लमजुङमा बर्खे धान रोपाइँ सुरु
बेसीसहर : असार नलाग्दै लमजुङमा बर्खे धान रोपाइँ सुरु भएको छ। मनसुन सुरु भएसँगै भलपानी पछ्याउनुका साथै सिँचाइ सुविधा पुगेका ठाउँमा धान रोपाइँ सुरु भएको हो। खोला किनारमा रहेका फाँटमा धान रोपाइँ सुरु भएको छ। खोलाको पानीलाई कुलोमार्फत लगेर धान रोपाइँ गरिएको छ। केही ठाउँमा सिँचाइ सुविधा पुगेको छ। मस्र्याङदी गाउँपालिका-५ घेर्मुका वृषबहादुर गुरुङले सिँचाइ सुविधा भएकाले घेर्मु फाँटमा धमाधम रोपाइँ भइरहेको बताए।
सिँचाइ सुविधा भएकाले आलोपालो गरेर धान रोपाई भइरहेको उनले बताए। घेर्मु फाँटमा तीन चारवटा समूह बनाएर धान रोपाइँ गरिएको छ। किसानले गोरुको साथै पावर टिलर प्रयोग गरेर खेत जोतिरहेका छन्।
क्व्होलासोंथर गाउँपालिका- ६ पसगाउँका बासिन्दा पनि धान रोपाइँ कार्यमा जुटेका छन्। उनीहरूले बेसीखेत बगैंचामा धान रोपाइँ थालेको स्थानीय राजु गुरुङले बताए। 'खोलाबाट कुलोमा पानी राखेर धान रोपाइँ थालेका छौं,' गुरुङले भने, 'बेसी खेतमा रोपेर सकेपछि गाउँका खेतमा रोप्न सुरु हुन्छ।' क्व्होलासोंथर गाउँपालिका- ४ भुजुङका किसानले पनि घिम्चे खेतमा धान रोप्ने तयारीमा रहेको स्थानीय राकेश गुरुङले बताए।
मस्र्याङ्दी गाउँपालिकाको भलामखोला, खुदीखोला र ङादीखोलाको आसपासमा धान रोपाइँ सुरु गरिएको छ। यस्तै, दोर्दी गाउँपालिकाको नौथर सेरा, चिती, ढोडेनी, फलेनीलगायतका गाउँमा पनि धान रोप्न सुरु गरिएको किसानले बताएका छन्।
मकै खेति नगरिएको र कुलो लाग्ने स्थानमा किसानले धान रोप्न थालेका हुन्। मकै खेति गरिएको स्थानमा भने असार १५ पछि मात्र धान रोपाइ सुरु हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। सिँचाइ सुविधा नपुगेको ठाउँमा अझैपनि किसानमा भलपानी पछ्याउनुपर्ने बाध्यता छ। अघिल्ला वर्षमा लगातार धान उत्पादन घटेकोमा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो। मौसमले साथ दिए आउँदो वर्ष पनि धान उत्पादन बढ्ने कृषि कृषि प्राविधिकले अनुमान गरेका छन्।
कृषि कार्यालयका अनुसार जिल्लाका ४५ हजार ५० हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये १५ हजार हेक्टर बढी क्षेत्रफलमा धान खेति हुँदै आएको छ। यहाँका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्र लगायतको उन्नत जातका धान साथै लोकनाथ, गोरखनाथ, यूएस ३ सय १२, मकवानपुर, बर्षे ३००४, मनसुली लगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन्।