रोपाइँको रमझम
प्यूठान : जिल्लाका किसान यतिखेर रोपाइँमा व्यस्त छन्। जिल्लाको उर्वरभूमी झिमरुक फाँटमा जेठभरी रोपाइँ चल्छ। मानो रोपेर, मुरी फलाउने समय भएकाले किसान पर्वजस्तै सम्झेर काममा व्यस्त भएका छन्। जिल्लामा खाद्यन्नको ठूलो हिस्सा झिमरुक फाँटले ओगटेको छ। तर, अझै पनि झिमरुक फाँटका किसानले व्यवसायीक खेतीपाती गर्न सकेका छैनन्। स्थानीय सरकारले समेत यसमा चासो देखाएको छैन्।
तराइबाट आयातित तरकारीले प्यूठानको बजार ढाक्ने गर्छ। दिनहुँजसो प्लाष्टिकमा पोका पारेर ल्याइएका तरकारी उपभोग गर्न उपभोक्ता बाध्य छन्। स्थानीय उत्पादनसँग जोड्ने नीति तथा कार्यक्रम लागु गर्न सके किसान पनि उत्पादनसँग जोडिन सक्छन्। बाह्रै महिना सिंचाइको सुविधा भएपछि जिल्लामा समयमै रोपाइँ हुने गरेको किसानको भनाइ छ।
धेरैजसो किसानले झिमरुक फाँट ‘अँधिया’ दिने गरेका छन्। जिल्लाभर ६ हजार ५ सय ५० हेक्टर जमिन क्षेत्रफलमा धानखेती हुने गरेको सरकारी तथ्यांक छ। करिव १५ प्रतिशत किसानले मात्र बर्षातको पानीबाट रोपाइँ गर्छन्। अधिकांशले चैत र जेठभित्रमै रोपाइँ सक्छन्। राधा ७, राधा १३, सावित्री, लोकतन्त्र, रामभान र सुख्खा श्रीस जातको धान जिल्लामा रोपिने गरिन्छ।
उर्वरभूमि झिमरुक लगाएतका फाँट वर्षेनी बाढीले माँसिदै लगेपछि किसान निराश छन्। अव्यवस्थित प्लटिङले समेत फाँट मासिने क्रम वर्षेनी बढ्दो छ। धान उत्पादनको कुल खेतीयोग्य क्षेत्रफलमध्ये करिव ७० प्रतिशत हिस्सा यसै फाँटले ओगटेको छ। ‘पोहोरसाल भन्दा एकसाताअघि रोपाइँ भयो’, प्यूठान नगरपालिका ४ कार्कीकाडाँडाका स्थानीय चन्द्रबहादुर एमसीले भने, ‘व्याड समयमै राखेकाले रोपाइँ पनि चाँडो भयो।’
‘एक वडा, एक उत्पादन’ नीति ल्याइएको प्यूठान नगरपालिका उपप्रमुख शान्ता आचार्यको भनाइ छ। ‘माँसिदै गएको झिमरुक फाँटले हामीलाइ चिन्तित बनाएको छ’, आचार्यले भनिन्, ‘भुउपयोग नीतिलाई कडाइका साथ कार्यान्वयन गर्छौ।’ नक्सापासविना नयाँ घर निर्माण गर्न रोक लगाइएको उनले जानकारी दिइन्। झिमरुक नदीको उद्गमस्थल गौमुखीदेखि विद्युत्त उत्पादन गृह खैरास्थित ड्याम साइडसम्म रापाइँ चलिरहेको छ। ठूलावेसी, ढाँड, मच्छि, तोरवाङ, मरन्ठाना, दम्ती, धर्मावती, बाग्दुला, पूण्यखोला, विजुवार, जुम्रि, रातामाटा, दाखाक्वाडी र खैरालगायत क्षेत्रका फाँटमा किसान व्यस्त देखिन्छन्।