बन्द गर्नुपर्ने अवस्था छ।’

निर्देशक शर्माका छोराछोरी दुवै फिल्मी क्षेत्रमा प्रवेश गर्दै छन्। छोरा अंकितलाई बन्दै गरेको फिल्म ‘रातो टीका निधारमा’बाट डेब्यु गराउँदै छन् भने छोरी अंकिता बुवाको निर्देशकमा सहायक निर्देशकको भूमिकामा छिन्। छोराछोरीको सानैदेखि फिल्म लाइनमा रुचि भएकाले उनीहरूले फिल्म एक्टिङ, निर्माण र निर्देशन विषयमा स्नातकोत्तर सकेर फिल्म लाइनमा प्रवेश गरेको शर्मा बताउँछन्।

फिल्म खेल्न अरूबाट पनि प्रस्ताव आएको थियो तर सुरुमा आफ्नै प्रोडक्सन हाउस सेफ हुने भएकाले आफ्नैबाट सुरु गरेको नायक अंकित भन्छन्। रातो टीका निधारमा एउटा सामाजिक संवेदनशीलतासँग जोडिएको विषयवस्तु हो। यसभित्र हाँसो, खुसी, रोदन सबै मिसिएको बताउने निर्देशक शर्माले आफ्नो हिट फिल्म अल्लारेको चर्चित गीत रातो टीका निधारमालाई रिमिक्स गरेर अहिलेको फिल्ममा पनि उक्त गीत पस्किँदै छन्। शर्मा भन्छन्, ‘दर्शकलाई अशोक शर्माले दिने फ्लेबरको बारेमा राम्रो जानकारी छ। त्यसैले पनि फिल्म राम्रो चल्नेमा म ढुक्क छु।’

शर्माले बनाउँदै गरेको फिल्म रातो टीका निधारमामा अंकित शर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, बसुन्धरा भुसाल, अर्जुन श्रेष्ठ, राजाराम पौडेल, बुद्धि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, रवीन्द्र झा, खुश्बु खड्कालगायतको मुख्य भूमिका छ।

झापाको शनिश्चरे, अर्जुनधारा, सुरुंगा, हल्दीबारीका केही भागमा र बराह क्षेत्रको चतरामा गरेर ८० प्रतिशत फिल्मको सुटिङ हुनेछ। बाँकी २० प्रतिशत मात्र काठमाडौंमा सुटिङ गरिने शर्माले बताए। करिब दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेका शर्मा दसैंमा फिल्म रिलिज गर्ने योजना बनाएर अघि बढेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.