६ प्रतिभालाई सूचक सम्मान
काठमाडौं : विभिन्न क्षेत्रमा योगदान गर्ने ६ प्रतिभालाई १२औं सूचक सम्मान प्रदान गरिएको छ। सूचक प्रकाशनद्वारा प्रकाशित बौद्ध आध्यात्मिक पत्रिका ‘सम्यक सन्देश’ को दोस्रो वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले सम्मान प्रदान गरे।
बुटवलमा बसेर थेरवादी बौद्ध धर्म प्रचार गर्दै आएकी अनागारिका शान्तिवती गुरुमालाई सूचक पद्मादेवी पुरस्कार, प्राणी हिंसाविरोधी राष्ट्रिय अभियन्ता बखतबहादुर चित्रकारलाई सूचक कृष्णबहादुर समाजसेवा पुरस्कार, बौद्ध अभियन्ता श्यामलाल चित्रकारलाई सूचक सम्मान प्रदान गरिएको सूचक प्रकाशनका अध्यक्ष दिपक भेटुवालले जानकारी दिए।
उनका अनुसार वरिष्ठ धातुपत्र कलाकार राजकुमार शाक्यलाई सूचक रतन पुरस्कार, महिला अधिकारकर्मी नम्रता शर्मालाई सूचक लिली प्रतिभा पुरस्कार तथा साहित्यकार तथा पत्रकार भगवती बस्नेतलाई सूचक पत्रकारिता पुरस्कार २०७६ बाट सम्मान प्रदान गरिएको थियो।
भिक्षु मैत्री महास्थविरले भाषा साहित्य र विशेषगरी बुद्ध शिक्षा प्रचारमा सूचक प्रकाशनले महत्वपूर्ण भूमिका खेलेको र यस्ता कार्यलाई अझ सशक्त ढंगबाट अगाडि बढाउन लाग्नुपर्ने धारणा व्यक्त गरे। बुद्धले मानव समाजलाई सकारात्मक बाटोमा हिँडाउन व्यावहारिक शिक्षा प्रतिपादन गरेको धारणा राख्दै उनले बुद्ध जन्मभूमि नेपाललाई हिंसा र आतंकबाट मुक्त गराउन अभियान सञ्चालन गर्न जोड दिए।