‘सांसदलाई ६ करोड आवश्यक छैन ’
स्याङ्जा : नेपाली कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले सांसदलाई ६ करोड रुपैयाँ आवश्यक नभएको बताएका छन्। कार्यकर्ताका लागि वितरणमुखी बजेट ल्याएको सरकारले दीर्घकालिन विकास र समृद्धिको योजना ल्याउन नसकेको भन्दै उनले सांसदलाई दिएको बजेटको विरोध गरेका हुन्।
एक महिने जागरण अभियानलाई वालिङमा समापन गर्दै नेता श्रेष्ठले कार्यकर्ता पोस्नका लागि सरकारले ६÷६ करोड रकम सांसदलाई उपलब्ध गराएको दाबी गर्दै भने, ‘यो अनावश्यक कुरा हो।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारले विकास र समृद्धि दिन नसकेपछि कार्यकर्ता केन्द्रित बजेट ल्याएको आरोप लगाए। ‘विकास र समृद्धि दिन नसकेपछि सरकारले कार्यकर्ता केन्द्रित बजेट ल्याएको छ’, उनले भने, ‘विकास र समृद्धि दिनेभनेको कांग्रेसले मात्र हो।’
कार्यक्रममा केन्द्रीय सदस्य गोविन्दप्रसाद भट्टराई, संविधानसभाका सदस्य मोहनप्रसाद पाण्डे, राजु थापा, पूर्वसांसद एवं जागरण अभियान वालिङका संयोजक खगेन्द्रराज रेग्मी, कार्यवाहक सभापति कुमार राना, वालिङ नगर सभापति दिलिपप्रताप खांण, नेपाल महिला संघ नगर सभापति मैँयादेवी लम्साललगायतले जागरण अभियानले नेपाली कांग्रेसभित्रको गुटउपगुटको अन्त्य गरेको विश्वास व्यक्त गरे।
वैशाख २५ देखि जारी ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरणको कार्यक्रम अन्र्तगत स्याङजाका ११ वटै स्थानीय तह र क्षेत्र र विभिन्न भातृसंगठनगरी १७ स्थानमा जागरण कार्यक्रम भएको पार्टी प्रवक्ता इन्द्र गोदारले जानकारी दिए।