सरकार संघीयता र संविधान कार्यान्वयनको विपक्षमा: नेता सिंह
सुर्खेत : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार संविधानविरुद्ध चलिरहेको आरोप लगाए। नेपाली कांग्रेस सुर्खेतले वीरेन्द्रनगरमा आइतबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पार्टीका पूर्व महामन्त्रीसमेत रहेका सिंहले सरकार नै संविधानविरुद्ध चलिरहेको आरोप लगाएका हुन्।
प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नभएको भनि दिएका टिप्पणीका आधारमा नेता सिंहले सरकार संघीयता र संविधान कार्यान्वयनको विपक्षमा रहेको दावी गरे। 'दुई तिहाईको दम्भ देखाउँदै सरकार मनपरी र अधिनायकवाद शैलीमा नीति, नियम बनाउँदैछ, यसले नागरिक स्वतन्त्रतामाथि कुण्ठीत पार्ने काम हुँदैछ,' उनले भने, 'कांग्रेसले नै संविधान जारी गरेको हो, अब त्यसको पालना र रक्षा गर्ने दायित्व पनि कांग्रेसकै हातमा आउँदैछ।'
संविधानमाथि धावा बोल्नेका विरुद्ध सबै नागरिक जाइलाग्न एकजुट हुनुपर्ने उनको भनाई छ।फरक प्रशंगमा उनले सरकारले ल्याएको मिडिया काउन्सिल विद्येयक सच्याएर मात्रै पारित गर्नुपर्ने भन्दै यो विद्येयक जस्ताको त्यस्तै पारित भए जनताको बोल्ने अधिकार खोसिने टिप्पणी गरे।
सरकारले एकपछि अर्को गर्दै विभिन्न विधेयक ल्याएर अधिनायकवाद लाद्न खोजेको उनको आरोप छ। पार्टीभित्रको संस्थागत सुधारका लागि गाउँ जागरण अभियानअन्र्तगत पार्टीको विधि विधानअनुसार एकढिक्का भएर कांग्रेस अघि बढेको उनले बताए।